फिचर

मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ ले नेपाली क्रिकेटमा ल्याएको चमत्कार

सञ्जीव शाह |
फागुन ७, २०७९ आइतवार १३:४६ बजे

काठमाडौँ- ‘ड्रेसिङ रूपमा राम्रो वातावरण बनाउने मेरो उद्देश्य छ । अहिलेको समय भनेको टिममा रहेका सबै एकजुट हुने हो,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा माघ २३ मा मोन्टी देसाईले भनेका थिए ।

नेपाली राष्ट्रिय टिमको निरन्तर खराब प्रदर्शन तथा मुख्य प्रशिक्षकहरुका लागि नेपाल ट्रान्जिट मात्र भइरहेको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले माघ २३ गते देसाईसँग दुई वर्षको सम्झौता गरिएको जानकारी गराएको थियो । देसाईले आफैँ पनि सम्झौताअनुसार २ वर्ष नेपालमै बस्ने तथा सम्झौता नवीकरण गर्न सकिने बताएका थिए ।


गत माघ १४ गते नेपाल आएपछि देसाईले नेपाली टिमको प्रशिक्षण सम्हालेको तीन हप्ता मात्र पूरा भएको छ । याे छोटो समयमै नेपालले तीन महत्वपूर्ण जित निकालेको छ त्यो पनि ऐतिहासिक लक्ष्य पछ्याउँदै । उनको प्रशिक्षणमा नेपाली टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको महत्वपूर्ण सिरिज खेलिरहेको छ । र, थोरै मात्र अवसर होला जहाँ नेपालले ब्याटिङमा यति धैर्य प्रदर्शन गरेको ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले  नामिबिया र स्कटल्यान्डसम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा खेलेका ३ वटै खेलमा जित हात पारिसकेको छ । तीनवटा खेलमा जित हात पार्दा नेपाली क्रिकेट टिम तथा टिमका खेलाडीहरुले एकपछि अर्को कीर्तिमान कायम गरिरहेका छन् ।

लिग-२ अन्तर्गत नेपालले खेलेका अघिल्ला ६ वटा सिरिजमध्ये कुनै पनि सिरिजमा ३ वटा खेल जित्न सकेको थिएन । त्रिवि क्रिकेट मैदानमै २०२० को फेब्रुअरीमा ओमान र अमेरिकासँगको सिरिजका क्रममा अमेरिकालाई दुई पटक पराजित गरेको थियो । २०२१ को सेप्टेम्बरमा ओमानमा पुनः ओमान र अमेरिकासँगको सिरिजका क्रममा नेपालले २ खेल जितेको थियो । एक खेलमा अमेरिका तथा एक खेलमा ओमानलाई पराजित गरेको थियो ।

२०२२ को मार्चमा दुबईमा युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्यूगिनी (पीएनजी) सँगको सिरिजका क्रममा २ खेल जित्दा दुवै खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । २०२२ कै जुनमा अमेरिकामा अमेरिका र ओमानसँगको सिरिजका क्रममा नेपालले एक खेलमा मात्र जित हात पार्‍यो । एक खेलमा भने अंक बाँडेको थियो ।

२०२२ को जुलाईमा स्कटल्यान्डमा स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजका क्रममा स्कटल्यान्डलाई पराजित गरेर एक खेल जितेको थियो । २०२२ को डिसेम्बरमा नामिबियामा नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजमा नेपालले एक खेलमा नामिबियासँग अंक बाँड्दा ३ खेलमा पराजय भोगेको थियो ।

विगतमा लिग-२ जस्तो महत्वपूर्ण प्रतियोगितामा लगातार खेल जित्नु कल्पना बाहिरको कुरा भइसकेको थियो । तर प्रशिक्षक देसाई आएपछि नेपाली टिममा चामत्कारिक परिवर्तन आएको देखिन्छ ।

नेपालले घरेलु मैदानमै लगातार ३ खेलमा जित हात पारेको छ, त्यो पनि लिग-२ को च्याम्पियन बनिसकेको स्कटल्यान्ड र बलियो अवस्थामा रहेको नामिबिया जस्तो टिमसँग ।

नेपालले जितमात्र हात पारेको छैन, नामिबियाविरुद्ध सिरिजको पहिलो खेलमा कीर्तिमानी २ सय ८६ रनको लक्ष्य पूरा गर्दा ओपनर कुशल भुर्तेलले शतक पूरा गरे । एकदिवसीयमा उनको यो पहिलो शतक हो । त्यसैगरी, करण केसीले सोही खेलमा ५ विकेट हात पारेका थिए ।

‘टिमका सबै खेलाडी सकारात्मक देखिन्छन् । प्रशिक्षकले नकारात्मक कुरा गर्दै गर्नुहुन्न । खेल जितेपनि अथवा हारेपनि सबैलाई साथ दिनुभएको छ,’ खेलपछि हुने एउटा पोस्टम्याच कन्फ्रेन्समा कुशलको प्रतिक्रिया थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध २ सय ७५ रनको लक्ष्य पछ्याउँदा दिपेन्द्रसिंह ऐरीले ८५ रन तथा कुशल मल्लले ८१ रनको योगदान गरे । नामिबियाविरुद्ध ३ विकेट लिएका सन्दीप लामिछानेले स्कटल्यान्डविरुद्ध पनि ३ विकेट हात पारे । 

