जीवनशैली

साइक्लिङबाट समाज बदल्दै युवतीहरू

नीरज लवजू |
जेठ १७, २०८० बुधवार १५:१५ बजे

काठमाडौं । तिनताका साइकल चलाउने केटीहरूको सङ्ख्या नगण्य थियो । कोही केटी मान्छेले कतै साइकल चलाएको देखे मानिसहरू कुनै अनौठो कुरा देखे जस्तो गरी क्वारक्वार्ती हेर्थे । तराईका जिल्लामा महिलाले साइकल चलाउनु कुनै नयाँ दृश्य नभए पनि काठमाडौँ उपत्यकामा साइकल चलाउनेमा महिलाको सङ्ख्या निकै कम थियो । आजभन्दा झन्डै १५–२० वर्षअघिको अवस्था चित्रण हो यो । 

भक्तपुर, वाचुत्वकी कृष्णशोभा कुस्माले भने कक्षा ५ पढ्दै ताका नै साइकल चलाउन सिकिन् । ‘उतिबेला आजभोलि जस्तो गियर भएका सजिला र आरामदायी साइकल कहाँ पाउनु,’ उनले भनिन्, ‘साइकलमा न हिजोआज जस्तो गियर हुन्थ्यो न बस्ने ठाउँ नै आरामदायी हुन्थ्यो । बस्ने सिट त सुकेको छालाजस्तो कडा न कडा हुन्थ्यो ।’ भारतमा बनेका त्यस्ता साइकलमै कृष्णशोभाले साइकल चलाउन सिकिन् । तर, उनले कुनै रहर पुरा गर्न साइकल सिकेकी थिइनन् । 


‘खेतबाट घर, घरबाट खेतमा सामान ओसारपसार गर्न साइकल सिकियो । घरमा कसैले साइकल चलाउन जानेका थिएनन्,’ कुस्म भन्छिन्, ‘खेतीपातीका सामान बोक्न गाह्रो हुन्थ्यो । त्यही भएर सामान ओसार्न साइकलको ह्यान्डिल समाउन सिकेँ ।’ उनले साइकलबाटै धेरै सामान पनि ओसारपसार गरेको अनुभव सुनाइन् । मिहिनेत गर्दै बिस्तारै साइकल आफै चलाउन सिकेको भक्तपुरका साइकल प्रेमी युवाहरूको समूह साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको केटीहरूलाई साइकल सिकाउने प्रशिक्षण शिविर ‘साइकल मैँचा’ मा भेटिएकी कुस्माले भनिन् ।

भारी ओसार्न साइकलको ह्यान्डिल समाएको धेरै समय पछि मात्र उनले आफै साइकल चलाउन सिकेकी थिइन् । ‘सुरुमा त साइकलको ह्यान्डिल र सिट जोड्ने रडमुनि खुट्टा बङ्ग्याएर साइकल चलाउन सिकियो । पछि आत्मविश्वास बढ्दै गए पछि सजिलै साइकल सम्हाल्न र चलाउन सिकियो ।’ कृष्णशोभाले सुनाइन् । 
समय बद्लियो । अवस्था हिजो जस्तो आज रहेन । कृष्णशोभाले साइकल चलाएको देखेर छड्के आँखाले हेर्ने समुदायका छोरीहरू आज साइकल सिक्न आतुर छन् । साइकल सिक्न इच्छुक केटीहरूको सङ्ख्या अझ बढ्दो छ । 

विगत दुई वर्षदेखि साइकल सम्बन्धी नियमित गतिविधि गर्दै आएको साइकल कनेक्ट भक्तपुरले आफ्ना हरेक गतिविधिमा महिला सहभागिता न्यून देख्यो । ‘सबै इभेन्टमा छात्रको सङ्ख्या धेरै, छात्रा भने एकाध मात्र हुने । मुस्किलले १५ प्रतिशत मात्र केटीहरू आएको देखियो । देशको कुल जनसङ्ख्याको ५४ प्रतिशत ओगटेका महिलाहरू साइकलमा भने १५ प्रतिशत मात्र देख्दा चित्त बुझेन । अनि हामीले कारणको खोजी ग¥यौ’, साइकल अभियानमा सक्रिय रविना सुवालले भनिन्, ‘धेरै केटी साथीहरू साइकल चलाउन चाहेर पनि चलाउन नजान्दा यस्ता गतिविधिमा नआएको हामीले देख्यौँ । त्यसपछि केटीहरूलाई मात्र साइकल सिकाउने कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यौँ । यसरी यो साइकल मैँचा कार्यक्रमको जन्म भएको हो ।’ 

साइकल मैँचाको पहिलो व्याचमा परीक्षण स्वरुप ५ जना केटीहरूलाई मात्र प्रशिक्षण दिइएको थियो । उनीहरूमध्ये पाँचै जना ढुक्कले साइकल चलाउन नजाने पनि सन्तुलनसम्म मिलाउन सक्ने थिए । उनीहरूलाई साइकलका केही प्राविधिक ज्ञान र आत्मविश्वास मात्र दिनुपर्ने थियो । भक्तपुरको महेश्वरी खेल मैदानमा हप्ता दिनको कक्षापछि उनीहरू साइकल राम्ररी चलाउन सक्ने भए । पहिलो व्याचकी प्रशिक्षार्थी सपना मगरले हप्ता दिनको प्रशिक्षणपछि सडकमा चलाउन सक्दा ज्यादै खुशी अनुभव गरिन् । ‘चलाउने आत्मविश्वास थिएन । ब्रेक र गियरको थोरै मात्र ज्ञान थियो । ४–५ दिनको प्रशिक्षण पछि हामी खुला सडकमा चलाउन सक्ने भयौँ । प्रशिक्षकहरूको हौसलाले पनि आत्मविश्वास बढ्यो’, मगरले भनिन् । 

