साहित्य

जन्मदिनमा आयो तीर्थको ‘नेपाल अध्ययन’

सुनीता साखकर्मी |
कात्तिक ४, २०७७ मंगलबार ११:५० बजे

काठमाडौं : सानामा ‘ए मस्त ढौबजी का वा’ भन्दै आमाले दही चिउरा खान बोलाएको वनस्पतिविद् एवं लेखक डा. तीर्थ बहादुर श्रेष्ठलाई अझै याद छ । सख्खरमा तिल घोलेर बनाएको लड्डुको स्वाद सम्झिँदा त अहिले पनि तीर्थको मुखमा पानी रसाउँछ । साथीसँगै महावौद्धको गल्लीमा बेपर्वाह कुदेका क्षण उनी कहिल्यै भुल्नै सक्दैनन् ।

यिनै तीर्थ सोमबार ८४ वर्ष लागे  । यसै उपलक्ष्यमा शिक्षक मासिकले तीर्थद्वारा लिखित ५१ वटा निबन्ध संग्रह ‘नेपाल अध्ययन(भाग २) वन, वनस्पती र प्राणी) तयार पारेको थियो । जसलाई सोमबार भर्चुअल रुपमै तीर्थ र उनकी पत्नी तिमिलाले लोकार्पण गर्दै आफ्नो बाल्यकालका स्मृतिहरू पनि सहभागीसँग साटे । महाबौद्धको गल्लीमा साथीहरू बटुलेर रमाइलो गरेका क्षणदेखि अहिले विद्युतीय माध्यमबाट पुस्तक लोकापर्णमा सहभागीहरूलाई देखेर खुसी व्यक्त गरे ।


‘मेरो पुस्तक लोकापर्ण कार्यक्रममा विद्युतीय माध्यमबाटै पनि यति धेरै सहृदयी  जमेको देख्दा जीवनमा के कमाएको रहेछु भन्ने थाहा भयो,’ उनले भने, ‘पुस्तक हातमा आएपछि मैले के छोडेर जाँदैछु भन्ने लागेको थियो ।’ 
तीर्थकै भाषामा भन्दा उनको यो पुस्तक मेचीदेखि महाकालीको अँगालोमा बाँधिएको नेपालको ‘टिपनटापन’ हो । २०७५ मा नेपालको भूस्वरुप, हावापानी र नेपालको स्पन्दन छामेर लेखेको पुस्तक ‘नेपाल अध्ययन भाग १, भूस्वरुप र हावापानी नखुलेका पाटाहरु’ सार्वजनिक भएको थियो । यसैको दोस्रो खण्डको रुपमा यो ‘नेपाल अध्ययन भाग २ वन, वनस्पती र प्राणी, पुस्तक आएको हो । ४०० पृष्ठको यस पुस्तकमा जैविक भाषाका साथै वन, वनस्पति र प्राणी जगतको संरक्षणको बारेमा लेखिएका निबन्ध संग्रहित छन् ।

तीर्थका अनुसार मानिसले प्रकृतिलाई पढ्ने हो । उनी भन्छन्, ‘जनावर, पशुपन्छिको प्रकृति पढ्नुपर्छ । त्यसबाट हामीले ज्ञान हासिल गर्नुपर्छ । प्रकृतितिर नजाने, विकृतितिर बढि जाने भएर कोरोना आउने भयो । प्रकृतितिरै फर्कियौँ भने कोरोनालाई पनि जित्न सक्छौँ । बिरालो, गिद्ध जस्ता पशुपन्छि हाम्रा शिक्षक हुन् ।’शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले लोकार्पण कार्यक्रममा बोल्दै तीर्थले हरेकपटक आफ्नो लेखमा अनुसन्धान गरी नयाँ सूचना, दृष्टिकोण दिने कोशिस गर्ने बताए ।

तीर्थले भंगेरा र गिद्दका बारेमा लेखेका निबन्धका बारेमा चर्चा गर्दै राजेन्द्रले भने, ‘हामीले जीवजन्तु, पशुपन्छिलाई सही ढंगबाट चिन्नै पाएको रहेनछौँ । हामी ठगियौँ । तीर्थका लेखले यो थाहा पाउन सहयोग गरे ।’

