प्रमुख समाचार

गण्डकीको विशेष अधिवेशन : भनाभनमै बित्यो पहिलो दिन

अनिष भट्टराई |
बैशाख १३, २०७८ सोमबार २०:२ बजे

पोखरा : गण्डकी प्रदेश सभाको सोमबारबाट सुरु भएको विशेष अधिवेशनको पहिलो दिन सत्तारुढ दल नेकपा एमाले र विपक्षी मोर्चाबीच बाझाबाझ भएको छ । बैठकमा माओवादीका सांसदले मन नमिल्दा सत्ता सहयात्रा छाड्नुपरेको बताए भने एमाले सांसदहरुले माओवादीलाई उग्रपन्थी भन्‍न भ्याए । 

बैठकको सुरुमा कांग्रेस दलका नेता, प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार असंवैधानिक भएपछि अविश्वास प्र्रस्ताव ल्याएको बताए । प्रस्ताव पेस गर्दै पोखरेलले गुरुङ सरकार अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बताए ।


‘उहाँले नेतृत्व गरेको दल विभाजित भइसक्यो, विश्वासको मत लिनुपर्थ्यो लिनुभएन, अहिलेको सरकार असंवैधानिक भइसकेको छ,’ उनले भने । गुरुङ सरकार अल्पमतमा परेपछि पनि कुर्चीमै बसिरहनुले गलत सन्देश दिएको पोखरेलले बताए । ‘अल्पमतमा परेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्थ्यो, त्यो पनि उहाँले गर्न सक्नुभएन,’ उनले भने ।  

मुख्यमन्त्री गुरुङले पनि प्रधानमन्त्री ओलीले झैं प्रतिगमनकारी कदम चालेको पोखरेलले बताए । ‘हिउँदे अधिवेशनलाई वैशाख १ गते मध्यरातमै अन्त्य गरियो । केन्द्रमा जुन प्रतिगनमकारी कदम चालियो, त्यो राति १२ बजे पत्र पुर्‍याइयो,’ उनले भने, ‘यहाँ पनि सोही गरियो किनकी मुख्यमन्त्रीले संसद फेस गर्न डराउनुभयो ।’

एमाले सांसद रोशन गाहा मगरले प्रतिपक्षी दलहरूले सत्ताको लोभमा अविश्वास प्रस्ताव ल्याएको बताए । सरकारले जनताको मन छुने काम गरेपछि त्यो देख्‍न नसकेर राजनीतिक अस्थिरताका लागि अविश्वास ल्याइएको उनको आरोप थियो । 
कांग्रेस सांसद दोवाटे विश्‍वकर्माले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि प्रदेशमा नयाँ राजनीतिक परिदृश्य बनेको बताए । कांग्रेस प्रजातन्त्र, संविधान र कानुनमा विश्वास गर्ने दल भएकाले प्रतिगमनकारी सरकारविरुद्ध अविश्‍वास प्रस्ताव ल्याएको जिकिर गरे ।
 
माओवादी सांसद दीपक कोइरालाले आफूहरू सत्तामा पुग्‍न अविश्‍वास ल्याएको भनेर सत्तारुढ सांसदले आफ्नै ‘वेट’ घटाउने काम गरेको बताए । संविधानको प्रावधान अनुसार नै अविश्‍वास प्रस्ताव ल्याएको र यो स्वभाविक प्रक्रिया भएको उनले जनाए ।

संवैधानिक प्रक्रियालाई गलत भन्‍न एकदलीय तानाशाह हुने उनले बताए । ‘हामी त स्वभाविक प्रक्रियाबाट आएका छौं, रातारात हठात अधिवेशन अन्त्य गरेर भागेका छैनौं,’ उनले भने । वैशाख ६ गतेका लागि बोलाइएको अधिवेशन अन्त्य गरेर ६ दिनका लागि झण्डावाल गाडी चढेर सत्तारुढ दलले आफ्नो रूप देखाएको सांसद कोइरालाले बताए ।
 
