वार्ता

नियमित पशुपति धाउने एक कम्युनिस्ट कार्यकर्तासँग रोचक भलाकुसारी

नेपालका कम्युनिस्ट नेताहरू असफल !

लिलाराज खतिवडा |
असोज १६, २०७८ १२:४० बजे

पशुपतिनाथ मन्दिर परिसरमा एउटा रोचक कुराकानी जारी थियो । बेलाबेला यो कुराकानी दर्दनाक बन्दै थियो । अनि भावुक र भयानक पनि । तर कतिपय अवस्थामा कुराकानी विरोधाभाष प्र्रतीत हुन्थ्यो । उनले बडा जोसजाँगरसाथ निकैबेर मार्क्सवादी दर्शन छाँटे । पूँजी, अतिरिक्त पूँजी, श्रमको मूल्य, मालिक र दासको सम्बन्ध, समाजवाद, साम्यवाद, क्रान्ति, रक्तक्रान्ति र मुक्ति ... गर्दै उनको फेहरिस्त लामो बन्दै गइरहेको थियो । ध्यानपूर्वक उनलाई सुनियो ।

आखिर केही दशकदेखि आफ्नो मुलुकमा हामी यस्तैयस्तै कुरा सुन्दै आइरहेका थियौँ । हाल कतिपय नागरिकलाई यस्ता कुरा कर्कश लाग्नु स्वाभाविकै । मने, यस्ता कुरा सुन्दासुन्दा र कुरा सुनाउने नेताहरूको दोहोरो वा तेहरो चालढाल देख्दादेख्दा उनका कार्यकर्ताबाहेक अरु जनता चिढाएनन् भन्‍ने स्थिति मुलुकमा अब रहेन ।


यस लेखकलाई भने केहीबेर उनलाई झेल्नु कुनै महाभारत थिएन । केही दिनदेखि उनको एउटा कथा लेख्‍ने मुड तयार गरिरहेको थिएँ । अचानक उनलाई रोक्दै सोधेँ, ‘तपाईंको गोत्र के हो ?’ उनी रोकिन मानिरहेका थिएनन् । तर मैले सोही प्रश्न दोहोर्‍याउँदै उनलाई कसेँ । उनले लामो सास तानेर छाड्दै भने, ‘कौशिक । मेरो गोत्र कौशिक हो ।’

मैले फेरि सोधेँ, ‘अब कौशिक दर्शनका बारेमा केही बताउनुहोस् । मेरो बुझाइमा कौशिक एक प्रख्यात ऋषि थिए । तपाईं मलाई उनको दर्शन बताउनुहोस् ।’
उनी अक्मकिए । र, भने, ‘थाहा छैन !’

‘थाहा छैन ?’ म कस्सिएँ, ‘तपाईंले सात समुद्रपारीको कुनै यहुदी बूढाको दर्शन त खर्लप्पै खानुभएको रहेछ । तर आफ्नै पुर्खाको दर्शनबारे केही पनि बताउन सक्नुभएन । दोष चाहिँ कसलाई दिनुहुन्छ ?’ प्राय: घुमाउरो कुरा गर्ने उनले यसपटक स्पष्टभावमा भने, ‘कसलाई दिउँ दोष ? सायद म आफैँ दोषी छु । तर यहुदी भनेर कसैको समाज बदल्ने दर्शनलाई नकार्न पनि त सकिँदैन । जातको विचारसँग के सम्बन्ध ?’

मैले सोधेँ, ‘धर्मलाई अफिमको नशा परिभाषित गर्ने कमनिस्ट गुरुका चेला पशुपतिमा चाहिँ किन ?’उनले भने, ‘धार्मिक सहिष्णुताका लागि ! म अरु जस्तो कम्युनिस्ट होइन । नेपाली माटो सुहाउँदो कम्युनिजम यहाँ हुनुपर्छ जसको अभ्यास यहाँ अहिलेसम्म हुन सकेको छैन ।’
‘तपाईंलाई पशुपतितिर बरालिन पार्टीले नै खटाएको हो कि ?’ 

‘होइन, म स्वविवेकले पशुपति आएको हुँ । कम्युनिस्ट भए पनि मैले आफ्नो धर्म छाडेको छैन । बिगत केही वर्षदेखि म नियमित पशुपति आउने गर्छु ।’  
उनले कमिजभित्र हात हालेर जनै देखाए । 

‘यो विरोधाभास किन ? कि नेपालमा यस्तै हो ?’ उनलाई प्रश्न मेरो । ‘होइन, म नेपाल माटो सुहाउँदो कम्युनिजमको परिकल्पना गर्दछु । र, तदनुरुप अभ्यास पनि गर्दछु । मलाई दिनमा एक पटक पशुपति नआइ निद्रै लाग्दैन ।’ उनी हौसिए । 

आज म नेपाल कम्युनिस्ट पार्टी (माले)का वैकल्पिक पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीसँग छु । विभिन्‍न जनआन्दोलनहरूमा पुलिसको अत्यधिक कुटाइ र रबरका गोलीसमेत खाएका एक कट्टर कम्युनिस्टको जीवन-संघर्ष सुन्दा आङ सिरिङ्ग हुनु स्वाभाविक ।

