प्रमुख समाचार

आउला त रुस र चीनबाट खोप !

खोप ल्याउन किन ढिलाई गर्दैछ सरकार ?

भारतमा कोभिड-१९ महामारी फैलिएपछि नेपालले खरिद गरेको खोप आउन थप ढिलाई

चन्द्रशेखर अधिकारी |
बैशाख १६, २०७८ बिहीबार १९:४४ बजे

काठमाडौ : कोभिड-१९ विरुद्ध लडाईमा भारत पूरै होमिनु परेपछि उसले प्रतिबद्धता जाहेर गरेको र भुक्तानीसमेत लिएको खोप उपलब्ध गराउन सकेको छैन । कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भारतले ढिलाई गर्ने भएपछि नेपाल सरकारले अर्को छिमेकी चीन र रसियाबाट खोप भित्र्याउने तयारी थालेको छ ।

खोपका लागि भुक्तानी लिएको भारतले आफ्नै कारण पटक-पटक मिति सारेपछि थप खोप अन्य राष्ट्रबाट ल्याउन नेपाल बाध्य भएको परराष्ट्र अधिकारीले बताए । भारतले आफ्नोमा संक्रमण फैलनुअघि आफ्ना नागरिकलाई खोप लगाउन पहिलो प्राथमिकता दिन परेको भन्दै खोप निर्यातमा अघोषित प्रतिबन्ध लगाएको थियो । खोप लगाउन ढिलाई हुँदा यतिखेर भारतमा नै संक्रमणको डरलाग्दो अवस्था छ ।


नेपालले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख खोपको रकम भुक्तानी गरिसकेको छ । त्यसमध्ये उसले १० लाख खोप उपलब्ध गराइसकेको छ । र, १० लाख डोज खोप उपलब्ध गराउन बाँकी छ । त्यसअघि दश लाख खोप अनुदानमा दिएको थियो । ल्याउन बाँकी भएको खोप नेपालले उपलब्ध गराउन लगातार प्रयास गरेपनि भारतले त्यसमा नसुनेको र अहिले भारतको अवस्था नै नाजुक भएकाले त्यहाँ पहल गर्न पनि गाह्रो भएको परराष्ट्र अधिकारीले जानकारी दिए ।

भारतबाट आउन बाँकी खोप १७ बैशाखसम्म आइपुग्‍नेपर्ने थियो । तर, भारत खोप उपलब्ध गराउन सक्ने अवस्थामा नै छैन । ‘भारत आफैँ कोभिड-१९ विरुद्ध लडिरहेको छ र अवस्था निकै नाजुक छ । कसरी खोप माग्‍ने यो समयमा ?,’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टेलिफोनमा इकागजसँग भने, ‘खोप उपलब्ध गराउने विषयमा भारतको सकारात्मक भाव छ । भारतमा समस्या कम हुने र विदेशमा खोप उपलब्ध गराउन थाले लगत्तै नेपालले बाँकी खोप पाउनेछ ।’

भारतबाट थप ५० लाख डोज खोप खरिदको तयारी पनि नेपालले गरेको थियो । कूटनीतिक माध्यमबाट पटक-पटक भारतसँग छलफल भए पनि त्यो ठोस निर्णयमा पुग्‍न नपाउँदै भारतमा संक्रमण ह्वात्तै बढ्यो । राजदूत आचार्य भन्छ्न, ‘अब, हाम्रो साथ र समर्थन भारतलाई यस महामारीबाट बाहिर ल्याउन हुनेछ ।’ भारतमा अलिकति संक्रमण कम हुने वित्तिकै सेरमसँग थप काभिसिल्ड खरिदको विषयमा छलफल हुने उनले बताए ।

रसिया र चीनबाट खोप ल्याउने तयारी

मुलुकमा खोपको हाहाकार हुने अवस्था आएपछि सरकारले अर्को पुरानो मित्र मुलुक रूसबाट कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी गरेको छ । रसिया (रुस) मा उत्पादन भएको स्पुतनिक-भी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएसँगै त्यो प्रक्रिया अघि बढेको स्पष्ट छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपका लागि रसियासँग विभिन्‍न चरणमा संवाद भइरहेको बताए । उनले बुधबार पनि रसियाको एक टोलीसँग खोपको बारेमा छलफल गरेका थिए । उनले छलफलमा रसियाबाट जीटुजीमार्फत खोप ल्याउने तयारी गरेका हुन् ।

