साहित्य

५ हजारमै पढ्नुस् नेपाली साहित्यका यी ५० कालजयी कृति

सदिक्षा आचार्य |
पुस २९, २०७९ शुक्रबार १६:१४ बजे

काठमाडौं– मन परेको लेखकको पुस्तक किन्न जाँदा पाठकले आजभोलि मुटु र गोजी दह्रो लिएर जानुपर्छ । किनकि आर्थिक संकट चुलिएका बेला अचेल निस्किरहेका किताबको मोल एक हजार रुपैयाँ हाराहारी छ । साझा प्रकाशनले पनि अहिले मोटा किताब, मोटै मोलमा छाप्न थालेको छ । तर, साझाको प्रदर्शनी अवलोकन गर्दा पाठकको चाहना पुरानै किताबतिर धेरै देखिन्छ ।

पुराना धेरैजसो किताब आकारमा साना छन् । ती कम मोलका पनि छन् । कम मोलका किताब मूल्यवान् छन् । तर, बढी मोलका किताब बढी मूल्यवान् छन् त ? थोरै छन् यस्तो त । 


प्राइस (मोल) र भ्याल्यु (मूल्य) बीच विपरीत सम्बन्धजस्तो हुने रहेछ । प्राइसलाई नेपालीमा मूल्य भन्ने चलन चले पनि त्यो मूल्य हैन, मोल मात्र हो । मूल्य अथवा भ्यालु त पुस्तकको आयु र आत्मा हो । नेपाली साहित्यका कालजयी भन्न मिल्ने कृति थोरै छन् ।

यहाँ हामीले विभिन्न पुस्तक बिक्रेताहरूले दिएको लिस्ट, पाठकहरूसँगको कुराकानी तथा इकागज न्युज टिमसँगको छनौटका आधारमा केही पुस्तक छानेका छौँ । छान्दा कम माेल र बढी मूल्यका किताब परुन् भन्नेमा ध्यान दिएका छाैँ ।

यी नै किताब मात्र उत्कृष्ट भन्ने दाबी यो होइन । यो सूची समालोचक र गम्भीर पाठकका लागि पनि होइन । नेपाली साहित्यप्रति रुचि भएका वा हुन सक्ने वा हुनुपर्ने तर पुस्तक छनौट गर्न नसकिरहेका ‘नयाँ पाठक’का लागि हो । 

यो सूचीमा दिवंगत लेखकका कृति मात्र समावेश गरिएको छ । दिवंगत लेखकहरू यो आत्मप्रचारको जमानामा गयल छन् । उनीहरू सोसल मिडियामा छैनन्, आफ्ना प्रशंसाहरू सेयर गर्न सकिरहेका छैनन् । जीवित लेखकले आफैँ प्रचार र विज्ञापन गर्न सक्ने, अन्तर्वार्ता दिन सक्छन् । तर, जीवित लेखकका पनि राम्रा किताब पढ्न अनुरोध छ । मोल अलिकति बढी भए पनि राम्रा किताब सबैका पढ्नु नै पर्छ ।

सस्तोमा सार्थक किताब कसरी छान्ने भन्ने प्रश्नको जवाफमा मात्र यो सामान्य सूची बनाइएको हो ।

पाँच-सात हजार रुपैयाँ जति खर्च गर्नुभयो भने पाठकहरूले पचासवटा जति किताब किन्न सक्नुहुने रहेछ । नेपाली साहित्यको पठन छरिता, सजिला, साना, सस्ता, सार्थक, सदाबहार, सुन्दर कृतिबाट गर्दा नयाँ पाठकहरूलाई सजिलो हुनेछ । र, नयाँ नयाँ पाठकहरूले नयाँ लेखकलाई परोक्षमा भन्नु पनि हुनेछ- कृति राम्रो आकारले हुँदैन, त्यसको आत्माले हुन्छ । किताब सानो होस् वा ठूलो, तर पाठकको मनमा छाप छोड्न सक्ने होस् । 

प्रस्तुत छ, नेपाली कथा, उपन्यास, कविता, निबन्ध, नाटकका मानक मानिएका केही किताब :