एमाले सांसद धनञ्‍जय दवाडीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उग्रपन्थी र दक्षिणपन्थीको साँठगाँठ भएको बताए । सांसद दवाडीले माओवादी नामको मात्र वामपन्थी भएको आरोप लगाए । ‘चुनावमा सँगै लड्ने, प्रतिवद्धता एउटै गर्ने, कुरा बामपन्थीका गर्ने अनि साँठगाठ, गठबन्धनचाहिँ दक्षिणपन्थीसँग गर्ने ? नामका बामपन्थी, कुराका दक्षिणपन्थी भनेका यिनै हुन्,’ दवाडीले भने । 

कांग्रेस नेता मेखलाल श्रेष्ठले जनतालाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आफूहरूले अविश्‍वासको प्रस्ताव ल्याएको बताए । सातौं अधिवेशनमा विजनेस हुँदाहुँदै पनि हठात अधिवेशन अन्त्य गरेर सरकार भागेपछि आफूहरुले समातेर ल्याएको उनको भनाइ थियो । ‘जनताका समस्यालाई मुक्ति दिन, हामी ४ दल मिलेर अविश्‍वास ल्याएका हौं, हामी कसरी सत्तालोलुप हुन सक्छौं ?’ उनको प्रश्‍न थियो । 

एमाले सांसद सावित्रा रानाले अहिले प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याएर कोभिडबारेको छलफल बिथोलेको बताइन् । ‘कोभिड बढ्दो छ, यो सदनमा कोभिडमा जनताको ज्यान कसरी बचाउने भन्‍नेमा केन्द्रीत हुनुपर्थ्यो, तर त्यसो हुन सकेन,’ उनले भनिन्, ‘संवैधानिक व्यवस्था अनुसार अघि बढिरहँदा सरकारले त्यस्तो के गर्‍यो कि अविश्वासको प्रस्ताव ल्याउनु पर्‍यो ?’ जनताले वामपन्थीको नेतृत्वमा सरकार बनाउन मत दिएकाले जनताको मतको कदर गर्दै वामपन्थीकै सरकार बनाउनुपर्ने बताइन् ।
 
कांग्रेस सांसद मनकुमारी गुरुङले गुरुङ सरकारले विपक्षी दलका सम्झौतालाई दलीय आँखाले मात्र हेरेकाले असफल भएको जिकिर गरिन् । जनताको जीवन बचाउनु पर्ने बेलामा केन्द्र सरकारको सत्ताको धोती च्यापेर बस्दै प्रदेश सरकारको समय बित्न लागेको उनको भनाइ थियो । मंगलबार फेरि बोलाइएको बैठकमा पनि सांसदहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । बैठकको अन्त्यमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदानको प्रक्रिया अघि बढ्नेछ । 

मनाङेले मागे छुट्टै स्थान 

मनाङबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा एमालेको साथ छाडेका छन् । मनाङमा उनी एमालेकै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि एमालेकै सांसदका रूपमा थिए ।

सोमबार प्रदेश सभामा उनी सत्तारुढ दल बस्ने रोमै बसेका थिए । सोमबार देखि सुरु विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएपछि संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसदमा छुट्टै बस्ने सिटको माग गरेका छन् । संसद सचिव हरिराज पोखरेलले उनले छुट्टै स्थान माग गर्दै निवेदन दिएको बताए । 

पीसीआर परीक्षण गर्न एमालेको माग 

सोमबारको प्रदेश सभा बैठकमा एमाले सांसदहरूले सांसदहरूको पीसीआर परीक्षण गर्न माग गरेका थिए । प्रदेश सभा बैठकमा छिर्दा आफूहरूको ज्वरोसमेत ननापिएको उनीहरूको गुनासो थियो । 

गण्डकी प्रदेश सभाको सोमबारको बैठक भौतिक दूरीबिना नै बसेको थियो । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो । तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बसेको हो । ‘अब दूरीसूरी छैन, खोप लगाइसकेका छौँ, नदीपुरमै बैठक बस्छ,’ प्रदेश सभा सचिव पोखरेलले भने । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x