अनियमितता

भ्रष्टाचार हुने देशको सूचीमा नेपालको सुधार भएपछि के भन्छिन् ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष प्रधानाङ्ग ?

इकागज |
माघ १६, २०८० मंगलबार १४:३ बजे

काठमाडौँ- विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपालले केहि सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले केहि सुधार गर्दै ११०औँ स्थानबाट १ सय ८ औँ स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार काठमाडौँमा सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८औँ स्थानमा रहेको जनाएको हो । सूचकांकमा डेनमार्क ९० अंकका साथ सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र ११ अंक प्राप्त गरि सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचिकृत भएका छन् ।


सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । कार्यक्रममा ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले गत वर्षको तुलनामा नेपालको अंकका केहि सुधार भएपनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायमै रहको बताइन् ।

उनले भ्रष्टाचारविरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी रहको बताइन् । प्रधानाङ्गले संसद्‌मा विचाराधिन रहेका भ्रष्टाचार विरोधी ऐन कानूनलाई फितलो बनाउने प्रयास रोक्नुपर्ने, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्धामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले माग गरेको बताइन् । त्यस्तै उनले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न माग गरिएको जानकारी दिइन् ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२औँ स्थानमा रहेको छ ।

र, यो पनि


Author

थप समाचार
x