उपन्यास-कथा 

नासो (गुरुप्रसाद मैनाली) — १६० रुपैयाँ 
विश्वेश्वरप्रसाद कोइरालाका छ उपन्यास र दुई कथा– ८५० रुपैयाँ 
पल्लो घरको झ्याल (गोविन्दबहादुर मल्ल ‘गोठाले’) – १३५ रुपैयाँ
अनुराधा (विजय मल्ल) — १७० रुपैयाँ
अविरल बग्दछ इन्द्रावती (रमेश विकल) — २८० रुपैयाँ
शिरीषको फूल (पारिजात)– ११० रुपैयाँ
आज रमिता छ (इन्द्रबहादुर राई)— २३० रुपैयाँ
खैरिनीघाट (शङ्कर कोइराला)— २० रुपैयाँ
वसन्ती (डायमनशमशेर) – २२० रुपैयाँ
घामका पाइलाहरू (ध. च. गोतामे) – ३०० रुपैयाँ 
चपाइएका अनुहार (दौलतविक्रम विष्ट) — २०० रुपैयाँ 
गुनकेशरी (भवानी भिक्षु) – ४५ रुपैयाँ 
(भिक्षुको ‘आगत’ उपन्यासलाई ८ सय रुपैयाँ पर्छ तर सुन्दर छ)
सर्पदंश (तारिणीप्रसाद कोइराला) — २७५ रुपैयाँ 
माधवी (मदनमणि दीक्षित) – ७०० रुपैयाँ
आँखीझ्याल (पोषण पाण्डे) — ४३ रुपैयाँ 
द्वन्द्वको अवसान (राजेश्वर देवकोटा) – १६५ रुपैयाँ
नेपाली दन्त्यकथा (बोधविक्रम अधिकारी) – १३० रुपैयाँ
तिम्री स्वास्नी र म (मनु ब्राजाकी) – १५० रुपैयाँ​​
सोधाइ र जवाफ(बालकृष्ण पोखरेल)- १२रुपैयाँ 
कारागार (वानीरा गिरि) — १८० रुपैयाँ
प्रत्येक ठाउँ प्रत्येक मान्छे (पिटर जे. कार्थक) – २९ रुपैयाँ

कविता  

भानुभक्तको रामायण र सबै कृति (भानुभक्त आचार्य) –२७५ रुपैयाँ
तरुण तपसीऋतुविचार (लेखनाथ पौड्याल)– २६५ रुपैयाँ
मुनामदन (लक्ष्मीप्रसाद देवकोटा) – ४५ रुपैयाँ 
लक्ष्मी कवितासङ्ग्रह (सं. चुडामणि बन्धु) – २४० रुपैयाँ
उर्वशी (सिद्धिचरण श्रेष्ठ) – ६४ रुपैयाँ
आमाको सपना (गोपालप्रसाद रिमाल) – ११० रुपैयाँ
गौरी (माधव घिमिरे) — ६५ रुपैयाँ
घुम्ने मेचमाथि अन्धो मान्छे (भूपी शेरचन) – १२० रुपैयाँ 

निबन्ध 

लक्ष्मी निबन्धसङ्ग्रह (लक्ष्मीप्रसाद देवकोटा) – २४० रुपैयाँ
भैरव अर्यालका काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री दश औतार – ४५० रुपैयाँ
एब्स्ट्रयाक्ट चिन्तन : प्याज (शङ्कर लामिछाने) – ७३ रुपैयाँ 
बेलाइततिर बरालिँदा (तारानाथ शर्मा) – ३०० रुपैयाँ

नाटक

मुकुन्द इन्दिरा (बालकृष्ण सम)– १५० रुपैयाँ
मसानयो प्रेम (गोपालप्रसाद रिमाल) – १६५ रुपैयाँ
कोही किन बरबाद होस् (विजय मल्ल) – ७० रुपैयाँ 
गङ्गालालको चिता (हृदयचन्द्रसिंह प्रधान) –६५ रुपैयाँ 
वैकुण्ठ एक्सप्रेस (मोहनराज शर्मा) – ४६ रुपैयाँ
वासु शशीका नाटक – १०३ रुपैयाँ 

र, सस्तोमा पाइने छुटाउन नहुने गैरसाहित्यकाे एउटा किताब 
विचार विज्ञान (खप्तड बाबा) : १२५ रुपैयाँ 

(माथि दिइएकाे माेल किताबमा अंकित हाे । यसमा पुस्तक बिक्रेताहरूले यहाँहरूलाई छुट पनि दिनेछन् । छुट माग्न नभुल्नुहाेला ।)


Author

थप समाचार
x