उनले दाहिने हातको हत्केलो देखाउँदै भने, ‘यो दाग देख्नुभयो ? २०६२ सालको जनआन्दोलनमा गोंगबुमा पुलिसले छेडेको । बन्दुकको नालले छेडेर उसले मेरो गरिखाने हत्केलो आरपार गरिदिएको थियो ।’ उनको हत्केलामा घाउको एउटा गहिरो दाग थियो । त्यसपछि उनले देब्रे खुट्टाको पाइन्टमाथि सारे । 

त्यहाँ घाउका खाटाहरू देखाउँदै उनले सुनाए, ‘यो रबरको गोली लागेको । यी पुलिसले कुटेका घाउका दाग हुन् । गोंगबुको उक्त विशाल जनआन्दोलनमा मेरो जवान छोरो प्रकाशको समेत नाकमा गोली लागेको थियो ।’ 

उनी गर्वसाथ के बताउँछन् भने, २०३९ सालमा चितवनको टाँडी क्याम्पसमा आइए पढ्दादेखि उनले पुलिसको कुटाइ खान थालेका हुन् । २०४६ को आन्दोलनमा पनि निकै दु:ख पाए । जागृतप्रसाद भेट्वालसँगै आन्दोलनमा सक्रिय उनलाई त्यतिबेला अरु आन्दोलनकारीसँगै एक हप्तासम्म प्रहरीले पक्राउ गरेर यातना दियो । बहुदल आएपछि अरुसँगै उनी पनि छुटे ।

स्टोन आँखाले चारैतिर हेर्दै उनी मुस्कान मिसाएर भन्छन्, ‘आन्दोलन र पुलिसको कुटाइ नै आफ्नो जिन्दगी हो कि जस्तो पनि लाग्थ्यो । तर होइन रहेछ । मुक्तिको पथमा यो सब सामान्य हो । साथीभाइ यहाँ मुक्तिका लागि सहीद नै भएका छन् । यति चोट त म सजिलै पचाइदिन्छु ।’     

उनको राजनीति नौ कक्षामा पढ्दादेखि नै सुरु भयो । २०४२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि २०३६ सालको आन्दोलनमै उनी राजनीतितर्फ आकर्षित भएका थिए । कुरो नबुझेरै पनि उनी त्यतिबेला अखिलको स्कुल लेभल सचिव चुनिए । तर घरमा रडाको भयो । 

‘छोरो कम्युनिस्ट भयो । अब यसले छोरीबुहारी भन्दैन । धर्म मान्दैन । यो पतीत भयो ।’ भनेर परिवारले लखेटे । त्यतिबेला उनी १४ वर्षका थिए । उनले घर छाडे । अनि सुरु भए उनका कठोर संघर्षका दिनहरू । 

उनी सम्झिन्छन्, ‘त्यसपछि मलाई कम्युनिस्ट के हो र यसलाई यति घृणा किन गरिन्छ भनेर अध्ययन गर्ने प्यास जाग्यो । नत्र म लहैलहैमा कम्युनिस्ट भएको थिएँ । गाँठी कुरा बुझ्‍न समय लाग्यो ।’
उनलाई मेरो गाँठी कुरा के रहेछ त ? कालमार्क्सको पूँजीको सारांश भन्‍नुहोस् । उनले खरर बताए, ‘एउटा पक्षले पूँजी लगानी गर्छ । अर्कोले श्रम गर्छ । त्यसको सेयर कसले पाउँछ ? त्यसको अपनत्व कसले लिन्छ त भन्दा त्यहाँ मालिकले लिन्छ । मजदुरले लिन पाउँदैन । तर मार्क्सले त्यहाँनिर के भन्या छ भने श्रमलाई पनि एउटा अतिरिक्त पूँजीको रुपमा राख्नुपर्छ । त्यो अतिरिक्त पूँजीको व्याख्या कसरी भएको छ भने, कुनै एउटा उद्योग सन्चालन भयो भने त्यहाँ उद्योगपति मालिक हुन्छ भने त्यो उद्योगमा काम गर्ने मजदुरहरूले पनि मालिकसरह लाभांस र मुनाफा पाउँने परिकल्पना मार्क्सवादमा छ । यो नै समाजवादको परिकल्पना हो । अतिरिक्त पूँजी सबभन्दा महत्वपूर्ण पूँजी हो । मेरो बुझाइ यो छ ।

आम बुझाइ पनि यहि हो कि ?' उनको आरोप छ, ‘नेपालमा मार्क्सवादको  सिर्जनात्मक प्रयोग र अभ्यास हुनै सकेन । यस महान कार्यमा हाम्रा शिर्ष नेताहरू असफल भएकै हुन् ।’ प्रस्तुत छ, २०४९ देखि २०५३ सम्म तनहुँको दमौली छापाखानामा ‘कम्पोजिटर’ र ‘प्रुफ रिडर’को समेतको अनुभव बटुलेका विभिन्‍न जनआन्दोलनका ‘सर्भाइभर’ नेकपा (माले)का वैकल्पिक पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीसँगको विस्तृत भलाकुसारी :  

