साहित्य

भुइँमान्छेका कथाको शाब्दिक डकुमेन्ट्री `चस्मा´

इकागज |
असार २५, २०८० सोमबार २०:१८ बजे

भरतपुर- चितवनका कवि चन्द्रप्रकाश कँडेल विवेकीको ‘चस्मा’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । चितवन साहित्य परिषदको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गरेका हुन् ।

भरतपुर-४ त्रिचोक निवासी कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा ५५ वटा कविता छन् । राज्य र समाजले किनारा लगाएकाहरूको पीडा, संवेदना, राजनीतिक विसंगति, विकृतिलगायतका प्रसङ्गलाई कविले कवितामार्फत उतारेको वक्ताहरूले बताए । पुस्तकका सन्दर्भमा डिआर पोखरेल, उदय अधिकारी र भूपिनले बोलेका थिए । 'विवेकीका कविता वैचारिक रूपमा प्रष्ट छन्,' समीक्षक उदय अधिकारीले भने, 'हेपिएकाहरूका कथा व्यथालाई उनले कवितामा उतारेका छन् ।'


‘चस्मा’ मूलतः भुईँमान्छेका कथा र राज्यप्रति उनीहरूको आक्रोस र ब्यङ्ग्यको शाब्दिक डकुमेन्ट्री भएको भूपिनले बताए । 'एक कवि कसरी बजार हल्लाबाट टाढा रहेर चुपचाप काव्य साधना गर्छ ? त्यसको सुन्दर उदाहरण हो चस्मा,' भूपिनले भने ।

प्रमुख अतिथि गोविन्दराज विनोदीले विवेकीले चस्मा कवितासङ्ग्रहमार्फत आफू बाँचेको समाज र जीवनको संघर्षशील समयलाई सुरुचिपूर्ण शैलीमा उतारेको बताए । कार्यक्रममा कवि विवेकीले केही कविता वाचन गरेका थिए । सम्पूर्ण किताब वितरक रहेको पुस्तकको मूल्य ३०० रुपैयाँ छ ।


Author

थप समाचार
x