वार्ता

‘१५ सिटमै सर्वसम्मत गरौं भन्‍ने हो’

अनिष भट्टराई |
कात्तिक ३०, २०७८ मंगलबार १५:४६ बजे

नेकपा एमालेको दशौं महाधिवेशन नजिकिँदो छ । मंसिर १०–१२ मा चितवनमा हुने महाधिवेशनमा एमालेका हालका सचिव पृथ्वीसुब्बा गुरुङ महासचिव पदका आकांक्षी हुन् । पार्टीमा भावनात्मक, वैचारिक, कार्यशैलीगत एकताका लागि आफू काम गर्न सक्षम र उत्साहित रहेकाले महासचिव पदमा इच्छा जनाएको गुरुङ बताउँछन् । गुरुङ उनै नेता हुन् जो तत्कालीन नेकपामा आएको विग्रहका कारण सरकार गुमाउन बाध्य बनेका थिए । मुख्यमन्त्री हुँदा संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै ओली सरकारको आलोचना गर्ने गुरुङ नेकपामा फाटो आएपछि ओलीले गरेको संसद विघटनको पक्षमा खुलेर समर्थन गरे । पछि सरकार गुमाएपछि उनलाई लागेको छ, ‘पार्टीमा एकता महत्वपूर्ण छ ।’ एकता कायम गर्न आफू महासचिवमा उठ्न चाहेको बताउने गुरुङसँग इकागजका अनिष भट्टराईले गरेको वार्ताको सम्पादित अंश प्रस्तुत छः 

एमालेको महाधिवेशनको तयारी कसरी चलिरहेको छ ? 
एमालेको महाधिवेशनका लागि महाधिवेशन मूल व्यवस्थापन कमिटी लागि परेको छ । कमिटीले अरु १२ कमिटी बनाएर क्रियाशील छ । २ नम्बर प्रदेश र सुदूर पश्चिम प्रदेशका केही जिल्लाबाहेक अरु सबै प्रतिनिधिको नाम आइसकेको छ । महाधिवेशनको तयारी अब लगभग अन्तिम चरणमा छ ।  


एमालेमा अब केपी ओली सर्वसम्मत अध्यक्ष हो ? 
सर्वसम्मत अध्यक्ष भनेर अहिले नै नभनौं । किनभने सर्वसम्मत रुपले पार्टीको नेतृत्व चयन गर्ने भन्ने चाहना अध्यक्षको छ । कुनै व्यक्तिलाई चित्त बुझेन भने उठ्न त पाउँछ नि । त्यही भएर अहिले नै सर्वसम्मत नभनौं । हाम्रो कुराचाहिँ व्यवहारिक रुपमा निर्विकल्प नेतृत्वमा जाऔं भन्ने हो । नेतृत्वको जिम्मेवारी, पदको बाँडफाँट अध्यक्षले मिलाउन सक्नु भयो भने १५ सिट नै सर्वसम्मत हुन सक्छ । अध्यक्षज्यूले अब कसरी विश्वस्त गर्नुहुन्छ, त्यसमा फरक पर्छ । केपी ओली अध्यक्ष हुने त १०० प्रतिशत नै सम्भावना छ ।

तपाईंको उम्मेदवारी कुन पदमा हो ? महासचिवमा इच्छा गर्नुभएको चर्चा कत्तिको सत्य हो ? 
मैले महासचिवमा इच्छा जाहेर गरेको साँचो हो । संगठन व्यवस्थापनका कुरामा समस्याहरु पहिचान गरेर संगठनात्मक प्रस्ताव तयार गर्दा पनि आफ्ना सुझावहरु राखेको थिएँ । यसरी संगठनात्मक सुझाव अरु कमरेडहरुले राखेको झैं मलाई लाग्दैन । पार्टी नेतृत्वलाई कसरी व्यवस्थित गर्ने, व्यवहारिक, वैचारिक, भावनात्मक, संगठनात्मक रुपले एकताबद्ध पार्टी बनाउन केही गर्न सक्छु भन्ने लागेर महासचिवमा इच्छा जाहेर गरिसकेको छु । महासचिव भनेको टिममा अध्यक्षको मुख्य मान्छे हो । अध्यक्षको सहमति भयो र मलाई अगाडि बढाउनुभयो भने म यो काम गर्न योग्य छु र एकदमै उत्साहित छु भनेर उहाँ (ओली) लाई भनेको छु । उहाँले ‘ल तिमी भइहाल्यो’ भनेर भनिसक्नु भएको स्थिति पनि छैन । मैले काम गर्न सक्छु भनेर चाहना राख्ने एउटा कुरा भयो । तर मूलभुत रुपमा पार्टी पदाधिकारीमा कसलाई कहाँ व्यवस्थापन गर्ने भनेको भोलिको दिनमा पार्टीलाई कस्तो बनाउने, मुलुकको समृद्धिको अभियानलाई कसरी बढाउने भन्ने कुरामा पक्कै उहाँकै दायित्व हो । त्यसैले उहाँलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने, महासचिव कसलाई बनाउने भन्ने पनि उहाँले नै हो । कसलाई के बनाउने भनेर उहाँले अहिलेसम्म केही भन्नुभएको छैन । 