आफ्नो परिचय दिनुहोस् ।
मेरो जन्मस्थान हाल भरपुर महानगरपालिका २६, उतिखेर चितवनको छेउकुना परेको दिव्यनगर गाविस । यो रामपुर क्याम्पसबाट करीब करीब ६ किलोमिटर पश्चिममा पर्छ । मेरा बुबाहरू लमजुङको चिती भन्‍ने ठाउँबाट बसाइँ सराइ गरेर आउनु भएको । मेरो जन्मचाहिँ २०२२ साल फागुन २५ गते बिहीबार चितवन जिल्लाको दिव्यनगर गाविस- १ मा भएको हो । बुबाको भनाइअनुसार बसाइँ सर्नुको कारण नारायणी नदीको किनारमा जग्गा किन्‍ने उद्देश्य थियो । 

आफ्नो बारेमा थप बताउनुहोस् । पारिवारिक वातावरण र शिक्षादिक्षा ?
मैले मजेडिहा प्राथमिक विद्यालयबाट शिक्षारम्भ गरेँ । त्यहाँ तीन कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । चार कक्षा पढ्न म दिव्यनगरको आदर्श माध्यमिक विद्यालय गएँ । म कहिल्यै पनि फस्र्ट हुन सकिँन । म हमेशा सेकेन्ड नै भएँ । चारदेखि दश कक्षासम्मै पनि म सेकेन्ड हुँदै गएँ । एसएलसीमा हामी पचासी, छयासी जना विद्यार्थीमा पास हुने ७ जना मात्रै थियौँ । जसमा सूर्य रेग्मी पनि एक थियो । मैले थर्ड डिभीजनमा पास गरेँ । सधैँ मलाई जितेर फस्र्ट हुनेले सेकेन्ड डिभिजन ल्याएर फस्र्ट भयो । म थर्ड डिभिजन ल्याएर फेरी सेकेन्ड नै भएँ । मेरो घरको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । खेतीपातीमै निर्भर हुनु पर्ने । चार जना दाजुभाइ थियौँ । म माइलो छोरो हुँ । सबैलाई स्कुलमा पढ्ने वातावरण बनाउनलाइ मेरा बाले धेरै ठूलो संघर्ष गर्नुभयो । जवान हुँदै जाँदा परिस्थितिअनुसार म हलो जोत्ने काम गर्थेँ । खासमा म हली हो घरको । माइलो छोरो अलिकति अपहेलित नै भाथ्यो । कल्ले हलो जोत्ने भन्दाखेरी माइलो छोरोले हलो जोत्ने भन्‍ने हुन्थ्यो त्यतिबेला ।

अरु दुई भाइले चाँहि के गर्ने ? 
जेठाले बासँगै पढ्ने । घण्टी बजाउने । किनभने, बाले पूजापाठ गर्नुहुन्थ्यो । गीता पाठ पनि गर्नुहुन्थ्यो । त्यो कामको अनुशरण दाइलाई लगाइयो । मलाई के पर्यो त भन्दाखेरी मेरो जिम्मामा चाँहि हलो जोत्ने । 

साइँलाले चाहिँ के गर्ने, अरुलाई सघाउने ? 
हैन । साइँलो गाइबस्तु हेर्नेमा थियो । कान्छो चाँहि पुल्पुलिएको मीठोमीठो खाने, दही-दूध चोरेर खाने । हाम्रो घरमा केही भैँसीहरू थिएँ । किसानको छोरो, गोबर फाल्नेदेखि लिएर कुन काम गरेको छैन होला मैले । 

तपाईं कति जग्गा जोत्नु हुन्थ्यो लगभग ? 
हाम्रो चाँहि ३ विघा जग्गा हो । तीन बिघामा डेढ बिघा त बेचेर बाले हामीलाई पढाउनु भयो । हामी चारै दाजुभाइ पढेलेखेका शिक्षित । 

कलेज जीवनमा झन् उधुम राजनीति गर्नुभयो ?  
अलिक चेतको राजनीति त कलेजबाट सुरु भएको हो । त्यतिबेला हुने राजनीतिक आन्दोलन र प्रदर्शनहरूमा मैले पुलिसको भक्कु पिटाइ खाको छु । मलाई दु:ख लागेको कुरा गर्दै थिएँ । हाम्रो पारिवारिक स्थिति एकदमै दयनीय थियो । एकदमै कमजोर आर्थिक स्थिति थियो । 

३ विघा जमिन हुनेको अवस्था कसरी कमजोर भयो ? 
३ बिघामा डेढ विघा त बिक्री गरिएको थियो । बुबाले हामीलाई पढाउन भातखाने जग्गा बेच्नु परेको थियो ।

डेढ बिघा त बाँकि थियो नि ? 
डेढ बिघामा त्यति राम्रो उब्जनी हुन्थेन नि । 

राम्रोराम्रो बेचिहाल्नु भयो होला ? कि कसो ? 
होइन । रोडको छेउको जग्गा अलिकति बाँकी नै थियो । त्यो पछि मैले बेचेर श्रीमतीको उपचार गरेँ । श्रीमतीलाई पनि बचाउन सकिन । जायजेथा पनि सकियो  । 

