संगीत

अष्ट्रेलियाका सात सहरमा सुजन चापागाईंको कन्सर्ट

इकागज |
चैत २६, २०७९ आइतबार १२:६ बजे

काठमाडौँ  - ‘देखेर तिमीलाई ,हेरेर तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई‘’ नेपाली गीत – संगीतको माहौलमा बजार तताएको यो गीतमा आवाज भर्ने गायक हुन सुजन चापागाईं । यो लगायत थुप्रै गीतमार्फत आफ्नो विशिष्ट पहिचान बनाएका सुजन फरक खालका गीतका कारण रुचाइएका छन् । विशेष गरेर युवापुस्ता माझ उनले बनाएको क्रेज र छाप साँच्चै लोभ लाग्दो छ । प्रेममय गीत – संगीतको प्रस्तुति उनको विशेषता मानिन्छ ।

यिनै चर्चित गायकलाई नजिकबाट हेर्ने र सुन्ने अष्ट्रेलियामा रहने नेपालीको चाहना पूरा हुने भएको छ । सुजन पहिलोपटक आफ्नो ब्याण्ड सहित अष्ट्रेलियाको सांगितीक यात्रामा निस्कने भएका छन । सुजनको सांगीतिक समूहको अष्ट्रेलिया यात्राको इभेन्ट आयोजक भने हो र होइन होला, रोटेपिंग इन्टरटेनमेन्ट र डिजे सुशील रहेका छन । इभेन्टको टाइटल प्रायोजक एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस रहेको छ ।


युवा पुस्तामाझ अत्याधिक चर्चित र गीत संगीतका कारण पनि लोकप्रिय भएकोले आफ्नो समूहले गायक सुजन चापागाईलाई अष्ट्रेलिया ल्याउंन लागेको जानकारी आयोजक मध्येका एक रोशन भट्टराईले दिएका छन । पहिलोपटक अष्ट्रेलिया यात्रामा निस्कन लागेका सुजन चापागाई अष्ट्रेलिया यात्रालाई लिएर पनि यतिबेला निकै उत्साही देखिएका छन । उनले भने ‘ लामो समय अगाडिदेखि अष्ट्रेलिया जाने योजना भएता पनि अहिले जुरेको छ । हामीलाई विश्वास छ कि अष्ट्रेलियाका विभिन्न सहरहरूमा रहनु हुने नेपालीहरूसंग हाम्रो सांगीतिक भेटघाट हुनेछ ।’

सुजन चापागाईको समूहले अप्रिल १४ तारिखबाट आफ्नो सांगितिक यात्रा शुरू गर्ने छ । १४ अप्रिलमा डार्बिनमा प्रस्तुत हुने यो समूहले १७ मा मेलबर्न , १९ मा क्यानभेरा,२४ मा ब्रिसबेन , २८ मा सिड्नी , २९ मा होबार्ट तासमनिया र अप्रिल ३० तारेखका दिन एडिलेडमा आफ्ना गीत प्रस्तुत गर्नेछ । यसका लागि सुजन चापागाईं आफ्नो समूहका साथ मंगलबार अष्ट्रेलिया उड्ने भएका छन् ।


Author

थप समाचार
x