लगातार दोस्रो जितपछि खेलाडी र प्रशिक्षक दुवै आत्मविश्वासी देखिएका थिए । तुलनात्मक रुपमा बलिङभन्दा ब्याटिङमा कमजोर देखिने नेपालले ब्याटिङबाटै खेल जितिरहेको हरकोहीले महसुस गरेका छन् । खेलाडीमा खेल जित्न सक्ने आत्मविश्वास जगाउन प्रशिक्षकको भूमिका रहेको खेलाडीहरु बताउँछन् ।

‘प्रशिक्षक मोन्टी देसाई एकदमै सकारात्मक हुनुहुन्छ । उहाँले जुनसुकै कुरालाई सकारात्मक रुपले लिनुहुन्छ तथा टिममा कसैले नकारात्मक कुरा नगरोस् भन्ने वातावरण बनाउनुहुन्छ । अहिले सबैजना सकारात्मक छन् । यसले हामीलाई हौस्याएको छ,’ दीपेन्द्र सिंह ऐरीले भने।

यता प्रशिक्षक देसाईले टिमको नतिजाले नै टिमको मानसिकता दर्शाउने र ‘ह्याप्पी ड्रेसिङ रुम’ लाई पुष्टि गर्ने प्रतिक्रिया दिए ।

‘हामी कथा लेख्‍न चाहन्छौ र खेलाडीहरुले यसका लागि आफ्नो भूमिका शतप्रतिशत निर्वाह गर्न उत्सुक छन् । ठूलो लक्ष्य भएपनि ड्रेसिङ रुममा उक्त लक्ष्य हासिल गर्न सक्छौँ भन्ने विश्वास लिएका छौँ,’ देसाई थप्छन् ।

तेस्रो खेलमा पुनः नेपालले नामिबियाविरुद्ध २ सय ७५ रनको लक्ष्य पूरा गर्दा आशिफ शेखले ८१ रन, ज्ञानेन्द्र मल्लले ६५ तथा कुशल मल्लले ६२ रनको योगदान गरे । सन्दीप लामिछानेले पुनः ३ विकेट हात पारे । बलिङमा सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहँदा ब्याटिङमा भने एकपछि अर्को खेलाडी नायकको रुपमा उदाइरहेका छन् ।

तेस्रो खेल जितेपछि आशिफ शेखले पनि टिमको वातावरण राम्रो भएका कारण ठूलो लक्ष्य पछ्याउन सफल भएको प्रतिक्रिया दिए । ‘हरेक खेलमा नयाँ नयाँ खेलाडीहरु जितका नायक बनिरहेका छन् । जसले गर्दा टिममा आत्मविश्वास बढेको छ,’ शेखले थपे ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि खेलाडीहरुमा परिपक्वता बढिरहेको र यसले खेल जिताउन सक्ने आत्मविश्वास बढेको बताउँछन् । पहिलो खेलमा नजमेका मल्लले दोस्रो खेलमा अर्धशतक बनाएर टिमलाई जिताएपछि जितको कारण पिच र प्रशिक्षक भएको बताएका थिए । मल्ल भन्छन् ‘ड्रेसिङ रुममा प्रशिक्षकले सहजता ल्याएदिएका छन् । सकारात्मक आत्मविश्वास जगाएका छन् । त्यसले पनि खेल जिताउनमा सहजता प्रदान गरेको छ ।  

नेपाली टिमका कप्तान रोहित पौडेलले सिरिजअघि देसाई प्रशिक्षकको रुपमा आएदेखि टिमको वातावरण एकदमै राम्रो रहेको र सबैजना उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

खेलाडी तथा प्रशिक्षकको भनाइ तथा मैदानमा टिमले देखाएको प्रदर्शन हेर्दा मोन्टी देसाईको ‘ह्याप्पी ड्रेसिङ रुम’ ले नेपाली क्रिकेटमा चमत्कार ल्याएको स्पष्ट देखिन्छ ।

यसै सिरिजका क्रममा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् भने सन्दीपले लिग-२ मा ५० विकेट लिने खेलाडी बनेका छन् । त्यसैगरी, कुशल भुर्तेलले शतक पूरा गर्दा आशिफ र ज्ञानेन्द्रले १ सय ३९ रनको कीर्तिमानी साझेदारी गरेका छन् ।

जितमा ह्याट्रिक गरे पनि नेपालको आगामी बाटो सजिलो छैन । नेपालले लिग-२ को विजेता स्कटल्यान्डसँग अझै एक खेल खेल्न बाँकी छ भने देशबाहिर पनि यही सिरिजका केही खेल खेल्न बाँकी नै छ । लिग-२ को अन्तिम तीन भित्र पर्न सके नेपाल विश्वकप क्वालिफायर खेल्न पाउनेछ भने शीर्ष ५ भित्र पर्न सके एकदिवसीय मान्यता पनि जोगाउन सक्नेछ । अहिलेको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नत्र भने नेपालले एकदिवसीय मान्यता जोगाउन लामो बाटो हिँड्नुपर्नेछ । यी सबै उपलब्धिका लागि पनि देसाईको ‘ड्रेसिङ रुम ह्याप्पी’ रहनुपर्नेछ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x