कुन रोगले बित्नु भयो, भाउजु ? 
किड्नी फेलर । फेर्न नमिल्ने गरी किड्नी फेल भाको । 

अलिक विस्तारमा भन्‍नुस् न ।
२०७२ सालको कुरा हो । ३५, ४० लाख रुपैँयाभन्दा बढी लाग्यो । टिचिङ हस्पिटलदेखि वीर हस्पिटल, वीर हस्पिटलदेखि अरु कैयौँ हस्पिटल चाहारियो । पार लागेन । श्रीमतीलाई बचाउन सकिएन । 

अब जग्गा बाँकी छ कि छैन आफ्नो नाममा ? 
मेरो नाममा कहिँ पनि जग्गा छैन । 

बाँकी रहेको जग्गाले श्रीमतीको उपचार गर्नुभयो ? 
गरेँ । 

भनेपछि अहिले तपाईं सर्वहारा ? तपाईंलाई राजनीति सहयोग भएन ? 
सर्वहारा नै हुँ । राजनीतिमा सहयोग नभएको होइन । भएको हो । तर म लाभको पदमा आजसम्म बस्या’ छैन । 

बस्नुभएन । तर सहयोग चाँहि आयो कि आएन ? जग्गा बेचेर तपाईंले श्रीमतीको उपचार गर्नु पर्यो । २०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिएको मान्छे तपाईं । यहाँ पार्टीमा लागेर टोले गुण्डा त मन्त्री भए ! 
राजनीतिबाट सहयोगको के अपेक्षा गर्नु ? बरु उल्टै यहाँ राजनीतिलाई चाहिँ सहयोग गर्नु पर्छ । मेरो सन्दर्भमा भन्‍नु पर्दा मैले लगातार राजनीति मात्रै गर्न पाइँन । आर्थिक अभावले कुनै काम गर्न बाध्य पाथ्र्यो । स्कूल पढाएँ । प्रेसमा काम गरेँ । बीचबीचमा राजनीति के कारणले टुट्यो भन्‍ने कुरा नि छन् । म भन्दै छु त । म टिचिङ हस्पिटलमा बिरामी श्रीमतिका लागि साढे दुइ वर्ष लगातार कुरुवा बसेको छु । 

त्यहाँको बेथिति सबै भोग्‍नुभयो त्यसो भए ?
दर्दनाक थियो भोगाइ । 

अलिक विस्तारमा भन्‍नुहोस् त आफ्नो भोगाइ । 
लास राख्‍ने राम्रो व्यवस्था छैन त्यहाँ । मृतकका आफन्त आउनुभन्दा अगाडि लास राख्ने जुन शवगृह छ नि त्यो साह्रै बेथितीको देखेँ  । त्यहाँ कर्मचारीहरू आलुको बोरा मिल्काए जस्तै गर्छन् लासहरूलाई । हामी त लासलाई पनि आदरसाथ सरक्क यताउति सार्ने गर्छौ नि । किनभने, त्यो लास मेरो प्रियजनको हो । दाहसंस्कार नहुन्जेल त्यसको उचित सुरक्षा र आदर मैले गर्नु पर्छ । मेरी श्रीमतीको लासलाई पनि त्यसै गरेँ । त्यो पल मेरा लागि निकै दर्दनाक थियो । मुखबाट रगत नै आउने गरेर फालिदियो लास । मलाई त त्यो लासप्रति पनि अघात माया छ नि त । त्यसरी लास फालेर मेरो श्रीमतीको मुखबाट रगत निस्किँदा मलाइ के भयो होला ? म त्यतिखेर ढल्न सिवाय अरु केही पनि थिएन । 

अब अलिकति विगतका कुरा गरौँ । दमौली छापाखानामा कसरी कम्पोजिटर बन्‍नु भयो ? .
तनहुँ जिल्लाको दमौलीको हाल व्यास नगरपालिका पनि भनिन्छ । व्यास नगरपालिकाको दमौली बजारमा विज्ञान प्रिन्टर्स भन्‍ने प्रेस थियो । त्यहाँ सात वर्षको अन्तरालमा सुरुमा हेल्पर भएर काम गरेँ । सर्लाहीको एकजना सुमन मगर भन्‍ने साथी हुनुहुन्थ्यो । उहाँ एकदम राम्रो कम्पोजिटर हुनुहुन्थ्यो । मेरो सानासाना ३ जना सन्तान । तिनीहरूलाई हुर्काउन, बढाउन, फलाउन, फुलाउन बहुत कठिन थियो । त्यहि भएर मैले प्रेसमा काम गरेर त्यो जमानामा पनि २५ हजार रुपैँया कमाउँथे । त्यो लगभग २०४९ सालदेखि २०५३ सालसम्मको कुरा हो । प्रेसमा काम गर्दागर्दै म कम्पोजिटर बनेँ । यस्तो कम्पोजिटर बनेँ कि त्यहाँ तनहुँ जिल्लाका नाम चलेका लेखकहरू म कहाँ आउँथे र प्रुफ हेर्न लगाउँथे । कम्पोजिटर हुँदाहुँदै पछि अरु थुप्रै कम्पोजिटरको नाइके पनि भएँ । अरुलाई प्रशिक्षण पनि दिएँ । त्यतिखेर म सुपरफास्ट कम्पोजिटर मानिन्थेँ । त्यहाँबाट तनहुँ आवाज भन्‍ने साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो । त्यसको सम्पादन गर्ने कार्य पनि केही समय मैले गरें । सम्पादक नआएका बेला कम्पोजिटर बन्‍ने पनि म, प्रुफ, सम्पादन र कहिले त रिपोर्टर आफैँले हुनुपर्थ्यो । त्यतिबेला म ‘तिरस्कृत’ साहित्यिक नाममा फुट्कर रचना पनि प्रकाशित गर्ने गर्दथेँ ।  मैले बहुआयामिक क्षेत्रमा त्यो प्रिन्टर्समा काम गरेर साहुलाई पनि धनि बनाएँ । 