राजेन्द्रका अनुसार पुस्तक १३ वर्षदेखि शिक्षक मासिकमा लेखेका लेखहरूको संग्रह हो । संग्रहमा भएका निबन्धको प्रत्येक शब्द, विचार दुई, तीन पल्ट हेरिएको र दृष्टिकोण पनि चुक नहोस् भनेर सकेसम्म विज्ञानसम्मत दृष्टिकोण दिने कोशिस गरेको उनले बताए ।

प्रकृतितिर नजाने, विकृतितिर बढि जाने भएर कोरोना आउने भयो । प्रकृतितिरै फर्कियौँ भने कोरोनालाई पनि जित्न सक्छौँ ।

वरिष्ठ पत्रकार कनकमणि दीक्षितका अनुसार नेपालमा हरियो वन नेपालको धन भनेर सिकाए पनि वन सुकेर गइसकेको छ । किनकि हरियो वन नेपालको धन पछि रहेको विज्ञानको सन्दर्भ, वनस्पतिको विविधता, जलचर, जंगली जनावरको बारेमा धेरै लेखिएको छैन । ‘यसबारे लेख्ने को छ भनेर खोज्दा एउटा नाम तीर्थको पाएँ,’ कनकमणिले भने, ‘उहाँको लेखनमा विविधता छ । यस पुस्तकलाई विद्यालय, कलेजमा सन्दर्भ सामग्रीमा समावेश गर्न आवश्यक छ ।’ तीर्थको लेखनले आम नागरिकलाई नेपालको पशपन्छी, जनावरको बारेमा सचेत गर्दै ज्ञानको भण्डारलाई फराकिलो पार्ने त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा बताउँछन् ।

बरिष्ठ पत्रकार भैरव रिसाललाई तीर्थ अनौठो लाग्छ । किनकि वन विषयको विद्यार्थी तीर्थले विज्ञान, ज्ञान र प्रविधिलाई जनतामा लगेका छन् । भैरव भन्छन्, ‘तीर्थले भंगेरा, गिद्धका मात्रै कुरा गर्दैनन्, झुसिलकिरा र कन्सुत्लोको बारेमा पनि कुरा गर्छन् । मेरो गुरु हो, तीर्थ । मैले केही लेख्नपर्‍यो भने उनैलाई सोध्छु ।’ 

कार्यक्रममा थुप्रै वक्ताले तीर्थको पुस्तक विद्यालय तथा कलेजका तहमा पाठ्यक्रम भित्रै राखिनुपर्नेमा जोड दिए । तर, यो पुस्तक त्यसरी पाठ्यक्रममा समावेश होला भन्ने  शिक्षाविद् विद्यानाथ कोइराला भने फिटिक्कै आश छैन  । उनी भन्छन्, ‘नेपालमा पाठ्यपुस्तक राख्नु प¥यो भने विदेशीले भन्नुपर्छ । शिक्षाका क्षेत्रमा काम गर्नेहरूको चिन्तनको घेरा साँघुरो छ । बरु पुस्तकालयमा भने राखिन सक्छ ।’

विद्यानाथका अनुसार अहिले विद्यालयमा खालि किताब मात्र पढाइन्छ । तर, तीर्थले भने शिक्षाको यो घेरा तोडिदिएको विद्यानाथको दाबी छ । ‘तीर्थले जहाँ खोज्यो, त्यहाँ पढाइ छ । एउटै जीवको पनि साँंस्कृतिक, सामाजिक, धार्मिक, प्राणी शास्त्रीय पक्ष केलाएर बहुआयामिक चिन्तन गर्न प्रेरित गर्छन्,’ उनी भन्छन्, ‘पाठ्यपुस्तकमा मात्रै नभई आफू, आफ्नो पूर्खा र आफू वरिपरिमा खोज्न सुझाउँछन् । यसबाट सबैले शिक्षा लिनुपर्छ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x