फिचर

इंग्लिस प्रिमियर लिगः

चेल्सीको दाउ सिटीलाई रोक्ने, लिभरपुलसँगको दूरी बढाउने

इकागज |
माघ १, २०७८ शनिबार १३:४६ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीलाई रोबर्टो मान्सिनीले मात्रै होइन, म्यानुएल पेलेग्रिनीले समेत इंग्लिस प्रिमियर लिग जिताए । यी दुईपछि सिटी पुगेको पेप ग्वार्डिओलाले त झनै कमाल गरेका छन् । तर अझै पनि उनको सफलतामा च्याम्पियन्स लिग थपिन सकेको छैन । 

गत सिजन ग्वार्डिओला युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न तयार थिए । तर उनलाई यसो गर्नबाट रोके, थोमस टुकेलले । हुन त टुकेललाई पनि चेल्सीमा सुरुमै आफूलाई प्रमाणित गर्न दबाब छँदै थियो । यही दबाबले टुकेललाई चेल्सीलाई च्याम्पियन्स लिग विजेता बनाउन प्रेरणा पनि दिएको हुनसक्छ । जे होस् सिटीले च्याम्पियन्स लिग जित्न अझै केही समय पर्खनु पर्ने देखिएको छ । 


प्रिमियर लिगमा पहिलेबाटै ग्वार्डिओला र लिभरपुलका योर्गन क्लपबीच प्रतिद्वन्द्वीता थियो । यही खेलमा जर्मनीकै टुकेल पनि थपिए । ग्वार्डिओला र टुकेलबीचको प्रतिद्वन्द्विताको सुरुवात च्याम्पियन्स लिगको त्यही फाइनलबाट सुरु भएको हो । जुन यो सिजन पनि जारी छ । 

ग्वार्डिओला मे, २०१६ मा प्रिमियर लिग गएका हुन् । त्यसबेला जोसे मौउरिन्हो प्रिमियर लिगबाट बाहिरिसकेका थिए । तर पोर्चुगलका मौउरिन्हो केही समयपछि म्यानचेस्टर युनाइटेडसँग आबद्ध भए । यसपछि बेलायती सञ्चार माध्यममा उनको र जोसे मौउरिन्होबीचको प्रतिद्वन्द्विताको विषयले गतिलै ठाउँ पायो । यद्यपि मौउरिन्होले ग्वार्डिवोलाई त्यति धेरै दुःख दिन सकेनन् ।

मौउरिन्होले दिन नसकेको चुनौतीको भार क्लपले बोके । क्लपले मोहम्मद सलाह, साडियो माने र रोबर्टो फरमिन्हो सम्मिलित अग्रपंक्तिको सहयोगमा ग्वार्डिओलाको टिमबाट प्रिमियर लिग उपाधिसमेत खोस्न सके । तर यी दुई टिमबीचको पछिल्ला भेटमा सिटी बलियो देखिएको छ । तथ्यांक हेर्ने हो भने, सिटीले लिभरपुलविरुद्धका पछिल्ला आठ खेलमध्ये एकमा मात्रै पराजय भोगेको छ । 

गत सिजन प्रिमियर लिगमा टुकेलको आगमन भएपछि एउटा अनुमान गरियो, अब सिटीलाई नजिबाट टक्कर दिने टिम चेल्सी हुनेछ । यो संकेत च्याम्पियन्स लिगको फाइनलपछि झन् बलियो बन्यो । च्याम्पियन्स लिगमाबाहेक चेल्सीले सिटीलाई एएफए कप सेमिफइनल र प्रिमियर लिगमा समेत हरायो । टुकेलले ग्वार्डिओलालाई लगातार तीन खेलमा पराजित गरेपछि भन्न थालियो, टुकेलसँग स्पेनिस प्रशिक्षकलाई पराजित गर्ने सूत्र छ । तर गत सेप्टेम्बरको लिग भिडन्तमा भने टुकेलको सूत्रले काम गरेन । किनभने सिटी स्टामफोर्ड ब्रिजमै भएको खेलमा १–० ले विजयी बन्यो । 