त्यसपछि तपाईं त्यहाँबाट कहाँ जानु भयो ? 
चितवनमा शिक्षण पेसा गरेँ । विकटको पाङ्ग्रे भन्‍ने ठाउँमा एउटा स्कुल पनि स्थापना गरें । अहिले पनि त्यहाँ संस्थापक हेडमास्टर भनेर मेरो नाम फोटो अझै पनि छ । ढुंग्रे प्राथमिक विद्यालय । त्यसपछि मेरो राजनीतिक यात्रा फेरि सुरु भयो । प्रेसमा काम गर्दैगर्दा बामपन्थी चेत आइसकेको थियो । म मार्क्सवादको गहिरो अध्ययनमा लागिसकेको थिएँ  । 

बयालिस सालदेखि कम्युनिस्‍ट पार्टिमा प्रवेश गरेर आजसम्म के पाउनु भयो ? 
जहाँबाट हेरेपनि सबभन्दा ठूलो आत्मसन्तुष्टि हो । मैले पाउने भनेको आत्मसन्तुष्टि हो । त्यो मैले पाएको छु ।

तपाईंको श्रमको इज्जत छ नेपालमा ? तपाईंको विचारको इज्जत छ ? छैन भने, कसरी आत्मसन्तुष्टि प्राप्त हुन्छ ? 
राजनीतिमा लागेर वा कम्युनिस्‍ट आन्दोलनमा लागेर तपाईंलाई सन्तुष्टि छ कि छैन भनेर भन्दाखेरी म सन्तुष्ट छु । किनभने म नेपाली जनता र देशहितका लागि लडिरहेको छु । त्यसका लागि त हमेशा म सन्तुष्ट छु । 

कम्युनिस्टहरूले नेपालमा पटकपटक शासन गरे । त्यतिबेला तपाईंको श्रमको मूल्य भयो ? 
श्रमको उचित मूल्य भएको छैन । मेरो श्रमको यहाँ उचित मूल्य पाउन सकेको छैन । 

आफ्नै पार्टीको सरकार हुँदा पनि तपाईंले श्रमको उचित मूल्य पाउनु भएन त ? 
अँह प्राप्त भएन । 

कार्यकर्ताहरूले नै श्रमको उचित मूल्य पाएका छैनन् भने, आम जनताको त के कुरा गर्नु ? 
यहाँ कसैले पनि श्रमको उचित मूल्य पाएका छैनन् । सिधा भाषामा भन्दा नेपालको कम्युनिस्‍ट आन्दोलनमा शीर्ष नेताहरू जुका मोटाए झैँ मोटाएका छन् र कार्यकर्ताहरू दुब्लाएर सिन्को भएका छन् । यो यथार्थ कुरा हो हाम्रो, पार्टीमा । 

अब के त ? यस्ता तालले त चलेन जिन्दगी ! चल्यो त ? 
हुँदैन । अब नयाँ पकिल्पनाको खोजीमा लाग्‍नुपर्छ । 

अहिलेको यो विघटन त्यसैको सुरुवात हो ? माधव नेपाल भर्सेस केपी ओली भर्सेज प्रचण्ड छ नि ? बाँकी रहेको पनि सिद्धिनलाई भइरहेको हो यो ? 
सत्ता र लाभको पद लिनलाई लुछाचुँडी भागबन्डाको  मात्रै राजनीति चल्या छ । कम्युनिस्‍ट पार्टीको सिद्धान्त र विचारसँग कार्यशैली मिलेको छैन । 

कम्युनिस्‍ट पार्टीका अनेक नामहरू परिवर्तन भए । अहिले कोही पनि बामपन्थी छैनन् सब नक्कली हुन् भन्छन् नि चित्रबहादुर के.सी., तपाईंलाई के लाग्छ ? 
सच्चा कम्युनिस्‍ट छैनन् । सत्य कुरा हो । नेपालमा एउटा पनि सच्चा कम्युनिस्‍ट पार्टी छैन भनेर किन भनिँदै छ भन्दा एउटा कुरा मात्रै बुझिदिनुस्, कम्युनिस्‍ट पार्टीका केन्द्रीय सदस्य भन्दा माथिका जुनसुकै नेता हुन् उनीहरूको सम्पत्तिमा आचारसंहिता लाग्छ । उनीहरूको सम्पत्तिमा पार्टीकरण हुँदै राष्ट्रियकरणसमेत गर्नुपर्ने हुन्छ । किनभने ती नेताहरूले त्यसरी सम्पत्ति थुपार्न पाउँदैनन् । कमरेड माओले सम्पत्तिको लालच गर्ने मान्छे कम्युनिस्‍ट पार्टीको सदस्य हुन सक्दैन भनेर भनेका छन् । यहाँका शीर्ष नेताहरूको बारेमा मैले थप केही बताउनै परेन । यस अर्थमा यहाँ कोही पनि आदर्श नेता छैन ।  

