प्रदेश / स्थानीय सरकार

कर्णालीमा दोस्रो गैरसरकारी विधेक दर्ता

लक्ष्मी भण्डारी |
पुस २, २०७८ शुक्रबार ११:४८ बजे

सुर्खेत– कर्णाली प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान सञ्चालनका लागि पूर्व मन्त्री एवंम् प्रदेश सभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयक दर्ता गरेका हुन् ।

परम्परागत रुपमा गर्दै आएका कामलाई विज्ञान प्रविधिको प्रयोग मार्फत युग परिवर्तन गर्न विधेयक दर्ता गरिएको भण्डारीले जानकारी दिए । ‘अब्वल मस्तिष्क भएका व्यक्तिको पहिचान गरी वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन, प्रोत्साहन र कदर गर्ने र उनीहरुबाट विज्ञान तथा प्रविधि क्षेत्रमा नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार गराउन यो विधेयक आवश्यक भएको हो ।’


विज्ञान तथा प्रविधि क्षेत्रमा नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक एवं प्राविधिक जनशक्तिलाई परिचालन, प्रोत्साहन र कदर गरी आर्थिक समृद्धियुक्त खुशी समाज निर्माण गर्ने उद्देश्यले विधेयक दर्ता गरिएको भण्डारीले बताए । 

यो कर्णाली प्रदेशमा पेश भएका गैरसरकारी विधेयकमध्ये दोस्रो हो । यसअघि पहिलो विधयेकको रुपमा सांसद भण्डारीले नै सिंजा सभ्यतासम्बन्धी विधयेक संसदमा पेश गरेका थिए । संसदको भूमिकालाई प्रभावकारी बनाउनुका साथै सांसदको भूमिका ‘हुन्छ’ र ‘हुन्न’ भन्नेमा सीमित नरही विधेयक निर्माण गर्ने हो भन्ने सन्देश दिन खोजिएकोले पनि गैरसरकारी विधयेक दर्ता गरिएको भण्डारीले बताए । 

विधेयक कार्यान्वयन भएपश्चात् यसबाट नयाँ वैज्ञानिकको खोज गरी सरकारले उनीहरुको योजना खरिद गर्ने छ । खोज अनुसन्धानका लागि सरकारले उनिहरुलाई व्याज अनुदानमार्फत ऋण लगानी गर्ने छ ।
 


Author

थप समाचार
x