फिचर

सन् २०२३ लाई फर्केर हेर्दा

क्रिकेटः भारत र पाकिस्तानसँग ऐतिहासिक खेल, विश्व कीर्तिमान र विश्वकप छनोट

सञ्जीव शाह |
पुस ९, २०८० सोमबार १४:१४ बजे

तस्बिरः एसीसी/क्यान

काठमाडौँ- समग्रमा हेर्दा सन् २०२३ नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि विशेष रह्यो । नेपालले पहिलो पटक एसिया कप खेल्ने सुनौलो अवसर पायो भने एक दशकपछि आईसीसी टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्न सफल भयो ।

अर्कोतर्फ नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा कैँयौँ विश्व कीर्तिमान समेत कायम भए । त्यसैगरी, सन् २०२३ मै नेपालले भारत र पाकिस्तानसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने आफ्नो सपना पनि पूरा गर्‍यो ।


खासमा सन् २०२३ मा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले समग्रमा ३५ वटा अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । त्यसमा २२ वटा एकदिवसीय तथा १३ वटा टी-ट्वान्टी समावेश थियो ।

२२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये नेपालले १५ खेलमा जित हात पार्‍यो भने ७ खेलमा मात्र पराजय भोग्यो ।

नेपालले भोगेको ७ मध्ये दुई वटा पराजय भने गर्व गर्न लायक नै रह्यो । नेपालले सन् २०२३ मै पहिलो पटक एसीसी एसिया कप खेल्ने अवसर पायो र पहिलो अवसरमै नेपालले एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेका टेस्ट राष्ट्रहरू पाकिस्तान र भारतविरुद्ध खेल्ने ऐतिहासिक अवसर पायो ।

अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानविरुद्ध खेल्ने अवसर पायो ।

नेपालले छिमेकी राष्ट्र तथा एकदिवसीय वरीयतामा तत्कालीन शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेल्दा नेपाली खेलाडीहरूले विश्वको ध्यान आफूतिर तान्न भ्याए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दुवै ओपनर फकर जमान (१४ रन) तथा इमाम-उल-हक (५ रन) लाई ७ ओभरभित्रै गुमाउँदा केवल २५ रन जोडेको थियो । करण केसीले फकरको विकेट हात पार्दा कप्तान रोहित पौडेलले इमामलाई रन आउट गर्न भ्याएका थिए ।

तर त्यसपछि कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्काको मदतमा सर्वाधिक १ सय ५१ रन तथा इफ्तिकार अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हिर्काउँदै १ सय ९ रन बनाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रनको योगफल तयार पार्‍यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २ तथा करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट हात पारे ।

३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल भने २३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४ रनमात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामीले २८ तथा आरिफ शेखले २६ रन जोडे । पाकिस्तानका शदाब खानले सर्वाधिक ४ विकेट हात पारे ।

पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेपनि ऐतिहासिक रुपमा भने नेपालले पहिलोपटक पाकिस्तानसँग आमने-सामने भएको थियो र विश्वको नम्बर एक टिमविरुद्ध डटेर खेल्ने साहस देखाएको थियो ।

पाकिस्तानपछि नेपालले भारतसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्यो । श्रीलंकाको पालेकेलेमा खेलेको खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय भोगेपनि नेपाली खेलाडीहरूले पुनः आफूलाई अब्बल सावित गर्न भ्याए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारत विरुद्ध ४८ ओभर २ बलसम्म खेल्दै २ सय ३० रनको सम्मानजनक योगफल तयार पार्न सफल भयो ।

भारतविरुद्ध ओपनर आशिख शेखले सर्वाधिक ५८ रन जोडे भने सोमपाल कामीले ४८ रन जोड्दा २ छक्का हिर्काए । कुशल भुर्तेलले २५ बलमा ३८ रन जोड्दा २ छक्का प्रहार गर्न भ्याए । दीपेन्द्र सिंह ऐरीले २९ रन तथा गुल्सन झाले २३ रनको योगदान गरे ।

भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट हात पारे ।

वर्षाका कारण प्रभावित खेलमा भने भारतले डीएलएस मेथडअनुसार १ सय ४५ रनको लक्ष्य पायो । भारतले उक्त लक्ष्य २० ओभर १ बलमा पूरा गर्दा कप्तान रोहित शर्माले अविजित ७४ रन तथा शुवमन गिलले अविजित ६७ रन जोडे ।

परिणामको हिसाबले एसिया कपमा डेब्यु गर्दा नेपालले भारत र पाकिस्तानसँग ठूलो अन्तरको पराजय भोगेको देखिएपनि नेपाली खेलाडीले एसिया कपबाट ठूलै अनुभव बटुल्नुका साथै आफूलाई विश्वसामु प्रमाणित गर्ने अवसर प्राप्त गर्‍यो ।

हुन् त एसिया कपअघि नेपालले आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा टेस्ट राष्ट्रहरू जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेल्ने अवसर प्राप्त गरेको थियो । तर जिम्बाब्वेसँग ८ विकेट, वेस्ट इन्डिजविरुद्ध १ सय १ तथा आयरल्यान्डविरुद्ध २ विकेटको पराजय भोगेको थियो ।

ती खेलका परिणामलाई छाड्ने हो भने नेपालले सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रहरूसँग आफ्नो क्षमता परीक्षण गर्ने अवसर पाएको थियो । जुन चानचुने कुरा भने पक्कै होइन ।

यता १३ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दा नेपालले ९ खेलमा जित हात पार्‍यो भने ४ खेलमा मात्र पराजय भोग्यो ।

तर तीमध्ये १९ औँ एसियन गेम्समा मंगोलिया तथा आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेल विशेष रह्यो ।

चीनमा सम्पन्न १९ औँ एसियन गेम्समा नेपालले सेप्टेम्बर २७ मा मंगोलियाको सामना गर्दा कैँयौँ विश्व कीर्तिमान कायम भए । मंगोलियाविरुद्ध नेपालले ३ विकेटको क्षतिमा निर्धारित २० ओभरमा बनाएको ३ सय १४ रन टी-ट्वान्टी इतिहासकै सर्वाधिक रन हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसैगरी, नेपालले मंगोलियालाई उक्त खेलमा २ सय ७३ रनले पराजित गर्दा अर्को विश्व कीर्तिमान कायम भएको थियो । नेपालको उक्त जित, रनको हिसाबले सबैभन्दा ठूलो जित हो । त्यसअघि चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले पराजित गरेको थियो ।

मंगोलियाविरुद्ध नै नेपालका दीपेन्द्र सिंह ऐरीले ९ बलमै अर्धशतक पूरा गरेका थिए जुन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान हो । उनले उक्त समयमा विश्व कीर्तिमान कायम गर्दा भारतीय क्रिकेटर युवराज सिंहले १२ बलमा बनाएको कीर्तिमान तोडेका थिए । 

त्यतिमात्र नभएर मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरेर कुशल मल्लले पनि विश्व कीर्तिमान कायम गरे । यसअघि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका डेभिड मिलर र भारतका रोहित शर्माले समान ३५-३५ बलमा शतक पूरा गरेका थिए ।

मंगोलियाविरुद्ध नेपालले समग्रमा २६ छक्का हिर्काएको थियो जुन टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको एकै इनिङ्समा हिर्काइएको सर्वाधिक छक्का पनि हो ।

अर्कोतर्फ मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रको छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई पराजित गर्दै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।

मूलपानीमा नोभेम्बर ३ मा भएको विश्वकप छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनायो ।

सन् २०१४ मा बंगलादेशमा पारस खड्काको कप्तानीमा विश्वकप खेलेको नेपालले एक दशकपछि पुनः विश्वकपमा स्थान सुरक्षित गरेको हो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x