तपाईंको नजरमा हाल नेपालमा जीवित आदर्श नेता को हो ? 
सूर्य रेग्मी नै हो । 

सिपी मैनाली पनि होइनन् त ? 
होइनन् । हाम्रा फरक मतहरू छन् । विचार फरक हुन सक्दैन र ? मलाई त मेरै विचार उत्कृष्ट लाग्छन् । 

तपाईं मात्रै वास्तविक कम्युनिस्‍ट हो त त्यसो भए ? 
मेरो प्रयास जारी छ । यदि म असली कम्युनिस्‍ट र पार्टीको जिम्मेवार सदस्य हुँ भने मेरा आचरणहरू एकदमै कठोर हुनुपर्छ । 

राजनीतिमा लागेर सन्तुष्ट छु भन्‍नुभयो एकातिर । नेताहरूको चालचलनदेखि असन्तुष्ट छु पनि भन्‍नुहुन्छ । वरपर आदर्श नेता कोही देख्दिँन, भए म नै हुँ पनि भन्‍नुहुन्छ । त्यसोभए, सबलाई कर्याककुरुक खाइदिउँ जस्तो लाग्दैन तपाईंलाई ? 
त्यस्तो त होइन । मसँग फरक विचार छ मात्रै भन्‍न खोजेको हुँ । 

तपाईंलाई अहिले सत्ता सुम्पिने हो भने के गर्नु हुन्छ ? 
यो देश बनाउनका लागि मेरो भिजन देशवासीसमक्ष ल्याउँछु । त्यो यस्तो भिजन हुनेछ कि सबै देशवासीहरूले वाहवाह गर्नेछन् । एक तीब्र रफ्तारमा म यो देश बनाउँन चाहन्छु । 

तपाईंको त्यो भिजनको दुई लाइन भन्‍नुस् त ? 
कोलम्बियाको राजधानी बोगटालाई हेर्नुहोस् । त्यहाँ संसारभरीका मान्छेहरू घुम्न किन आउँछन् ? त्यहाँको मेयरको भिजनले त्यो सहर यति उत्कृष्ट भयो कि हिमाल नि चाहिएन, पहाड नि चाहिएन, कला संस्कृति पनि चाहिएन । त्यो सहर मात्रै हेर्नलाई संसारभरीका मान्छेहरूको भिड छ । सोध्नुस् पर्यटन व्यवसायीहरूलाई । मैले पनि केही अध्ययन गरें । बोगटा दुनियाँको एक मोडल सहर हो । राम्रा कुरा हामीले जताततैबाट अनुसरण गर्न सक्नु पर्छ । 

तपाईंलाई अघि एउटा प्रश्न गरेको थिएँ । यदि तपाईंलाई सत्ता दिए भने तपाईं के गर्नुहुन्छ ? तपाईंले बोगटाको उदाहरण दिनुभयो । तर तपाईंलाई कसैले त्यत्तिकै सत्ता दिदैनन् । सत्ता त छिन्‍नु पर्छ । यहाँको सत्ता छिन्‍नलाई तपाईसँग के रणनीति छ ? 
माओको ‘सत्ता बन्दुकको धारबाट निस्किन्छ’ भने झैँ प्रश्न आयो । मैले भनेँ त, मसँग नयाँ भिजन छ । नेपालको माटो सुहाउँदो सुधारिएको कम्युनिजम ।

विचार नै सर्वोपरी हो र बन्दुकको नालबाट परिवर्तन सम्भव हुँदैन भन्‍ने चाँहि थाहा भयो अब तपाईंहरूलाई ? 
थाहा भयो । बन्दुकको नालबाट हुन्‍न । विचार नै चाहिन्छ । वैचारिक क्रान्ति नै चाहिन्छ । 

भनेपछि प्रचण्ड, बाबुराम त गलत रहेछन् नि त ?
तात्कालीन परिस्थितिमा ठीक थियो । त्यो बेलामा मानिसहरूमा यस्तो चेतना थिएन नि त । उठाउनु पर्थ्यो, ठोक्नु पर्थ्यो । तर अहिलेको युग विचारको युग हो । अब त्यसरी हुँदैन ।  

नेपालका कम्युनिस्ट आन्दोलन असफल ठानौँ अब ? 
नेपालमा मात्रै होइन विश्व कम्युनिस्‍ट आन्दोलन रक्षात्मक अवस्थामा छ । दुई तिहाई मत ल्याएको नेकपा घमन्डले चुरचुर हुन पुग्यो । रावणको घमन्ड भन्दा पनि बढी भएको थियो उसको हुँकार । त्यसले के देखाएको छ भने नेपालमा कम्युनिस्ट आन्दोलन पलायनको दिशामा अघि बढिरहेको छ । हुन त म कम्युनिस्ट पार्टीको सदस्यले यसो भन्‍न नहुने हो । तर मेरो अन्तरदृष्टिले के देख्छ भने कम्युनिस्ट आन्दोलन रक्षात्मक मात्रै होइन पलायनको दिशातिर गइसकेको छ । 

