वार्ता

‘नेपालीलाई मलेसियामा खोजीखोजी, रोजीरोजी रोजगारी छ’

चन्द्रशेखर अधिकारी |
मंसिर २९, २०७७ सोमबार १८:२४ बजे

‘भ्याक्सिन (खोप) प्रयोगमा आएपछि मलेसियामा नेपाली कामदार फेरि सहज रूपमा आउनेछन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे भन्छन्, ‘मलेसियामा कोभिडको प्रभाव सामान्य हुँदै छ । कोभिडपूर्वको अवस्थामा पुर्‍याएझैँ देखिन्छ ।’ अझै नयाँ कामदार लिने विषयमा मलेसिया सरकार उदार भइसकेको छैन । खाडीको किङ मानिने साउदी अरेबियापछि दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा सबैभन्दा धेरै नेपालीले रोजगारी पाएका छन् । यहाँ नेपालीहरू इमानदार र मेहनतीका रूपमा चिनिन्छिन् । नेपालीहरूलाई खोजीखोजी रोजीरोजी रोजगारी छ यहाँ । मलेसियामा कहिले भिसा त कहिले भिसा शुल्कको विषयमा निकै उतारचढाव रह्यो । पछिल्लो समय मलेसियाले नेपालमा राजदूत पठाउनसमेत आनाकानी गर्दै कार्यवाहकबाट दूतावास चलाएको एक दशक भइसकेको छ । नेपाल र मलेसियाबीच दुईपक्षीय आर्थिक सहकार्य खासै छैन । राजदूत पाण्डे मलेसियाले नेपाल मात्र होइन कैँयन् मुलुकमा कार्यवाहकबाट नै दूतावास चलाएको बताउँछन् । साउदी अरेबियाका लागि नेपाली राजदूत रहेर चार वर्ष (सन् २०११–२०१५) काम गरिसकेका उनी मलेसियाको राजदूत भएको पनि दुई वर्ष पुगिसकेको छ । राजनीतिक सिफारिसबाट दुईपटक राजदूत हुने उनै पाण्डेसँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको भर्चुअल संवाद :

मलेसियामा नेपाली कामदारको पछिल्लो अवस्था कस्तो छ ?
नेपाली कामदारहरू उल्लेख्य रूपमा उपस्थित रहेको मुलुकमध्ये एक हो, मलेसिया । त्यसैले यहाँ कोभिडको प्रभाव बढ्दा नेपाली कामदार प्रभावमा नपर्ने भन्‍ने नै हुँदैन । यसमा समस्या परेको थियो । कामदारलाई असहज भएको छ । प्रभाव निकै पर्‍यो । २० हजारभन्दा बढी कामदार घर फर्के । तर मलेसियाले यहाँ रहेकालाई पनि आफ्नो नागरिक सरह नै औषधि उपचार गराए । कोभिड संक्रमणबाट कोही नेपालीको पनि निधन भएको खबर छैन । एक जनाको मृत्यु कोभिडबाट भएको आशंका गरिए पनि आधिकारिक पुष्टि छैन । कोभिड संक्रमण यहाँ नियन्त्रणमा आएको झैं देखिएको छ । यद्यपि संक्रमण पछिल्लो समय पुनः बढ्न थालेको छ । अचेल दिनको दुई हजार जतिमा संक्रमण देखिन थालेको खबर छ । तर, उद्योग, व्यवसाय, पसल, मल, खुल्न थालेका छन् । कोभिड-१९ पूर्वको अवस्थामा नै सहर पुगेको देखिन्छ । तर, विद्यालयहरू, थियटर, मुभिक्षेत्र भने अझै खुलेका छैनन् । अन्य सबै पक्ष नर्मलमा आइसकेको छ । कोभिडकै कारण यहाँ नेपाली कामदारको रोजगारी गुमेको अवस्था छैन । नयाँ रोजगारी सृजना मात्र नभएको हो । आरम्भमा केही बन्द भए पनि अहिले त्यो खुला भएको छ । त्यतिबेला पनि कामदारहरू यहाँ काम नै नपाएर भन्दा पनि आफ्नै कारण फर्किएका थिए । कतिपयको कामको म्याद सकिएको र कम्पनीले नयाँ नवीकरण नगरेको भने थियो ।

