प्रमुख समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद सुरक्षित, एमाले माधव पक्षको समर्थन

नवराज पनेरु |
जेठ २५, २०७८ मंगलबार ८:१३ बजे

फाइल फोटो

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेशको ठूलो दल नेकपा एमालेको माधव नेपाल समूहले साथ दिने भएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टले विश्वासको मत पाउने लगभग पक्का छ । 

सत्तापक्षसमेत रहेको प्रदेशको सबैभन्दा ठूलो दल एमाले विभाजित भएको अवस्थामा पनि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने सम्भावना भने बलियो भएको हो । 


ओली पक्षको प्रदेश कमिटीले एमालेका तर्फबाट भएका मन्त्री र प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको विपक्षमा मत दिन निर्देशन दिएको छ । तर माधव पक्षको बहुमत रहेको एमाले संसदीय दलले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने जनाएको छ । 

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई वर्तमान सरकार टिकाउन कम्तीमा २७ जना प्रदेश सासंदले समर्थन दिनुपर्ने हुन्छ । एमालेका २५ मध्ये ओली पक्षमा ६ जना मात्रै स्पष्ट खुलेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा विकले संसदीय दलले १३ जेठमा गरेको निर्णयअनुसार विश्वासको मत दिने बताइन् । १३ जेठमा वर्तमान सरकारलाई नै समर्थन यथावत राख्‍ने संसदीय दलले निर्णय गरेको थियो । 

प्रदेशसभामा एमालेबाहेक माओवादी केन्द्रका १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्र र एमालेको माधव समूहले मात्रै मुख्यमन्त्रीको पक्षमा मत दिने भट्ट नेतृत्वको सरकार जोगिनेछ ।

प्रदेशसभामा नेपाली काँग्रेसका १२ जना सासंद छन् । प्रदेशमा प्रमुख प्रतिपक्ष दल रहेको काँग्रेसले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने सम्भावना छ । काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विश्वासको मत दिने वा नदिने कुनै निर्णय नभएको बताए । ‘अहिले बिहान संसदीय दलको बैठक बस्दैछ । त्यसपछि मात्रै विश्वासको मत दिने वा नदिने विषयमा टुंगो लाग्नेछ,’ उनले भने ।
 


Author

थप समाचार
x