एमालेमा पूर्वमाओवादी नेताहरु, १० बुँदे सम्झौताका पक्षधर नेताहरु र पुराना नेता सबैलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पार्टी नेतृत्वलाई कत्तिको छ ?
अहिलेको महाधिवेशन हाम्रो एकताको महाधिवेशन पनि हो । अहिले सम्भवतः सबै पदमा गुटबन्दीका आधारमा प्रतिस्पर्धा गर्ने परिस्थिति छैन । एउटै पार्टीभित्र गुटबन्दीका आधारमा चुनाव लड्नु भनेको पार्टीलाई नै विभाजनको दिशामा लैजानु हो । प्रतिस्पर्धा गर्ने तर स्वस्थ प्रतिस्पर्धा गर्ने भन्ने हो । अहिले एमालेमा पूर्वमाओवादीका नेताहरु, १० बुँदे सम्झौताका पक्षधर नेताहरु जो अहिले पार्टीमा क्रियाशील हुनुहुन्छ र एमालेकै नेताहरु गरी तीन धारका नेताहरु हुनुहुन्छ, यो कुरा साँचो हो । यी तीनै धारका नेताहरुलाई पार्टी नेतृत्वमा समावेश गर्नु जरुरी छ । त्यसकारण पार्टीमा तीन खालको प्रवृत्तिलाई व्यवस्थापन गरेर मात्र पार्टी साँचो रुपमा एकता कायम हुनसक्छ । सबै नेतालाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा अध्यक्ष कमरेडको हो । यो भूमिका निर्वाह गर्ने कुरामा हामीले के सहयोग गर्न सक्छौं, त्यसको लागि तयार नै छौं । केन्द्रीय कमिटीको १५ वटा सिटमा तीन धारकै नेताहरुलाई समावेश गरेर पार्टी सुदुढ, एकतापूर्ण भएर अघि बढ्नुपर्छ । यो काम मुश्किल छ तर पनि नगरी नहुने काम हो । 

विधान महाधिवेशनमा फरक मत राख्न नदिएझैं महाधिवेशनमा नेतृत्वले नचाहेका व्यक्तिलाई उम्मेदवारी नै दिन नसक्ने अवस्था पो सिर्जना गरिने हो कि ?
यो अति केन्द्रीयता र एकखालको निरंकुशता झल्कने कुरा हो । एउटा व्यक्तिले कुनै पदमा उम्मेदवारी दिन सक्दैन भन्ने कुन विधानमा लेखेको छ र ? विधान, सिद्धान्त, नीतिले त्यो भन्दैन । जो पनि उठ्न पाउँछ, सबै पदमा । हाम्रो लोकतान्त्रिक पार्टीले यस्ता कुरामा थुनछेक गर्ने, उठ्न नदिने कुरै छैन । पार्टीले त गर्न सक्दैन भने कुनै व्यक्ति विशेषले गर्न सक्ने कुरा पनि होइन । तर अर्को कुरा के हो भने पार्टीमा शिर एकातिर र जिउ एकातिर भएर पार्टीले गति लिन सक्दैन । अध्यक्षको आँट, हिम्मत, चाहना, आकांक्षाअनुसार चल्न सक्ने र पार्टीमा परिआउँदा अध्यक्षलाई धेरै कुरामा रचनात्मक सुझाव दिन सक्ने मान्छेहरुको एकदमै धेरै खाँचो छ । अध्यक्षको पहलकदमी, चाहनाले महाधिवेशनमा केही प्रभाव पार्छ भन्ने चाहिँ साँचो कुरा हो । 

महाधिवेशनपछि पार्टी कुन दिशामा बढ्ने देख्नुहुन्छ ? आगामी चुनाव पछि पार्टीको भविष्य कस्तो हुने आँकलन गर्नुहुन्छ ? 
पार्टी अब ऐतिहासिक र वैचारिक, भावनात्मक, मनोवैज्ञानिक र कार्यशैलीगत रुपमा एकताका साथ अघि बढ्छ । हाम्रो अबको आवश्यकता पनि त्यही हो । योभन्दा सशक्त, एकताबद्ध भएर बढ्नुपर्छ । सबै मोर्चामा चाहे त्यो स्थानीय तहको निर्वाचनको मोर्चा होस्, प्रदेश, प्रतिनिधिसभाको चुनावी मोर्चापछि सबै पक्षमा हाम्रो पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने हो ।

तीनै तहको निर्वाचन पनि नजिकिँदो छ । वाम गठबन्धनको पहलकर्ता तपाईं नै हुनुहुन्थ्यो । स्थानीय तह निर्वाचनमा अरु सबै ठाउँमा कांग्रेस–माओवादीको गठबन्धन रहे पनि लमजुङमा भने वाम गठबन्धन थियो । अब पनि वाम गठबन्धन ब्युँताउन सक्छु भन्ने लाग्छ ? 
२०७४ को स्थानीय निर्वाचनमा लमजुङमा वाम एकता गराएको हो । त्यति बेला हामीले गण्डकीका सबै जिल्लामा वाम एकता गर्ने सहमति भएको थियो । तनहुँ, स्याङ्जामा त लिखित सहमति नै बने पनि पछि त्यो कार्यान्व्यन हुन सकेन । बागलुङमा पनि साथीहरुसँग बसेर कुरा मिलाएका थियौं । म्याग्दी, कास्की, गोरखामा चाहिँ सहमति जुटाउन सकेका थिएनौं । म विरुद्ध गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव ल्याइँदै गर्दा मैले वाम गठबन्धनकै सरकार बनाऔं भनेर आग्रह गरेको थिएँ । तर केन्द्रको गठबन्धनले त्यसो हुन दिएन । अब गण्डकीमा वाम गठबन्धन गर्न सकिन्छ÷सकिँदैन भन्ने कुरा अहिलेको गठबन्धनमा भर पर्छ । कांग्रेसले त बूढो धर्म निभाउनैका लािग पनि गठबन्धन नगर्ला भन्ने सोचेको छु । माधव–प्रचण्डको आशा अब व्यवहारिक रुपमा कार्यान्वयन हुन सक्ला नसक्ला त्यो पनि अहिले नै भन्न सकिँदैन । एकता हुन सक्ने सम्भावना जीवितै छ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x