प्रमुख समाचार

कांग्रेसको कार्यसम्पादन समितिमा पनि सुनिल थापाभन्दा शेखर कोइराला पछाडि

इकागज |
माघ १४, २०७८ शुक्रबार १६:२८ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा पनि वरीयताक्रममा डा.प्रकाशशरण महत र सुनिलबहादुर थापाभन्दा पछाडि राखिएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा पनि कोइरालालाई थापाभन्दा  पछाडि राखेका छन् । 

कोइराला मंसिरको अन्तिम हप्ता सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित उम्मेदवार हुन् । सभापति देउवाले यसअघि सभापतिमा पराजित व्यक्ति सभापतिपछि दोस्रो वरीयतामा राख्ने गरिए पनि कोइरालालाई पछाडि राखेका हुन् । यही विषयलाई लिएर कांग्रेसभित्र देउवा समूह र कोइराला समूहबीच टकराब पनि छ । देउवाले महामन्त्री पदमा चुनाव लडेर पराजित भएका डा.प्रकाशशरण महतलाई भने कोइरालाभन्दा अगाडि राखेका छन् ।   केन्द्रीय समितिमा शेखर २०औं नम्बरमा छन् भने सुनिल थापा १९ औं नम्बरमा छन् ।


देउवाले प्रस्ताव गरेको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारीपछि रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, सुनिलबहादुर थापा अनि मात्रै डा.शेखर कोइरालाको नाम छ । सभापति देउवाले आज ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमध्ये ३७ जनाको समिति गठन गरेका हुन् । आज कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल रुपमा बसेको थियो । त्यस्तै समितिमा बलबादुर केसी, बालकृष्ण खाण, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना समेटिएका छन् ।   

आफ्नो वरीयता पछाडि भएको बारे कुनै टिप्पणी नरहेको कोइराला बताउँछन् । सभापतिमा पराजित भएका व्यक्तिको वरीयता त पछाडि राखिएको छ नि भन्ने प्रश्नमा कोइरालाले इकागजसँग भने, 'यसबारे मेरो कुनै टिप्पणी र प्रतिक्रिया छैन ।' कोइरालाभन्दा अगाडि रहेका थापा भने राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका नेता हुन् । उनलाई पार्टी प्रवेश गराउँदै देउवाले यसअघि सहमहामन्त्री बनाएका थिए । कांग्रेस प्रवेश गरेर पहिलो पटक महाधिवेशनमा सहभागी भएका हालै केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।


Author

थप समाचार
x