साइकल मैँचाकै पहिलो व्याचमा थिइन् रितु कर्माचार्य । हप्ता दिनको प्रशिक्षणपछि अहिले उनलाई साइक्लिङ इभेन्टमा भाग लिने चाहना छ । साइकल चलाउन सक्दा आफूले केही भए पनि स्वाधीन अनुभव गरेको उनले बताइन् । अहिले उनी प्रशिक्षणमा अन्य प्रशिक्षार्थीहरूलाई सिकाउन नियमित शिविरमा आउने गरेकी छन् । 
साइकल कनेक्ट भक्तपुरले केटीहरूलाई पनि साइकल चलाउन सिकाउने निधो गरेर अनलाइन फाराम सार्वजनिक गरेको केही दिनमै सयौँले फारम भरेको प्रशिक्षक रविना सुवालले सुनाइन् । अनलाइन फाराम आवेदन बन्द गरेपछि केही छात्राहरूले व्यक्तिगत रूपमा भेटेरै पनि प्रशिक्षणमा सामेल हुने चाहना देखाए । केटीहरूको चासोले साइकल मैँचा आयोजकलाई उत्साहित बनाएको छ ।

“अहिलेलाई हामी एक सय जना केटीहरूलाई प्रशिक्षण दिनेछौँ । पछि आवश्यकताअनुसार यो कार्यक्रमलाई निरन्तरता दिने सोच छ”, उनले भनिन् ।  रविना आफैँ पनि नियमित साइकल चलाउँथिन् । दैनिक आवतजावतको निम्ति र विभिन्न ठाउँमा घुम्न पनि उनी साइकलमै जान रुचाउँछिन् । 

महेश्वरी खेल मैदानमा पेडल घुमाउन सिक्दै गरेका छात्राहरूलाई हौसला दिँदै गरेका भेटिए साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बाला । पेशाले इन्जिनियर उनी साइकललाई मानिसको जीवनचर्यासँग जोड्न केही न केही सिर्जनात्मक सोच बोकेर हिँडिरहेका हुन्छन् । साइकलप्रति उनको सोच भने अझ फराकिलो छ । उनी साइकल चलाउनुलाई मात्र सौख वा रहरको रूपमा लिने पक्षमा छैनन् । 

मानिसले दैनिक जीवनमा विद्युतीय उपकरणको अत्याधिक प्रयोग गर्न थालेसँगै सामाजिक सम्बन्ध र व्यक्ति–व्यक्तिबीचको सम्बन्ध खुकुलो बन्दै गएको उनको ठम्माई छ । मानिसलाई समाजप्रति मेरो पनि केही दायित्व छ भन्ने कुरा लाग्न छोडेका अवस्थामा मानिसलाई समाजसँग जोड्ने सेतु साइकल हुन सक्ने बालाको भनाइ छ । 

समूहमा साथीहरूसँग साइकल चलाउँदा मानिसले समाज बुझ्छ समाजले उसलाई बुझ्ने उनी दाबी गर्छन् । मनोवैज्ञानिक समस्या पनि समाधान हुँदै जाने हुँदा साइकलको बहुआयामलाई खोतल्न नियमित साइकलसम्बन्धी गतिविधि गरिरहन्छन्, सुमित र साथीहरू । 

भक्तपुरका आजभन्दा झन्डै तीन दसकअघि इन्दिरा लाछिमस्युले धिमे बाजा बजाउँदा धेरैले केटीले पनि धिमे बजाएकोमा आश्चर्य पोखेका थिए । कतिले त बद्ख्वाई समेत गरे । तर, समयान्तरमा केटीले धिमे बजाउनु सामान्य र स्वाभाविक बन्दै गयो । आज भक्तपुरमा धिमे बाजा बजाउने समूहमा केटी धिमेबादकको कुनै कमी छैन । बरु कुनै समूहमा केटी धिमेबादक नहुँदा नसुहाएको जस्तो देखिन्छ । 

साइकल चलाउने केटीहरूको सङ्ख्या अझै न्यून छ । तर, शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यको लागि उपयोगी साइकल चलाउँदा खुशी हुने केटीहरूको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । साइकल अभियानमा जोडिएका सङ्घसंस्थाले यसमा अझ जोड गरे यो सामाजिक अभियानको पनि हिस्सा बन्ने अभियानकर्मीहरु बताउँछन् । साइक्लिङमा बढ्दो महिला सहभागिता नै समाजमा लैङ्गिक विभेद हटाउने यात्राकै पाइला हुने र यसले समाजलाई सन्तुलित र न्यायपूर्ण बनाउन कुनै न कुनै हिसाबले टेवा पु¥याउन सक्ने उनीहरुको दाबी छ ।


Author

थप समाचार
x