फिचर

प्रशिक्षक देशाई भन्छन्, ‘हाम्रा केही खेलाडीले यी ‘टप-लेभल’ क्रिकेटरलाई टिभीमा मात्र हेरेका छन्’

सञ्जीव शाह |
भदौ ८, २०८० शुक्रबार १०:५२ बजे

तस्बिरः क्यान

काठमाडौँ- पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो अवसर मानिएको एसीसी एसिया कप खेल्ने संघारमा आइपुगेको छ ।

अगस्ट ३० तारिखबाट पाकिस्तान-श्रीलंकामा हुने एसिया कपका लागि नेपाल उपाधि दाबेदार पाकिस्तान र भारतकै समूहमा रहेको छ । समूह चरणको दोस्रो खेल नेपालले भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्ने छ ।


नेपालको सिनियर टोलीले पाकिस्तान र भारतकाे सिनियर टाेलीसँग अहिलेसम्म खेल्ने अवसर पाएको छैन । नेपालमा भएको छनोट प्रतियोगिता जित्दै नेपालले पाकिस्तान र भारतसँग खेल्ने ठूलै अवसर जुरायो । गत अप्रिल १८ देखि मे २ तारिखसम्म नेपालमा भएको एसीसी प्रिमियर कपमा फाइनलमा युनाइटेड अरब इमिरेट्सलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा पहिलो पटक स्थान सुरक्षित गरेको थियो ।

एसिया कपमा सम्झन लायक प्रदर्शन गर्ने उद्धेश्यले एक हप्ता अघि नै नेपाली टोली पाकिस्तान पुगेको छ र नेपाली टिम अहिले पाकिस्तानमा तयारी गरिरहेको छ । बुधबार पाकिस्तान पुगेको नेपाली टिमले अहिले कराँचीको नेसनल बैँक स्टेडियममा तयारी गरिरहेको छ । नेपाली टिम अगस्ट २७ मा मुल्तान पुग्ने तालिका रहेको छ ।

लामो समयदेखि नेपालले तयारी गरे पनि एसिया कपलाई नेपाली टिमले जित भन्दा पनि सिक्ने अवसरको रुपमा बढी लिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि पाकिस्तान र भारतसँगै एउटै समूहमा रहेर एसिया कप खेल्नु नेपाली खेलाडीका लागि सिक्ने ठूलै अवसर भएको बताएका छन् ।

‘एसिया कपका लागि पाकिस्तान र भारतकै समूहमा स्थान पाएका कारण हाम्रा खेलाडीहरूका लागि सिक्ने ठूलो अवसर छ,’ देशाईले विश्वास व्यक्त गरेको पाकिस्तानी संचारमाध्य क्रिकेट पाकिस्तानले जनाएको छ ।

देशाईले नेपालले पाकिस्तान वा भारतविरुद्ध जित्न निकाल्न सक्ने सम्भावनालाई भने नजरअन्दाज गरे ।

‘नेपालका धेरै खेलाडीहरूले टेलिभिजन स्क्रिनमा मात्र यी शीर्ष स्तरका क्रिकेटरहरूलाई हेर्ने अवसर पाएका छन् । उनीहरूका लागि यो ठूलै अवसर हो,’ देशाईले थपे । ‘नेपालले जित्छ भनेर म भन्न सक्दिनँ ।’

तर पाकिस्तान जानुअघिको बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले पाकिस्तान र भारत दुवै टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने चाहना रहेको बताएका थिए ।

यता एसिया कपका लागि ऐतिहासिक रुपमा छनोट भएको नेपाली टिमप्रति नेपाली टिमका प्रशिक्षक तथा भारतीय नागरिक देशाईले गर्व लागेको बताउँदै उनले पाकिस्तानले नेपाल टिमको तयारीका लागि गरेको व्यवस्थाप्रति खुसी व्यक्त गरे ।

नेपालले अहिलेसम्म भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्ने मौका नपाएपनि एसीसी श्रीलंकामा गत जुलाई १३ देखि २३ तारिखसम्म आयोजना भएको एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने अवसर पाएको थियो ।

देशाईका अनुसार भारत र पाकिस्तानको ‘ए’ टिमसँगको खेलबाट नेपाली खेलाडीले अनुभव बटुलेको र त्यसले एसिया कपमा सहयोग गर्ने छ । उनले एसिया कपका लागि नेपाली टिमले लामो समयदेखि तयारी गरिरहेको र तयारी पूरा भएको समेत दावी गरेका छन् ।

अर्कोतर्फ कप्तान पौडेलले भने विश्वकप छनोटमा वेस्ट इन्डिजसँग खेलेर टेस्ट राष्ट्रसँग खेल्ने अनुभव लिइसकेको, इमर्जिङ टिम्स एसिया कपमा पनि भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेलेको अनुवभ र त्यसको सिकाईका आधारमा सबै खेलाडीहरूले आफूलाई अझ तयार पारेको बताएका छन् ।

पाकिस्तान जानुअघि पौडेलले अबको खेलमा नेपाली खेलाडीहरूले ती अनुभवका आधारमा ‘इन्जोय’ गर्ने बताएका थिए ।

यसैबीच, देशाईले नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने अगस्ट २८ मा पाकिस्तान पुग्ने बताए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x