नेपालमा एकपटक मात्र होइन कम्युनिस्टहरू बारम्बार पतन भएका हुन् त्यही भन्‍न खोज्‍नुभएको हो ? 
उतारचढाव आयो । कम्युनिस्‍ट आन्दोलनमा जसरी उतारचढाव आयो देशको परिस्थितिमा पनि आयो । नेपालमा कम्युनिस्ट किन विघटित भए भनेर केलाउँदा उनीहरू आफ्नो अजेन्डामा एकमत हुन सकेनन् । उनीहरूका विचारहरू बाझे । चाहे त्यो माओवादी होस्, चाहे त्यो एमाले होस्, चाहे किरण होस्, चाहे विप्लव होस् । सबैेले भन्‍ने मार्क्सवाद नै हो । तर त्यहाँ आफ्ना भेस्टेड इन्ट्रेस्टहरू लादिन्छन् भने, वैचारिक मतभेद त हुने नै भए । 

पार्टीमा तपाईंको काम के हो ? वैकल्पिक पोलिटब्युरो सदस्यको काम के हो ? 
मेरो ठोस जिम्मेवारी छ । म केही जिल्ला कमिटीको फलोअप बैठकको आतिथ्यता गर्छु । 

प्राय: एजेन्डा के कस्ता हुन्छ ? 
बैठक विभिन्‍न विषयमा हुन्छन् । समसामयिक विषयमा बिभिन्‍न राजनीतिक कुराहरूमा छलफल हुन्छ । त्यो नियमित प्रकृया हो । 

तपाईंको पार्टीले अहिले के गरिरहेको छ ? 
हाम्रो पार्टीमा जहिल्यै विदेशी नजरले हेर्ने नेताहरू भए । नेपालको नजरले हेर्नुपर्छ । नेपाली भएर सोच्नुपर्छ भनेर नेपाल चिन्तन भन्‍ने एउटा नयाँ सिद्धान्त प्रतिपादन गरेका छन् हाम्रो महासचिव कमरेड सिपी मैनालीले । त्यसको दस्तावेजीकरण गर्ने प्रकृयामा छौँ । त्यसलाई हामी आगामी २०७८ कार्तिक २७, २८, २९ गते तीन दिने आठौं राष्ट्रिय महाअधिवेशन चितवनमा सम्पन्‍न गर्ने भनेर तय भएको छ । त्यहीअनुसार कामहरू फटाफट अगाडि बढिरहेका छन् । 

कुनै पनि राजनीतिक पार्टीको उदेश्य सत्तामा पुग्‍नु नै होइन र ?
होइन ।

कुनै पनि पार्टीको उद्देश्य सत्तामा पुग्‍नु कसरी होइन ? 
जोगी बन्‍नलाई त राजनीति गरिँदैन । सत्तामा पुग्‍नलाई नै हो । 

सत्तामा पुग्‍नका लागि तपाईंको पार्टीको अजेन्डा के हो ? 
नेपाल चिन्तन नै हाम्रो पार्टीको मुख्य अजेन्डा हो । राजनीति नेपाल केन्द्रित हुनुपर्छ । माटो सुहाउँदो हुनुपर्छ ।

तपाईंहरूको मूल दर्शन चाँहि मार्क्सको ल्याउने अनि राजनीति चाँहि नेपाल केन्द्रित हुनुपर्छ भन्‍ने ? 
नेपालको मौलिकतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ । तपाईं फेरि सिद्धान्तमा पुग्नुभयो । सिद्धान्त भनेको मार्क्सवादको साम्यवाद हुदै समाजवादमा पुग्नु हो । 

त्यो यहुदी मार्क्स बूढोसँग हामीलाई के सरोकार ? 
त्यो बूढोसँग हामीलाई के सरोकार छ र ? हो नि । लौ छाडिदिनुहोस् त्यो यहुदी बूढालाई । उसको जातभन्दा विचार पो महत्त्वपूर्ण कुरा हो त । माओ होस् या लेलिन होस् वा कार्ल मार्क्स । उनीहरूका विचारहरू संसारभरी फैलिएका छन् त । विज्ञानसम्मत हिसाबले फैलिएको छ । यहाँ जातको के कुरा आयो ? मानिस ब्रेडले हैन ब्रेनद्धारा सञ्चालित हुन्छ । 

ब्रेड नखाइ ब्रेन कसरी सञ्चालित हुन्छ ? ब्रेड नखाई कसरी ब्रेन चल्छ ? 
ब्रेड बनाउने पनि दिमाग नै हो । त्यसैले विचार प्रमुख हो । ब्रेड हैन । मान्छे खानलाई बाँच्छ कि बाँच्नलाई खान्छ भनेजस्तै कुरा हो यो । 

तपाईंलाई राजनीति गरेर खान पुग्छ ? 
मैले राजनीति मात्रै गरेको छु र ? 

