साहित्य

कविता

मलाइ बहस गर्नुछ

अच्युत कुइकेल |
माघ १५, २०७८ शनिबार १५:३८ बजे

मनमा भएका भाव सबै पोखेर
न्यायका तराजुहरूसामु,
न्यायमूर्तिका माझ
आज मैले फाइल खोल्नुपर्ने भएको छ ।।१।।

मेरो पक्षका चीत्कारहरू,
मेरा पक्षका क्रन्दनहरू
मेरो मुखबाट प्रस्फुटित हुनेवाला छ
फुर्सद भए तपाईं पनि आउनुहोस्
आज मलाई बहस गर्नुपर्ने भएको छ ।।२।।


मैले निःस्वार्थ भएर यथार्थ तथ्य राख्नेछु,
मलाई गैरव्यावसायिक नभनियोस्,
मलाई पक्षको हितमा काम नगरेको नसम्झियोस्,
म तटस्थ भएर तथ्यहरू राख्नेछु
किनकि मलाई न्याय चाहिएको छ ।।३।।

प्रमाणको मूल्यांकन अवश्य हुनेछ,
मेरो पक्षले न्याय पाउने आशा छ,
प्रमाणका आधारमा न्याय हुँदा,
खुसी भएको मेरो मनमा,
अझै आशा मरेको छैन ।।४।।

कसैले आजसम्म भन्नुपरेको छैन,
यो इजलासबाट न्याय परेको छैन,
कसुरको मात्रालाई न्यायको तुलोमा मिलाएर
निष्पादित न्यायको सम्मान गर्दै आएको छु ।।५।।

न्यायिक कर्ममा बसेर यथार्थ उदांगो पार्नेछु । 
भए भरका प्रमाणहरू यत्रतत्र फिँजाएर
न्यायका लागि याचना गर्नेछु ।
आउनुहोस् फुर्सद भए तपाई पनि
आज म इजलासमा बहस गर्नेछु ।।६।।

बनावटी कुराकानी हुने छैनन् मबाट केही,
आशा अनि भरोसा सबै तथ्य र प्रमाणमा हुनेछन् ।
कानुनी छिद्रहरूलाई उन्मुक्तिको आधार बनाउने छैन
न्यायिक समाज निर्माणको अभियन्ता म,
मेरो बहस सुन्ने भए
आउनुहोस् तपाईं पनि
भोलि इजलासमा म बहस गर्नेछु ।।७।।

न्यायको याचना गर्दै गर्दा आफ्ना तथ्य राख्नेछु,
कानुन र कसुरको शादृश्यमा तुलोको सन्तुलन मिलाउनेछु,
आफ्ना व्यावसायिक धर्मको रक्षा गर्दै
पक्षको हितका खातिर न्यायको दियो बोकेर हिँडनेछु ।
आउनुहोस् फुर्सद भए तपाईं पनि
भोलि इजलासमा म बहस गर्नेछु।।८।।
धन्यवाद ।

email : [email protected]


Author

थप समाचार
x