जीवनशैली

तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण

इकागज |
माघ १३, २०७९ शुक्रबार १४:३ बजे

काठमाडौं -  वसन्तपञ्चमीको अवसरमा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । माघ १२ अर्थात् बिहीबार काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित विशेष समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो ।

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।


शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।

साथै पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने पत्रकारमध्ये हिमालखबर पत्रिकामा कार्यरत पत्रकार अनिता भेटवालाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

अन्तरर्दृष्टि पुरस्कार समितिका सदस्य सुनिता थापाले सञ्चालन गरेको कार्यक्रममा पुरस्कृत शिक्षक मञ्जु सुवेदीले यस पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्न र सिकाइलाई समावेशी तथा प्रभावकारी बनाउन थप हौसला दिएको बताइन् ।

पत्रकार अनिता भेटवालले अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारले आफूलाई अपांगता भएका, समाजमा उपेक्षित तथा पछाडि पारिएका समुदायका विषयमा लेख्न थप जिम्मेवारी बढेको धारणा राखिन् ।

विद्यालयका प्राचार्य नारायण शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जनले दृष्टिविहीन विद्यार्थीको शैक्षिक गुणस्थर अभिवृद्धिका लागि नगरपालिकाका तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । पुरस्कार स्थापनाको उद्देश्यमाथि अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले प्रकाश पारेका थिए । 

अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र यदाकदा पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपञ्चमीका दिन प्रदान गर्ने गरिएको अन्तर्दृष्टि पुरस्कार समितिले जनाएको छ ।


Author

थप समाचार
x