रसियाले खोप उताबाट ल्याउने र केही स्पुतनिक-भी खोप यही कुनै औषधी कम्पनीसँग मिलेर उत्पादन गर्न सकिन्छ कि भनेर त्यसमा समेत छलफल गरिरहेको छ । उताबाट ल्याउने यहाँ उत्पादन गर्ने भन्‍ने विषय अझै टुंगो लागि सकेको छैन । तर, खोप रसियाबाट ल्याउने विषयमा भने सरकार पुगिसकेको छ ।  

उनले विचौलियाको कारण खोप ल्याउन समस्या भएको बताउँदै आएका छन् । प्रधानमन्त्री निकटका केही बिचौलियाहरूको सञ्‍जालले खोपमा समेत अधिक कमिसन खोजेर समस्या श्रृजना गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सुनाए । विश्‍व बजारमा आफ्नो खोपको मार्केटिङ गरिरहेको रसियनहरूले आरम्भदेखि नेपालमा पनि खोप उपलब्ध गराउन पहल गर्दै आएको थियो ।

‘भारत आफैँ कोभिड-१९ विरुद्ध लडिरहेको छ र अवस्था निकै नाजुक छ । कसरी खोप माग्‍ने यो समयमा ?,’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य

भारतसँग जस्तै रसियाबाट पनि ढिलाई हुने अवस्था आए नेपालले अर्को विकल्पको रूपमा चीनलाई राखेको छ । चीनबाट पनि खोप ल्याउन सकिने गरि प्रक्रिया अघि बढाएको छ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप नेपालीहरूले लगाइरहेका छन् । छिमेकी चीनले पनि नेपालमा खोप उपलब्ध गराउन पहल गरिरहेको देखिन्छ ।

हुन पनि चीनबाट ल्याएको खोप पहिलो चरणमा लगाएकाले दोस्रो चरणमा पनि उसैसँग खरिद गर्नपर्ने हुन्छ । पछिल्लो समय चीनले स्वास्थ्य क्षेत्रमा आफ्नो उपस्थिति जनाउन निकै पहल गरिरहेको पनि छ । चिनियाँ विदेश मन्त्री वाङ यि स्वयं यस क्षेत्रलाई खोप विक्रिको लागि लागेको उनले पटक-पटक गर्ने भर्चुअल छलफलले प्रष्ट पारेको छ ।

उनले पछिल्लो पटक यस क्षेत्रका परराष्ट्रमन्त्रीसँग छलफल गर्दै अनुदान र व्यापारिक दुबै हिसाबले खोप उपलब्ध गराउन तयार रहेको बताइरहेका छन् । नेपालले अहिलेसम्म भारतसँग अनुदानमा १० लाख र खरिदमा १० लाख कोभिसिल्ड, चीनसँग अनुदानमा आठ लाख भेरोसिल, विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स मार्फत साढे तीन लाख खोप अनुदानमा ल्याएको छ । त्यसबाहेक भारतसँग १० लाख खरिद गरेको तर उसले उपलब्ध गराउन बाँकी छ ।

अमेरिका र बेलायतबाट पनि आउला त खोप !

नेपालले बेलायतसँग पनि अनुदानमा खोप पाउने अवस्था छ । अमेरिकाले पनि खोपको आवश्यकता भएका मुलुकलाई तत्काल खोप दिने बताउँदै आएको छ । त्यसको प्रक्रिया पुर्‍याएर विभिन्‍न मुलुकमा पुर्‍याउन अमेरिका लागि रहेको छ । अमेरिका र बेलायतसँग खोप लिन पनि नेपालले पहल गर्न सकेमा राम्रो हुनेछ । त्यसबाहेक नेपालले कोभ्याक्सबाट आउने खोपलाई पनि जोड दिन आवश्यक छ । हुनत न्यूयोर्कमा रहेको नेपाली स्थायी नियोगले राष्ट्रसंघमा खोपलाई समान वितरणको लागि लविङ गर्दै सबैको पहुँच पुग्‍न आवश्यक भन्दै आएको छ ।

कोभ्याक्स कार्यक्रमबाट पनि खोप आउने निश्‍चित प्रायः छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट खोप ल्याउने प्रक्रियाबारे छलफल भइरहको बताएका छन् । नेपालमा खोप लगाउने प्रक्रिया छिटो सुरु भएपनि यसले जुन तिव्रताको साथ खोप लगाएर सक्नुपर्ने थियो त्यो अनुरुप खोप ल्याउन नसक्दा समस्या भएको छ । यसको बाधक बिचौलिया भनिए पनि सरकारले यसमा ध्यान दिँन नभ्याएको झै देखिएको छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x