हुन त यसपालि सिटी चेल्सीभन्दा मात्रै होइन, प्रिमियर लिगका सबै बाँकी टिमको दाँजोमा बलियो देखिएको छ । लिगका २१ खेल सकिँदा सिटी शीर्ष स्थानमा छ । सिटीको ५३ अंक छ । उसलाई पछ्याइरहेको चेल्सी १० अंकले पछाडि छ । यसकारण शनिबार साँझ हुने खेलमा चेल्सीलाई अनिवार्य जित चाहिएको छ । इतिहादमा हुने यो खेलमा जित हासिल गरे चेल्सीले सिटीसँगको दूरी घटाउनेछ भने तेस्रो स्थानमा रहेको लिभरपुलसँगको दूरी बढाउनेछ ।

टुकेलले ग्वार्डिओलाको सामना इंग्ल्यान्डमा मात्रै गरेको होइनन् । जर्मन बुन्डेसलिगामा पनि यी दुई आमनेसामने हुने गरेका थिए । तर कुनैपनि खेलमा टुकेल विजयी हुन सकेनन् । ग्वार्डिओला नेतृत्वको बायर्न म्युनिखविरुद्धका सबै पाँच खेलमा टुकेलका टिम (मेन्ज र बोरुसिया डर्टमन्ड)ले हार बेहोरेका थिए ।  

प्रतिद्वन्द्विताका बाबजुत पनि टुकेलले ग्वार्डिओलाको कयौँ पटक तारिफ गरेका छन् । यति मात्रै होइन, टुकेलले आफू ग्वार्डिओलाको फुटबल दर्शन र रणनीतिबाट प्रभावित भएको बताउने गरेका छन् । जर्मनीमा ग्वार्डिओलाको टिम डर्टमन्ड वा मेन्जभन्दा निकै बलियो हुने गरेको थियो । तर इंग्ल्यान्डमा भने टुकेलको टिम सिटीभन्दा कमजोर छैन । भलै अंक तालिकामा यी दुई टिमबीच दूरी रहेको होस् । 

इंग्ल्यान्डमा ग्वार्डिओलालाई लगातार तीन भिडन्तमा हराउने दोस्रो प्रशिक्षक हुन्, टुकेल । उनीअघि यस्तो सफलता ओले गनर सोल्स्यारको नाममा मात्रै थियो । हुन त यही सफलताको जगमा टुकेलले सिंगो प्रिमियर लिग सिजनकाृ सरुवात भने गरेका थिएनन् । उनीसँग रोमेलु लुकाकु जस्ता नयाँ सदस्य टिममा थिए । जबकि सिटीले सर्जियो अग्वेरोलाई प्रतिस्थापन गर्नसक्ने अर्को स्ट्राइकर नै भेट्न सकेन । 

तर सिटीमा रहेका अन्य फरवार्ड तथा एट्याकिङ मिडफिल्डरले गोलको मुहान सुक्न दिएका छैनन् । फलतः सिटीले लिगमा ५३ गोल गरिसकेको छ । यो गोल संख्या लिगकै सर्वाधिक हो । गोल गर्ने मामलामा चेल्सी भने लिग लिडर र लिभरपुलभन्दा पछाडि छ । लिभरपुलले ५२ गोल गरेको छ भने चेल्सीको खातामा ४५ गोल छ । गोल संख्यामा चेल्सी केही तल पर्नुको कारण लुकाकुले आशातित प्रदर्शन गर्न नसकेर पनि हो ।  

लुकाकुले लिगमा पाँच गोल गरेका छन् । टिमका उच्च गोलकर्ता म्यास माउन्टको नाममा सात गोल छ । सिटीमा भने सात गोल गर्ने दुइ खेलाडी छन्, बर्नादो सिल्भा र रहिम स्टर्लिङ । अफ्रिका कप अफ नेसन्स खेल्न क्यामरुन पुगेका रियाद माहरेजले ६ गोल गरेका छन् भने केभिन डे बु्रएना र फि फोडनले पनि पाँच–पाँच पटक गोल गरिसकेका छन् । चेल्सी र सिटीबीचको समानता भने छरिएको गोल स्रोत हो । हुन त यही पक्षले दुवै टिमलाई उत्साहित खेल देखाउने टिमका रुपमा चिनाएको छ । यस अर्थमा शनिबारको भिडन्त पनि रोचक हुने अनुमान गर्न गाह्रो छैन । 


Author

थप समाचार
x