रोजगारी गुमाएरभन्दा पनि नेपालीहरू त्यतिबेला कोभिडकै डरले मात्र फर्केका हुन् त ?
पक्कै । उनीहरू यहाँ काम नपाउनेभन्दा पनि के हुन्छ- कस्तो हुन्छ भन्‍ने डर र घरकै कारण फर्केका हुन् । थोरै मात्र (दुईवटा कम्पनीले मात्र हात उठाएको) नवीकरण नभएर फर्केको पाएका थियौं । धेरै संख्या फर्केको देखिनुमा यहाँ अवैध रूपमा काम गरेकाहरूलाई कोभिडको समयमा जरिवानाबिना नै फर्कन दिएकाले पनि हो । एक-दुई कम्पनीहरूले मात्र निकै थोरै कामदारलाई अलपत्र परेका थिए । कम्पनी नै बन्द भएका कारण त्यस्तो अवस्था आएको हो । यो कोभिडमा मलेसियाले नयाँ अवसरसमेत दियो । डकुमेन्ट नभएकालाई सहज फिर्ता गरायो । नेपाल नफर्केका र फर्कन पाइनँ भन्नेहरू यतिबेला कम छन् । एक-दुई कम्पनीले कामदारलाई फर्काए पनि अधिकांशको रोजाइमा नेपाली छन् । कम्पनीले नै अन्य मुलुकको गए पनि नेपाली नगइदियोस् भन्‍ने गरेका छन् ।


नेपाली कामदारलाई नयाँ अवसर दिएको भन्‍नुभयो, त्यो के होला ?
डकुमेन्ट नभएकालाई काम गर्न दिने र नयाँ डकुमेन्ट बनाउने अवसर मलेसियाले खुला गरेको छ । नेपालीलाई मात्र त होइन । सबै कामदारलाई त्यो अवसर दिएको हो । मलेसियाले ठूलो अपराध नगरी अध्यागमन कानुनअनुरूप सजाय भोगेकाले पनि अब यहाँ काम गर्न दिने भएका छन् । अन्य भिसामा यहाँ आएर भागेर लुकेर बसेकाले वा एक स्थानमा काम गर्न भनेर आएका र अन्यत्र सर्दा डकुमेन्टविहीन भएकाले पनि काम गर्ने अवसर पाउने भएका छन् । यसका लागि मलेसियाले प्रक्रिया अघि बढाइसकेको छ । यस्ता नेपाली यहाँ धेरै संख्यामा छैनन् तर पनि भएकाले काम गर्न पाउनु ठूलै कुरा हो ।

मलेसियामा कस्ता नेपाली डकुमेन्टविहीन छन् त ?
मलेसियामा खासगरी गाउँगाउँमा पुगेर इन्डोनेसियन केटीहरूसँग विवाह गरेर बसेका नेपाली छन् । उनीहरूसँग डकुमेन्ट हुन्‍न । अनि केही हजार नेपाली जेलमा छन् । कतिको सजाय पूरा हुँदै छ उनीहरूले अब काम गर्न पाउनेछन् । कोभिडमा यस्ता नेपाली साढे ६ हजार नै फर्के । तर, अझै केही हजार त्यस्ता नेपाली छन् । मेरो अनुमान अब मलेसियामा डकुमेन्टबिना रहेका नेपाली चार हजारको हाराहारीमा होलान् । यसको यकिन तथ्यांक हामीसँग पनि छैन । किनकि उनीहरू दूतावासको सम्पर्कमा आएका हुन् ।

त्यसो भए त्यहाँ भएकालाई काम दिने तरिका अपनाउनुको कारण तत्काल मलेसियामा नयाँ रोजगारी खुला नहुने त होला ?
पक्कै । किनकि केही समय यहाँ नयाँ रोजगारीको अवसर खुल्ने सम्भावना छैन । त्यसै पनि जनवरी १ सम्म बाहिरबाट नल्याउने भनेका थिए । जुन हिसाबले संक्रमण बढेको छ । त्यो हेर्दा थप समय लम्ब्याउने देखिन्छ । यहाँ खासगरी भ्याक्सिन नआएसम्म कामदार ल्याउने सम्भावना न्यून छ । तर, बिदामा आएको हकमा यहाँको कम्पनीले त्यही व्यक्ति नभई नहुने जानकारी गराएको खण्डमा स्पेसल पास दिएर उनीहरूलाई पुनः निम्त्याइएको छ । दैनिकजसो २०/२५ जना त्यस्ता नेपाली आएका छन् । उनीहरू आएर १५ दिन क्वारेन्टिनमा बस्ने र पीसीआरपछि काममा जान्छन् । यस्ता नेपालीको संख्या १२ सयभन्दा बढी भइसकेको छ ।

