फिचर

चिटिक्क परेको पोखरा रंगशालामा प्रतियोगिता हुनै छाडे, करोडौंको लगानी खेर जाँदै

धनबहादुर गुरुङ |
असार २०, २०८० बुधबार ११:४१ बजे

पोखरा- पोखरा रंगशालाको निर्माण कार्य करिब ४ वर्षमा पूरा भयो । २०७५ पुस १३ मा निर्माण सम्झौता गरेर फागुन २६ गते शुभारम्भ गरिएको फुटबल मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई हस्तान्तरण भइसकेको छ ।

राखेपले १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता गरेपनि निर्माण कार्य सम्पन्न गर्न विभिन्न कारण ६ पटकसम्म म्याद थप गरिएको थियो । 


भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) मा रंगशाला निर्माण गरेको हो ।

१६ हजार ५ सय सिट क्षमताको रंगशालाको पूर्वीभागमा ५ हजार २ सय ६८, पश्चिममा ३ हजार ८ सय १४, उत्तरमा ३ हजार ४ सय ४४ र दक्षिणमा ३ हजार ६ सय ९० सिट जडान गरिएको छ । त्यसैगरी, अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २ सय २८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् ।

फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथ्लेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानो लगायत पूर्वाधार निर्माण भएका छन् । यही संरचनामा अहिले पोखरा रंगशाला चिरिच्याट्ट बनेको छ । भित्री र बाहिरी संरचना हेर्दा युरोपियन देशहरुको भन्दा कम छैन् ।

उत्तरतिरका हिमालले रंगशालाको सुन्दरता झनै बढाएको छ । यो मैदानमा खेलेर आनन्द लिने सबैको रहर र सपना हुन्छ । तर, प्रतियोगिता कम हुँदा धेरैको सपना पुरा हुन सकिरहेको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितका अनुसार चाल आर्थिक वर्ष २०७९-८० मा पोखरा रंगशालामा ८ वटा प्रतियोगिता मात्र भएका छन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष फुटबल प्रतियोगितासँगै आहारारा गोल्डकपलाई यहाँ भएको ठूलो प्रतियोगिताका रुपमा लिन सकिन्छ । यसबाहेक स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपी र गण्डकी प्रदेशबीचको मैत्रीपूर्ण खेललाई अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा हेरिएको छ । योसँगै संगम क्लबको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता, प्याब्सन र एनप्याब्सनको खेल, गण्डकी विश्वविद्यालयको जियु कप र पोखरा महानगरको वडाकप प्रतियोगिता यहाँ भए ।

एन्फा कास्कीका पूर्व अध्यक्ष खेम गुरुङ पनि पोखरा रंगशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको बताउँछन् । ‘ठूला–ठूला प्रतियोगिता आयोजना गर्न सक्षम भएपनि यस रंगशालामा प्रतियोगिताहरु साह्रै कम भएका छन्,’ उनले भने, ‘कास्की एन्फा सुस्तायो ।’

यत्तिको राम्रो मैदानमा फुटबलको मौसम ल्याउन सक्नुपर्ने उनको सुझाव छ । ‘माहोल बनाइदिए मात्र अरु क्लबहरु पनि कार्यक्रम गर्न अगाडि सर्छन्,’ उनले उनले थपे ।

‘अहिले जेनतेन सहारा क्लब पोखराको आयोजनामा आहारारा गोल्डकप हुन्छ तर एन्फाबाट कुनै कार्यक्रम नभएकाले रंगशाला भए–नभएको कुनै फरक छैन,’ गुरुङ थप्छन् ।

आन्तरिक प्रतियोगिता गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहल गरिनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशकै उत्कृष्ट रंगशाला कास्कीमा भएकाले कास्की एन्फा चलायमान हुनुपर्ने गुरुङले बताए । एन्फा कास्कीको पोखरा गोल्डकप नभएको धेरै वर्ष भइसक्यो । यसको निरन्तरतामा पनि एन्फा कास्कीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । एन्फा कास्कीको १ वर्षसम्म मिटिङ नै नबसेको पनि उनले टिप्पणी गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले कास्कीमा गर्ने भनिएको प्रतियोगिता एन्फा कास्कीले बजेट कम भएको जनाएपछि हुन नसकेको जनाए । ‘म आउनुभन्दा पहिला नै ११ जिल्लालाई बोलाएर कास्कीमै प्रदेश स्तरीय फुटबल प्रतियोगिता गर्ने भनेर बजेट छुट्याउनुभएको रहेछ पछि बजेट कम भएकाले कास्कीले नगर्ने भन्ने भयो,’ उनले भने, ‘नवलपुरले हामी गर्न सक्छौं भनेपछि त्यहाँ लग्यौं ।’

फुटबलमा बजेट कम भयो भन्ने गुनासो रहे पनि आगामी दिनमा गण्डकी प्रदेश फुटबल संघसँग सहकार्य गर्दै अघि बढ्ने शर्माले बताए ।

यता, एन्फा कास्की अध्यक्ष रञ्जित भने आफूहरुलाई जिम्मेवारी नदिंदा व्यवस्थापनमा समस्या परेको बताउँछन् । पश्चिमाञ्चल खेलकुद परिषद् व्यवस्थापनको काम हेरिरहेकामा एन्फा कास्कीलाई केही जिम्मेवारी हुनुपर्ने उनको भनाइ थियो ।

‘यसलाई कास्की जिल्ला फुटबल संघ मातहतमा राख्न सक्नुभयो भने मर्मतदेखि अरु कुरा हाम्रो संरक्षणमा राख्न सक्छौं भनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कुरा राख्दा आफ्नोमातहतमै आएको छैन भन्नुभयो,’ अध्यक्ष रञ्जितले भने, ‘निर्माण कम्पनीसँग बुझ्दा हामीले दिइसक्यौं हामीले अब केही मर्मत गर्दैनौं भन्छ ।’

क्रिकेट, टेनिस, व्याडमिन्टन जस्ता खेल संस्थाहरुले मैदानको जिम्मेवारी लिएर राम्रो गरेकाले एन्फा कास्कीले जिम्मेवारी पाए पोखरा रंगशालाको व्यवस्थापन राम्रो गर्ने उनको भनाइ थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीले रंगशाला हस्तान्तरण राष्ट्रिय खेलकुद परिषद्लाई भइसकेकाले आफूहरु मातहत आएको बताउँछन् । ‘केन्द्रमा रंगशाला राखेपमा हस्तान्तरण भइसकेको छ । केन्द्रमा भएपछि हामीलाई पनि भयो भनौं न,’ उनले थपे ।

रंगशालामा अपेक्षाकृत प्रतियोगिता नभएको योगी पनि स्वीकार्छन् । तत्कालका लागि सरसफाइ खर्च भनेर आयोजकसँग केही रकम लिने गरिएको उनले बताए । खेलकुदका केही ठूला योजना केन्द्र आफैले हेर्ने गरेकाले पोखरा रंगशाला पनि सोही समूहमा पर्ने भएकाले एन्फा कास्कीलाई दिने अहिलेसम्म सल्लाह नभएको प्रमुख योगीले स्पष्ट पारे ।


Author

थप समाचार
x