साहित्य

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

इकागज |
चैत ३०, २०७९ बिहीबार १९:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली लेखक संघद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

संघको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका सचिव अनुपमा रेग्मीले जानकारी दिए ।  उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । । 


संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।

विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस  मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ । 
रासस


Author

थप समाचार
x