मलेसियामा नेपाली कामदारलाई अब खासै अवसर नहोला ?
अवसर नहुने होइन, भ्याक्सिनपछि यहाँ कामदारको माग बढ्ने निश्‍चित छ । भ्याक्सिनसम्म मलेसिया सरकारले निकै सतर्कता अपनाउने देखियो । जुलाईतिर यहाँ भ्याक्सिनको उपयोग हुने र त्यसपछि बिस्तारै कामदार बोलाउने सम्भावना देखिएको छ । यहाँ रहेकाले पनि काम छानेर गर्न पाउने अवस्था रहन सक्छ । अन्य मुलुकका धेरै फर्किएका छन् । मलेसियाले विशेष गरी सुरक्षा निकायमा नेपालीलाई विश्वास गरेको छ । मलेसियाबाहेक अर्को सुरक्षा निकायमा काम गर्ने व्यक्ति भनेको नेपाली नै हुन् । उल्लेखनीय भ्यासिनेसनपछि त्यस क्षेत्रमा नेपालीको माग हुनेछ । कामविहीनहरूले अहिले नै काम पाएका छन् ।

नेपालीहरू कतैकतै अल्कोहल सेवन गरेर सामान्य झगडा गर्नेबाहेक अन्य गुनासो कामदारवालाको छैन ।

मलेसियनले नेपाली कामदारलाई कत्तिको प्राथमिकतामा राखेको छ ?  
मलेसियाले सेक्युरिटीमा मलय र नेपाली मात्रलाई राख्‍ने हुनाले पनि महत्व दिएको भन्‍न सकिन्छ । अन्य क्षेत्रमा पनि नेपाली पाएसम्म अरूलाई राखेका छैनन् । मलेसियामा नेपालीहरू काममा इमानदार र मेहनती भन्‍ने नै छ । नेपालीहरू कतैकतै अल्कोहल (मादक पदार्थ) सेवन गरेर सामान्य झगडा गर्नेबाहेक अन्य गुनासो कामदारवालाको छैन । यहाँका नागरिकमाझ नेपालीहरूप्रति राम्रो सद्‍भाव नै छ ।

मलेसिया सरकारले भ्याक्सिन ल्याएमा नेपालीहरूले त्यो लगाउन पाउँछन् भन्‍ने छ त ?
पक्कै पाउँछन् । यहाँ नेपालीलाई अर्को नागरिकको रूपमा हेरेका नै छैनन् । कामदार भए पनि आफ्नै नागरिक सरहको औषधि सुविधा दिएका छन् । त्यसैले त्यसमा ढुक्क भएर काम गरेर नै परिवारलाई सपोर्ट गर्न राम्रो हुन्छ । मलेसियामा चाँडै भ्याक्सिन आउने देखेको छु । नेपालीहरूले भ्याक्सिन लगाउन मज्जाले पाउँछन् । यस विषयमा कुरा पनि भएको छ ।

प्रसंग बदलौं, दुई वर्षमा नेपाल-मलेसिया सम्बन्ध कस्तो पाउनु भयो र कस्तो बनाउँदै हुनुहुन्छ ?
नेपाल र मलेसियाको सम्बन्ध छिमेकको जस्तो एकदमै व्यापारिक सम्बन्ध होइन । नेपालमा मलेसियाले आर्थिक सहकार्य त्यति सहज छैन । तर, लगानी गर्ने उत्साह र सहकार्यको सम्भावना बढ्दो पाएको छु । संयुक्त लगानीमा पर्यटन र ऊर्जा क्षेत्र मात्र होइन, आईटीदेखि उत्पादनको क्षेत्रमा समेत काम हुने देखिन्छ । मलेसियाबाट लगानी सम्मेलनमा पनि सहभागिता भएको थियो । केहीले मलेसियाली नागरिकले लगानी गरिरहेका छन् । हाइड्रो टेली कम्युनिकेसनमा लगानी गरेको देखिन्छ । आर्थिक सहकार्य बढाउन प्रयास भइरहेको छ । अहिलेको अवस्थामा पनि त्यसमा ध्यान दिएको छु । नेपाली कामदार मलेसियाको लागि अपरिहार्य रहेकाले त्यसमा पनि हामीले थप व्यवस्थित गराउन प्रयास गरिरहेका छौं । अन्तर्राष्ट्रिय मञ्‍‍चमा समान धारणामात्र होइन सहकार्यसमेत भएका छन् । यहाँको सरकार पनि संघीयतामा अभ्यस्त छन् । यसको अनुभव र सहकार्यमा छलफल गरिरहेको छु । हामी भर्खर संघीयतामा गएकाले त्यसमा केही सुधारको पाटोबारे छलफल गरिरहेका छौं । दुईपक्षीय भ्रमणको कुरा अघि बढेको थियो । तर, कोभिडले यसमा असर गरेको छ । ६० वर्ष दौत्य सम्बन्ध स्थापनाको कुरामा काम गर्ने विविध सहकार्यका विषयमा छलफलहरू भएका थिए । कोभिडका कारण यहाँ प्रत्यक्ष भेटघाट भनेको सबै निषेधझैँ नै छ । भर्चुअल बैठकमा सहभागिता जनाउने मात्र हो । त्यसबाट काम अघि बढाउन लागेका छौं । भर्चुअल अन्तक्र्रियामा पनि छलफल हुँदै छ ।
  
