प्रमुख समाचार

गाउँ जानेले कसरी लगाउने ‘भेरोसेल’ को दोस्रो डोज खोप ?

सृजना खड्का |
बैशाख ३०, २०७८ बिहीबार २०:६ बजे

काठमाडौँ : झापा, दमककी शिक्षा कार्कीले बैशाख ८ गते ‘भेरोसेल’ को पहिलो डोज खोप लगाएकी थिइन् । महाराजगञ्‍ज नर्सिङ क्याम्पसमा मास्टर्स गरिरहेकी उनी निषेधाज्ञाले कलेज बन्द भएपछि घर गइन् । उनी बस्‍ने होस्टेल अहिले बन्द छ ।

हालै उनले जेठ २ गतेदेखि भेरोसेलको दोस्रो डोजको खोप लगाउने तयारी भइरहेको सूचना पाइन् । अहिले उनी खोप लगाउन काठमाडौँ आउने/नआउने दोधारमा छिन् । ‘होस्टल बन्द छ, त्यसमाथि निषेधाज्ञाले काठमाडौँ जाने उपाय पनि छैन’ उनले दुखेसो पोखिन्, ‘खोपलाई लिएर अहिले म जस्ता धेरैजना अन्यौलमा छन् । यो विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’


यस्तो विषयमा प्रदेश सरकारले चासो नदेखाएकोमा उनको गुनासो छ । ‘यस्तै अप्ठ्यारो नपरोस् भनेर प्रदेश सरकार बनेको होइन ?,’ उनले प्रश्‍न गरिन्, ‘एउटा खोप लगाउन पनि केन्द्रमा थाउनुपर्‍यो भने संघियता आएको के काम ? प्रदेश र स्थानीय सरकार बनेको के काम ?’ 

प्रदेश सरकारले खोपको व्यवस्था गरे जसरी पनि खोप लगाउन जाने उनको सोच छ । ‘खोपको व्यवस्था कम्तीमा प्रदेशसम्म आइपुग्यो भने जसरी पनि जान्छु,’ उनले भनिन्, ‘काठमाडौँ त गए पनि फेरि फर्किने कसरी ? 

दोलखा, चरिकोटका शेखर बराललको गुनासो पनि उही छ । निषेधाज्ञाले होटल बन्द भएपछि उनी गाउँ पसे । चैत्र ३१ पहिलो डोज खोप लगाएको कार्ड कोठामै छ । सरकारको दोस्रो डोज खोप लगाउने सूचना आएपछि उनी पनि चिन्तित छन् । ‘काठमाडौँमा धेरै कोरोना बढेको सुनिन्छ,’ उनले भने, ‘खोप लगाउने चक्करमा फेरि कोरोना बोकेर आइएला । त्यसैले अब गइन्‍न ।’ कोभिडले नछोओस् भनेर अहिले उनी गाउँघरमा पाइने जडिबुटी पानीमा पकाएर खाने गरेका छन् । ‘अहिलेलाई हाम्रो भ्याक्सिन त्यही हो,’ उनले भने । 

‘पहिला लगाएकै जिल्लामा मात्र लगाइन्छ’ 

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार पहिलो डोज जुन-जुन जिल्लामा लगाइयो दोस्रो पनि तिनै जिल्लामा मात्र लगाइन्छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर, ललिपतुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी सात जिल्लामा खोप लगाइएको थियो । 

‘योबाहेक प्रदेश र स्थानीय सरकारलाई खोप दिइएको छैन,’ उनले भने, ‘त्यसैले खोप पहिला लगाएकै जिल्लामा लगाइन्छ । त्यहाँमध्ये आफूलाई पायक परेको खोप केन्द्रमा गएर लगाउन सकिन्छ ।’ 

डा. गौतमलाई फोन गरेर धेरैले यही जिज्ञासा राखिरहेका छन् । ‘उनीहरूलाई पनि हामीले यही आउनुपर्छ भनिरहेका छौँ,’ उनले भने, ‘बरु जेठ २ गते नै पालो परेकालाई १० गतेसम्म लगाउन सकिन्छ । तर, अवस्था अप्ठ्यारो भएकाले उनीहरू पुगेकै ठाउँसम्म भने खोप पुग्दैन ।’

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले पनि यस विषयमा आफूहरूले जिम्मा लिन नसक्ने बताए । ‘त्यसको जिम्मा हामीले लिन सक्दैर्नौँ,’ उनले भने, ‘यो विषयलाई लिएर पछि केही सूचना आउला । अहिलेलाई तोकेकै खोप केन्द्रमा आएर खोप लगाउनुपर्छ ।’

‘उपत्यका बाहिर जानेको खोप सुरक्षित राखिदिनुपर्छ’

खोप विज्ञ डा.श्यामराज उप्रेतीले उपत्यकामा पहिलो डोज खोप लगाएर बाहिर जाने समस्यामा परेको बताए । ‘सूचनाअनुसार उनीहरूले दोस्रो डोज खोप उपत्यकामै आएर लगाउनुपर्ने देखिएको छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरूलाई उनीहरूको भ्याक्सिन सुरक्षित तरिकाले स्टोर गरेर राखिदिनुपर्छ । पछि फर्किएर उनीहरूले आफ्नो भ्याक्सिन लगाउन पाउनुपर्छ ।’

यो भ्याक्सिनको म्याद दुई वर्ष लामो भएकाले स्टोर गरेर राख्‍ने सकिने उनले बताए । त्यस्तै, लामो समय दोस्रो डोज खोप नलगाउँदा त्यससको प्रभावकारिता घट्ने समेत उनले बताए । ‘भेरोसेले पहिलो मात्रा लगाएको २१ देखि २८ दिनसम्म लगाउनू भनेर उत्पादक कम्पनीले भनेको छ,’ उनले भने, ‘त्यस्तै, एउटा खोप लगाएकाले अर्को खोप लगाउनु हुँदैन भन्‍ने विश्‍वव्यापी मान्यता पनि छ । त्यसैले यो विषयलाई गम्भिरतापूर्वक लिनुपर्छ ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x