प्रमुख समाचार

कोभिड-१९ विरूद्ध लड्न तिब्बतको सहयोग

अजय अलौकिक |
जेठ ७, २०७८ शुक्रबार ६:३९ बजे

बेइजिङः चीनको तिब्बत स्वायत्त प्रदेशले बिहिबार कोभिड-१९ महामारीविरूद्ध लड्न नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । तिब्बत सरकारले ४० किलोग्राम क्षमताका ६ हजार सिलिण्डरहरू भर्नपुग्ने ३० मेट्रिक टन लिक्विड अक्सिजन प्रदान गरेको हो । उक्त सामग्री शनिबार बिहानसम्म तातोपानी पुग्ने महावाणिज्यदूत नवराज ढकालले बताएका छन् ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा तिब्बत स्वायत्त प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष च्याङ च्येले नेपाली महावाणिज्यदूत ढकाललाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा कार्यकारी उपाध्यक्ष च्याङ च्येले नेपालले भोगिरहेको यो विषम परिस्थितिमा तिब्बत सरकारको सहयोग र साथ रहने बताए । साथै उनले नेपाल जाने स्वास्थ्य सामग्री बोकेका गाडीलाई बिना रोकटोक पठाउन निर्देशन समेत दिए । 


यसबाहेक तिब्बत सरकारबाट ८०० वटा भरेको सिलिण्डर, २०० वटा आइसियू बेड, ५ वटा भेन्टिलेटर र १० वटा कन्सनट्रेटर लगायतका अरू अत्यावश्यक सामग्रीहरू पनि केही दिनभित्रै उपलब्ध हुने पनि महावाणिज्यदूत ढकालले जानकारी गराए ।

यसै गरी, आजै शान्सी प्रान्तीय शान्सी फङस्याङ चिनफङ कमर्सियल कंक्रिट कम्पनी लिमिटेडले ३० वटा कन्सनट्रेटर सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासको पहलमा उक्त कम्पनीले सहयोग गरेको हो भने पल्लो शान्सीबाट विमानमा ल्याइएका यी कन्सन्ट्रेटरलाई स्थलमार्ग हुँदै नेपालसम्मको ढुवानी व्यवस्थापन सिल्क ट्रान्सपोर्टले निःशुल्क सहयोग गरेको छ । 

साथै तिब्बत सरकारले हाल स्वास्थ्य सामग्रीहरू ढुवानीमा ज्यादै सहयोग गरेको र छिटोभन्दा छिटो पठाउने प्रक्रियामा लागेको पनि ढकालले बताए । ‘सामान्यतया, एउटा परमिट लिन चार पाँच दिन लाग्छ तर आजै प्राप्त यी ३० कन्सनट्रेटर पठाउनका लागि पेश गरेको अनुरोधलाई तिब्बत सरकारले तुरून्तै सहयोग गरेको छ ।’ उनले इकागजलाई भने, ‘हेर्नुस, अहिले रातीको नौ बजिसकेको छ, म यसैको ढुवानीको प्रक्रियामा लागि रहेको छु । यी ३० कन्सनट्रेटरको गाडी शुक्रबार सबेरै नेपालको लागि हिँड्ने छ ।’ 

यसबाहेक, महावाणिज्य दूतावासको सहजीकरणमा निजी कम्पनीका स्वास्थ्य सामग्री तथा ४५०० सिलिण्डर बोकेका २२ वटा ट्रकहरू पनि नेपालका लागि गुडिसकेका छन् । महावाणिज्यदूत ढकालले तिब्बती सरकार तथा संघसंस्थाहरूसमक्ष सहयोगका लागि अपिल जारी रहेको बताए । यसै बीच गुडविल फाउण्डेसन नाम संस्थाले ५० वटा कन्सनट्रेटर दिने प्रतिबद्धता गरिसकेको र अरू सहयोगीबाट सामग्रीहरू सङ्कलन हुने बित्तिकै छिटोभन्दा छिटो नेपाल पठाउने व्यवस्था गर्ने पनि बताए ।


 


Author

थप समाचार
x