तर, मलेसियाले नेपाललाई प्राथमिकतामा राखेको पाइँदैन । किनकि दूतावास खोलेर पनि घटुवा गरेझैँ लाग्दैन यहाँलाई ?  
लामो समयदेखि राजदूत नपठाएको कारण यहाँले त्यसो भन्‍न खोज्‍नु भएकोझैँ लाग्यो  । त्यो देखिनु स्वाभाविक हो । यस विषयमा मैले यहाँ कुरा उठाउँदा उनीहरूले यहाँको कूटनीतिक र कर्मचारी सेवामा एक लेयर रिटायर्ड भएको र अर्को लेयर राजदूत हुने हैसियतमा नपुगेकाले पनि हामीले नेपाल मात्र होइन केही मुलुकमा कार्यवाहकबाट काम चलाएको भन्‍ने जवाफ आएको छ । कूटनीतिमा खारिएका वा राजनीतिमा खारिएकालाई मात्र हामीले राजदूत पठाउने गरेको र नेपालमा यसअघि पठाएको दुवै राजदूत सिनियर रहेकाले पनि त्यहाँ सिनियर पठाउनुपर्ने धारणा उनीहरूको छ । प्राथमिकतामा नै नपरेको भन्‍ने होइन । मलेसियासँग हाम्रो ऐतिहासिक सम्बन्ध हो । हिजोको दिनमा गोर्खाली सेनाले मलेसियामा युध्दमा लडेका थिए । त्यही भएर यहाँको सरकारले मलयपछि सुरक्षा निकायमा नेपाली रोजेका हुन् । हाम्रो सम्बन्धमा निकट रूपमा अन्तर्क्रिया भएको भनेको सन् २००० पछि कामदार यहाँ आउन थालेपछि हो । अझ आवासीय राजदूत नै पठाउन थालेको त २००७ मा मात्र हो । त्यसैले थप सहकार्य गर्न हामी एकआपसमा छलफल भइरहेका छौँ ।  

दूतावास भवन निकै पटक सारेको झैँ लाग्छ । तर, आफ्नो जग्गा पुत्राजयमा रहेको भए पनि त्यहाँ भवन बनाउने काम भएको छैन नि ?
हो, म आएपछि त दूतावास भवन सारेका छैनौं । अहिले राम्रो स्थानमा छ । तर, यसअघि पाँच-छ पटक सारेको रहेछ । पुत्राजयमा भने हामीले घर बनाउने अवस्थामा छैनौं । किनकि त्यहाँ कुनै रेलमार्गले जोडेको छैन । त्यो क्षेत्रमा जम्मा ब्रुनाईको मात्र दूतावास छ । अन्यको छैन । मलेसिया सरकारले त्यहाँ रेलले जोड्दै छ, त्यसपछि त्यहाँ दूतावास भवन बनाएर बस्‍न सकिन्छ । सरकारले प्रक्रिया अघि बढाउँदा हुनेछ । मलेसियाले यस्तो स्थानमा जग्गा दियो कि कोही पनि गएको छैन । हामी तत्काल पुत्राजयमा भएको जग्गामा जानेवाला छैनौँ । त्यहाँ यातायातको सुविधा राम्रो छैन । अहिले भएको स्थान राम्रो छ । कोत्राय (जहाँ नेपाली धेरै छन्) नजिक छ । हाम्रो दूतावासले नेपालीलाई कन्सुलर सेवा दिने हुनाले यस विषयमा ध्यान दिएर नै सहज स्थानमा नै त्यस्तो दूतावास राख्नुपर्छ ।

