प्रमुख समाचार

मुस्ताङी च्याङ्ग्राको भक्तपुर यात्रा (फोटोफिचर)

सुनीता साखकर्मी |
कात्तिक ४, २०७७ मंगलबार ६:४७ बजे

भक्तपुरमा दशैँको लागि मुस्ताङको च्याङ्ग्रा । तस्बिर : सरोज बैजु

भक्तपुर : सिन्धुपाल्चोकका ४९ वर्षीय पासाङ तामाङ सोमबार भक्तपुरको सल्लाघारीमा भेटिए । सल्लाघारीको खुल्ला मैदानमा उनी च्याङ्ग्राको बथान चराइरहेका थिए । ग्राहकको रोजाइअनुसार च्याङ्ग्रा समात्दै थिए । दशैं नजिकिएसँगै हरेक वर्ष भक्तपुरको सल्लाघारीमा खसी, बोका च्याङ्ग्रा किन्ने र बेच्नेहरुको भीड लाग्ने गर्छ । तर यसपालि त्यति भीड छैन । कोभिड होला कि भन्ने डर पनि छ पासाङलाई । ‘तै पनि व्यापार त गर्नु परिहाल्यो’ भन्छन् उनी ।

अरु बेला गाउँमै खेती किसानी गर्ने पासाङ १५ वर्षदेखि दशैं आयो कि च्याङ्ग्रा लिन मुस्ताङतिर पुग्छन् । च्याङ्ग्रा लिन जाँदा पनि उनीहरुले ठाउँठाउँमा कोभिड चेकअप गराउनुपर्‍यो । कोभिड लाग्न नदिन उनीहरुले पनि सुरक्षाका उपायहरु अपनाए ।


मुस्ताङका व्यापारीसँग उनीहरुको सम्पर्क थियो । यसवर्ष १५ असोज उनीसहित तीन जनाको टोली जोमसोम पुगे । त्यहाँबाट पनि उकालो लागेर १६ असोजमा साङ्ता भन्ने गाउँमा पुगे । एक हप्तामा डोल्पाबाट ल्याइएका च्याङ्ग्रा संकलन गरी उनीहरु फेरी जोमसोम फर्किए । बेनीसम्म उनीहरुले च्याङ्ग्रा धपाएरै ल्याए । बेनीबाट भक्तपुर ल्याएका हुन् । १ कात्तिकमा उनीहरुले च्याङ्ग्रा भक्तपुर ल्याइपु¥याएका हुन् । 
च्याङ्ग्रा ल्याउँदा पनि उत्तिकै जोखिम हुने पासाङ बताउँछन् । उनी भन्छन्, ‘बाटोमा ल्याउँदै गर्दा एउटा च्याङ्ग्रा खोलामा हाम फाल्यो भने, सबै एकैचोटी हामफाल्छन् । कहिलेकाहिँ पहिरोले पुरिदिन्छ । लगानी नै उठ्दैन । त्यसैले एकदमै जोगाउनुपर्छ ।'

वर्षको एकपटक आउने दशैंमा मानिसहरु च्याङ्ग्रा किन्न चाहन्छन् । तर पोहोरको जस्तो यसपालि उनको व्यापार भइरहेको छैन । ‘पोहोर यही बेलामा च्याङ्ग्रा किन्नेहरुको हानाथाप भइरहेको हुन्थ्यो । व्यापारीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो,’ पासाङ भन्छन्, ‘कोभिड र लकडाउनको कारणले होला, पोहोरको जस्तो यसपालि व्यापार भएको छैन ।’

पोहोर उनीहरुले सातदेखि आठ सयको संख्यामा च्याङ्ग्रा भक्तपुर ल्याइपुर्‍याएका थिए । तर यसपालि उनीहरुले चार सयको संख्यामा मात्रै च्याङ्ग्रा ल्याएका छन् । अहिले उनीहरुसँग २५ किलोदेखि ४५ किलो सम्मको च्याङ्ग्राहरु छन् । सोमबारसम्म उनीहरुले ३२ वटा च्याङ्ग्रा बेचिसकेका छन् ।

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x