प्रमुख समाचार

टिकटकमा भाइरल हुन कर्णालीमा हाम फाल्छन् युवाहरू

नवराज पनेरु |
चैत ३०, २०७७ सोमबार ११:३८ बजे

धनगढी : शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–२ का १८ वर्षीय सञ्जय खड्का टिकटक बनाउन कर्णाली पुल पुगे । उनीसंगै थिए कक्षा १० मा पढ्ने ८ जना युवा । टिकटकमा भाइरल हुन १७ वर्षीय बिरेन्द्र सिंह, १८ वर्षीय लोकेश प्याकुरेल र खड्काले कर्णाली पुलबाट नदीमा हाम फाले । खड्का आइतबार बिहानसम्म पनि बेपत्ता छन् ।

प्याकुरेल घाइते भएर नेपालगञ्जमा उपचार गराइरहेका छन् भने सिंह सकुशल छन् । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार ज्यान जोखिममा राखेर अहिले टिकटकमा भाइरल हुन कर्णालीको पुलबाट नदीमा युवाहरू हाम फाल्ने गरेका छन् । कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले भने, ‘प्रहरीले दैनिक रूपमा युवाहरूलाई सम्झाउँदै आएको छ । तर अटेरी गर्दै युवाहरूले ज्यान नै जोखिममा राखेर पुलबाट कर्णालीमा हाम फाल्ने गरेका छन् ।’ उनका अनुसार कर्णालीमा बेपत्ता भएका खड्काको खोजीका लागि अहिले सशस्त्र प्रहरीको गोताखोर टिम घटनास्थलमा पुगेको छ ।


‘चिसापानी क्षेत्रका स्थानीय युवाहरूले यसअघि पनि पटकपटक कर्णाली नदिमा टिकटकमा भाइरल हुनकै लागि हाम फालेको जानकारी आउथ्यो,’ प्रहरी निरीक्षक बोगटीले भने, ‘शनिबार पनि देखासिकीमा मै युवाहरूले हाम फालेका रहेछन् ।’ 

बोगटीका अनुसार सार्वजनिक बिदाको दिन सयौँको संख्यामा युवाहरू टिकटक बनाउन कर्णाली पुलमा पुग्ने गरेका छन् । उनले अगाडि भने, ‘पुलमा पनि ड्युटीमा प्रहरी कर्मचारी हुन्छन् । तर प्रहरीलाई पनि झुक्याएर कर्णालीमा युवाहरूले हाम फाल्ने गरेका छन् ।’ यसअघि पनि कर्णालीको पुलबाट नदीमा हाम फालेको भिडिओ टिकटकमा भाइरल नै भएको थियो । 

मनोरञ्जनका लागि बनाइने टिकटकले यसअघि पनि व्यक्तिको ज्यान लिएको थियो । माघ अन्तिम साता कञ्चनपुरकी १३ वर्षीया करुणा चन्दको टिकटक बनाउने क्रममै मृत्यु भएको थियो । टिकटकमा केही नयाँ प्रयोग गर्ने सोचले स्टुल चढेर पंखामा डोरी बाधेकी चन्दको पंखामा झुण्डिएर मुत्यु भएको थियो । यस्तै टिकटक बनाउन झोलुङ्गे पुलमा झुण्डिएर गम्भीर घाइते भएको युवकको पनि मृत्यु भएको थियो । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा दंगिशरण गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा लडेका थिए । उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा उनको मृत्यु भएको थियो ।


Author

थप समाचार
x