कामदार भए पनि आफ्नै नागरिक सरहको औषधि सुविधा दिएका छन् ।

अहिले भएका कर्मचारी र स्थानीय कर्मचारीले नेपालीलाई सहज सेवा दिन पुगेको छ ?
हामी परराष्ट्र सेवा भित्रबाट १० जना र लोकल स्टाफ ११ जना छौं । कोभिडका कारण काम पनि खुम्चेको छ । अलिकति दूतावास प्रभावकारी बनाउन थप एक आर्थिक कूटनीति हेर्ने अधिकृत र यहाँ क्राइमसम्बन्धी धेरै छलफल गर्नुपर्ने भएकाले प्रहरी (पोलिस अधिकृत) आवश्यक छ । यो विषय मैले माग नै गरिसकेको छु । कति नेपालीलाई उठाएर लगेको हुन्छ । झगडा परेको हुन्छ । त्यस्तासँग प्रहरी अधिकृतले नै डिल गर्दा राम्रो हुने देखिन्छ ।  आर्थिक कूटनीतिमा सहजीकरण गर्ने अधिकारी नै हामीसँग छैन । दूतावास भनेको सबै निकायको साझा चौतारीको अवधारणमा अघि बढाउनुपर्छ । सबै काम परराष्ट्रका अधिकारीले मात्र हेर्न सक्छ भनेर सोच्‍नु हुँदैन । नेपाली कामदारलाई सेवा प्रदान गर्न सवारी चालक पनि आवश्यक छ । नेपाल पुगेका यस्ता अपराधीहरू नेपालमा समातिएका समेत छन् । यस्तो विषयमा ध्यान दिएर हामीले काम गर्न आवश्यक छ ।

यहाँ त साउदी अरेबियामा पनि कामदारको समस्या समाधानमा काम गरेर आउनु भएको अनुभवी राजदूत यहाँ आएपछि त्यस्तो अनुभवको उपयोग के गर्नुभयो ?
साउदीमा पनि दूतावासको काम भनेको हाम्रै कामदारको समस्या समाधान गर्ने हो । उनीहरूको सुरक्षा व्यवस्थापन गर्नु र रोजगारीको अवसरका लागि राम्रो स्थान चयन गराउनु पर्छ । नेपालीको माग बढाउने र नेपालप्रति भावना सकारात्मक बनाउने थियो । अहिले पनि त्यही छ । यहाँ पनि त्यसमा राम्रोसँग काम गरिरहेको छु । नेपालीहरू खुसी नै छन् । सीधा मलाई सम्पर्क गर्न सक्छन् । अन्य आर्थिक कार्यलाई थप सहजीकरण गर्ने विषयमा छलफल अघि बढे पनि पूरा हुन सकेको छैन । किनकि काम सुरु गर्न लगानी भित्र्याउने कुराहरू अघि बढाउने काम अघि बढ्दै गर्दा कोभिडको चपेटा आइलाग्यो । ती काम पाइपलाइनमा छन् । अब छिट्टै अघि बढ्छ । यहाँ रहेका सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने हो । जुन दूतावासले गर्दै आएको छ । गैरआवासीय नेपाली, नेपालीसँग संगठन र समूहसँग पनि उत्तिकै नजिक भएर काम गरेका छौं । नेपालीहरू संयम भएर सकेसम्म कोरोनाको भ्याक्सिन नआउन्जेल काम गरे हुन्छ । त्यसपछि नेपाली पुनः यहाँ काम गर्न आउन थाल्नेछन् ।

राजनीतिक कोटाबाट राजदूत भएर आउनेको परराष्ट्र मन्त्रालयसँग सहकार्यको तालमेल नमिलेको देखिन्छ र एक पूर्वराजदूतले पुस्तकमा नै कर्मचारीबाट अपमानित हुनुपर्छ भनेका छन्, यहाँको सहकार्य र अनुभव कस्तो छ ?
मन्त्रालयसँग मेरो सहकार्य राम्रै छ । मेरो हकमा किन त्यस्तो नहोला, भने अहिले ‘पोलिटिक्स’ जहाँ छ म पनि त्यहीँ छु । मैले त झन् बढी सहयोग भएको पो पाएको छु । कम्प्लेन गर्ने स्थान त छन् । तर, मेरो हकमा त्यस्तो देख्दिनँ । म परराष्ट्रसँग अहिलेदेखि होइन, सन् २००७ देखि नै निकट रहे । साहना प्रधान परराष्ट्रमन्त्रीका रूपमा रहनु हुँदा म उहाँको सल्लाहकार थिएँ । त्यसबाट पनि मैले धेरैसँग मित्रता रह्यो । माथिल्लो तहमा हुनेहरू सबैसँग काम गरेको हुनाले समस्या खासै छैन । व्यक्तिगतरूपमा पनि मैले सबैलाई राम्रोसँग चिनेको हुनाले सहयोगी भाव नै पाएको छु । हुन त कतिपय विषय आफूअनुसार पनि होला । मेरो स्वभाव सबैसँग मिलेर जानुपर्छ भन्‍ने नै हो । त्यसले पनि मलाई सहज भएको होला । 
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x