साहित्य

एकै साता डेढ दर्जन साहित्य सम्मान

आँचलद्वारा १० र मातृभूमिद्वारा ८ स्रष्टा सम्मानित हुँदै

सरिता दाहाल |
असार २२, २०७९ बुधबार १९:६ बजे

मकवानपुर- अघिल्लो साता खेलकुदमय भएको मकवानपुर आगामी साता साहित्यमय हुने भएको छ । राष्ट्रियस्तरको, जिल्लास्तरको र पालिका स्तरको खेलकुदको गतिविधि सकिएका छन् । आगामी साता मकवानपुरको विभिन्न साहित्यिक संस्थाहरुले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्दै छन् । जस अन्तरगत डेढ दर्जन साहित्यकारहरू सम्मानित तथा पुरस्कृत हुने छन् ।  

पुरस्कार स्वरुप मात्रै झण्डै सवा २ लाख नगद हस्तान्तरण हुने भएको छ । मातृभूमि साहित्य समाज र आँचल साहित्य कला पुञ्जले क्रमशः ८ र १० जनालाई सम्मान गर्ने भएका छन् । मातृभूमिले ८ जनालाई १ लाख ३५ हजार नगद सहित सम्मान गर्ने भएको छ भने आँचलले ८२ हजार ३ सय नगदबाट १० जनालाई सम्मान हस्तान्तरण गर्ने भएको छ ।


मकवानपुर जिल्लामा रहेको नारी साहित्यकारहरूको एक मात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई आँचलले सम्मान गर्न लागेको हो । 

मातृभूमि साहित्य समाज मकवानपुरले गर्ने सम्मान साहित्यकार तथा गीतकार श्रवण मुकारुङदेखि मोफसलका उदमान युवासम्मलाई प्रदान गरिनेछ ।

समाजका अध्यक्ष माधव पोख्रेलका अनुसार  साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई महालक्ष्मी साहित्य पुस्स्कारबाट सम्मानित गर्न लागिएको छ । मकवानपुरको अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुस्स्कारबाट मुकारुङ सम्मानित हुने भएका हुन् । ५१ हजार रुपैयाँ राशीसहित उक्त पुरस्कार मुकारुङलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।

पोख्रेलका अनुसार २४ र २५ असारमा हेटौंडामा हुने साहित्यिक कार्यक्रममा यि पुरस्कार र सम्मान हस्तान्तरण गरिने छ । मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरिएको केशबलाल स्मृति मातृभुमि पत्रकारिता पुरस्कार २०७८ पत्रकार राममणि दाहाललाई प्रदान गरिने भएको छ । पत्रकार दाहाललाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।

यसै गरी मातृभूमि साहित्य समाजले भाषा साहित्य कलालगायतका विभिन्न विधाका ६ जनालाई समेत पुरस्कार प्रदान गर्ने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हो ।

समाज अध्यक्ष पोखरेलका अनुसार हातेमालो मातृभूमि युवा सृजनशील २०७८, गायिका सुनिता बुर्लाकोटी लुईटेल (हेटौंडा) र समाजका पुर्व अध्यक्ष राजबाबु पहाडी द्वारा स्थापित झलक बहादुर बानियाँ जीवन संघर्ष पुरस्कार मातृभूमि सम्मान, २०७८ हेटौडा १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालय कक्षा ७ की विद्यार्थी सृजना लोलाई प्रदान गरिनेछ । लुईटेललाई १० हजार रुपैयाँ र लोलाई ६ हजार ५ सय रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको हो ।

यसैगरी, आशिष श्रेष्ठले बुवाको नाममा स्थापना गरेको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ समाजसेवी सिद्धिलाल श्रेष्ठ अ(हेटौंडा), समाजका उपाध्यक्ष कृष्ण प्रसाद दहालद्वारा बुवाको नाममा स्थापित इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुषमा केसी श्रेष्ठ (काठमाडौं), अर्चना रिजालद्वारा आहना श्रीमानको नाममा स्थापित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ गोकुल लाल श्रेष्ठ (मकवानपुर) र  निरा गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने भएको छ । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।

यसैगरी आँचल साहित्य कला पुञ्जले पनि २५ असारमा साहित्यिक कार्यक्रम गरेर विभिन्न १० विधाको पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ । पुञ्जले कोभिड–१९ का कारण २०७८ सालमा कार्यक्रम गर्न सकेको थिएन । यसवर्ष २०७८ को सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको आँचल अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गर्न लागिएको उनले बताईन् । 

आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको हो । २०७९ असार २५ गते हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गर्ने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । सापकोटाका अनुसार आँचलले बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानबाट साहित्यकार तथा कवि तीर्थदेवी सिलवाललाई १० हजार राशी र सम्मानपत्रसहित सम्मान गरिने निर्णय गरेको हो । 

यसैगरी प्रतिभा धिताल छन्द पुरस्कार २०७८ बाट झापाकी साहित्यकार भुषिता बशिष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशी पनि १० हजार रहेको छ । यसैगरी ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७८ बाट मकवानपुर जिल्लाको पत्रकार कृष्णराम परियारलाई प्रदान गर्ने निर्णय भएको छ । ७ हजार ७ सय ७७ राशीसहित सम्मानपत्र रहेको यो पुरस्कार अग्रज पत्रकारहरु कौशल पाण्डे, प्रताप विष्ट, नवराज शर्मालाई प्रदान गरिसकिएको सचिव सापकोटाले बताइन् ।

यसैगरी टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार २०७८ बाट हेटौँडा निवासी  कवि तथा निबन्धकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशी ११ हजार १११ रहेको छ । 

यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०७८ बाट चितवन जिल्ला निवासी कवि सरिता तिवारीलाई प्रदान गरिने भएको छ । यो पुरस्कार राशी १५ हजार रहेको छ । 

यसैगरी १० हजार राशीको सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ मकवानपुरका स्रष्टा छवि अनित्यलाई  प्रदान गर्ने निर्णय भएको छ भने ५ हजार राशीको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई प्रदान गरिने भएको छ । 

यसैगरी ५ हजार राशीको खड्ग बनस्खण्डी प्रतिभा सम्मान  २०७८ रामचन्द्र आचार्य फुर्सदीलाई समर्पण गरिने भएको छ । आँचल साहित्य कला पुञ्जले मंलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान २०७८ उदयमान नवप्रतिभा ऋत्विक के.बी. लाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी ३ हजार ५ सय रहेको छ । यसैगरी आँचल साहित्य कला सम्मान २०७८ बाट खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पुर्‍याउने भलिवल खेलाडी प्रहरी निरीक्षक चुडा खड्कालाई पुरस्कृत गर्ने भएको छ । यो पुरस्कारको राशी ५ हजार रहेको छ ।

कार्यक्रममा साहित्य वाचन समेत हुने जनाइएको छ । मातृभूमिको कार्यक्रममा मकवानपुरे साहित्यकार किशन पौडेलको लघुकथा ‘खुसी’ को गृह बिमोचन तथा पुस्तकको सक्षिप्त चिनारी कार्यक्रम पनि गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।


Author

थप समाचार
x