के के गर्नुभएको छ ? 
म थुप्रै सामाजिक कामहरूमा संलग्‍न छु । राजनीतिमा त उल्टो खर्च हुन्छ । मेरो दुई कठ्ठा जग्गा बेचेर राजनीतिमा हालेको छु । 

तपाईंको आर्थिक स्रोत के हो ?
म उच्चपहाडी कृषि सहकारी संस्थाको प्रबन्ध निर्देशक हुँ । २०६२ सालदेखि मेरो मुख्य आयस्रोत त्यही सहकारी संस्था हो । जस्तो कसैलाई ऋण निकाल्नुपर्याे वा जग्गा धितो राख्नुपर्‍यो र उनीहरूलाई त्यसको मेसो छैन भने म सहजीकरण गरिदिन्छु । २, ४ पैसा आइहाल्छ । मेरा दुईवटा छोरा विदेशमा छन् तिनीहरूले अलिअलि पठाउँछन् । 

राजनीतिमा त सत्तामा नगई कमाइ हुँदैन हैन त, नेपालमा ? 
यथार्थ हो । 

तपाईं पनि सोही विचारले गाइडेड हुनुहुन्छ ? 
म त्यसरी गाइडेड छैन ।

धर्म र अध्यात्मलाई कालमार्क्सले कम्युनिस्‍टले मान्दैन । तपाईं धर्मको कुरा पनि निकै गर्नुहुन्छ । किन ? 
धर्मलाइ मानव धर्म भनेर बुझौं । मानव धर्म मानिसले मानिसलाइ गर्ने सेवा भनेर हामीले भनिराखेका छौं त । ग्रन्थहरूमा मानिसको सेवा गर्नु भनेको छ नि त । मानिस मानिसको बीचमा सदभाव कायम गर्नको लागि धर्म अनिवार्य हुन्छ । मानव मानव बीचको एउटा सम्बन्ध कायम गर्ने नै धर्म हो । नेपालमा बसेर धर्म नकार्न सकिँदैन । 

तपाईंकै नेताहरूले मुलुकलाई धर्म निरपेक्षता गरे नि त ? 
त्यही भएर त हाम्रो पार्टीको चिन्तनमा हेर्नुस् हामीले के गर्दै छौं भनेदेखि धर्म सहिष्णु भनेर संविधानमा लेख्नुपर्छ भनेका छौं । धर्मलाई के भनिएको छ भने अहिले नेकपा मालेले अरु पार्टीले हैन । अरु पार्टीको बिषयमा हामी जान्दैनौं । नेकपा मालेले धर्मलाई हिन्दु धर्म मात्रै पनि भन्दैन । धर्म निरपेक्ष पनि होइन, बरु धर्म सहिष्णु हो भनेर भन्छ ।  

तपाईंहरूको पछि बुद्धि आएको हो ? 
हो । यथार्थ । नत्र त धर्म निरपेक्षता मा समर्थन गरेका थियौं तात्कालीन परिस्थितिमा । तर अहिले धर्मनिरपेक्षता होइन । धर्म सहिष्णु हुनुपर्‍यो । 

भनेपछि यहि धर्म सहिष्णुता खोज्न पशुपति बरालिनु भएको हो ? 
यथार्थ । यो अन्त कहाँ पाउँछु ? म एउटा कम्युनिस्‍ट मान्छे कसरी धर्मप्रति यति लगाव भयो ? निश्चय नै आश्चर्यको कुरा हो । तर म सच्चिएको कम्युनिस्ट हुँ । टीका लगाउँछु । पूजा गर्छु । सनातन धर्ममा आस्था राख्छु । मेरो बाउबाजे मेरो पुर्खाको पहिचान बिर्सन म सक्दिन । मेरो पहिचान जनै लगाउँछु । यो बाह्मणको एउटा पहिचान हो । रुढी पाखण्ड होइन । पहिलो पुस्ताले समस्या खडा गर्यो भनेर दोस्रो पुस्ताले मेख मारेर बस्नु हँदैन । सच्चिएका सोचहरू अब नेतृत्व तवरमा आउन सकेको छैन अहिलेसम्म । 

तपाईंले गर्नसक्नु हुन्छ त्यो ? 
सक्छु । म त्यही अभियानमा छु ।  

शीर्ष नेताहरूले बाटो बिराए अब युवाले नेतृत्व लिनुपर्छ त्यसो भए ? 
हो, उनीहरूले बाटो बिराएकै हुन् । अब युवा विचारले नेपाल चल्नु पर्छ । अर्को विकल्प छैन ।

कसरी ट्रयाकमा ल्याउने त यी बाटो बिराउनेहरूलाई ? 
नयाँ विचार दिएर । कम्युनिस्‍ट आन्दोलनलाइ नयाँ शिराबाट मुल्यांकन गर्नु पर्छ । सच्चिने ठाउँमा बेलैमा सच्चिनु अनिवार्य हुन्‍नछ । र, टड्कारो रुपमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको बिकास हुनुपर्‍यो । त्यही विकास हुन नसकेर त यो हविगत भएको । 

भनेपछि अब यी पुराना नेतालाई विस्थापित गर्दा हुन्छ युवाले ? अब यो बेला आयो ? 
हो, बेला आयो । अब बेला आयो । अब युवाहरूले फरक तरिकाले सोच्‍ने र एक्सनमा ओर्लिने बेला आयो ।


Author

थप समाचार
ad
x