वार्ता

इकागज सम्वादमा कल्याण गुरुङ

'देउवासँगै मेरो मुख्य प्रतिस्पर्धा हुन्छ'

'सबैलाई समेटेर प्यानलसहित उम्मेदवारी दिन्छु'

विनोद देवकोटा |
भदौ १७, २०७८ बिहीबार १३:५ बजे

मुलुकको पुरानो र यतिखेरको सत्तारुढ पार्टी नेपाली कांग्रेस अधिवेशन-महाधिवेशनमा होमिएको छ । तिनै कांग्रेसीजनको पदीय आकांक्षाले मुलुक रंगिएको छ, उनीहरू भोलिदेखि स्थानीयस्तरका अधिवेशनमा होमिँदैछन् । प्रजातन्त्र र लोकतन्त्रको हिमायती कांग्रेस नेतृत्वमा केन्द्रदेखि वडा तहसम्म आकांक्षीको संख्या भरपूर हुने नै भयो । अझ केन्द्रीय वृत्तमा वृद्ध-पाकाहरूलाई चुनौती दिने उद्घोषसहित उम्मेदवारीकै घोषणा गर्ने क्रम पनि बढ्दो छ । त्यही क्रममा केन्द्रीय नेतृत्वमा संस्थापन र इतर दुुवैथरिलाई चुनौति दिँदै युवा पुस्ताका नेता कल्याण गुरुङले सभापतिमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ‘म जेसुकै होस् भनी हाम फालेको होइन’ गुरुङ भन्छन्, ‘म युवा पुस्ताबाट नेतृत्व निम्ति सक्षम र योग्य छु ।’ कांग्रेस महाधिवेशन र भावी नेतृत्वका सवालमा कांग्रेसका युवा पुस्ताका नेता गुरुङसँग इकागजका विनोद देवकोटाले गरेको कुराकानीको अंशः

महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेपछि के गरिरहनु भएको छ ? व्यस्तता त बढ्यो होला ? 
- म गृहजिल्ला महोत्तरी आएको छु । व्यस्तता बढेको छ । यहाँ साथीहरूसँग भेटघाट गर्दैछु । यसपछि धनुषा, सर्लाहीको साथीहरूसँग भेटघाट गर्छु । प्रदेश दुईपछि गण्डकीमा भेटघाट गर्छु । यसैगरी नै हरेक प्रदेशमा भेटघाटलाई बढाउँदै लान्छु । भेटघाटलाई तीब्रता दिँदैछु ।


जित्ने कुनै आधार देखेर सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो कि जे सुकै होस् भनेर हाम फाल्न खोज्नु भएको ?
- जेसुकै होस् भनी हाम फालेको होइन । मूलतः कांग्रेसका नेता कार्यकर्ताहरूले पार्टीभित्र पात्र र प्रवृत्तिमा परिवर्तन खोज्नुभएको छ । नयाँ सोच र संस्कारअनुसार पार्टीलाई अघि बढाउनुपर्छ भन्नुभएको छ । आमचुनावमा कांग्रेसलाई बहुमतसहित मुलुककोे नम्बर एक पार्टी निर्माण गर्नुपर्छ भन्ने सबैको सोच छ । नयाँ पुस्ताप्रति नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकको विश्वास र भरोसा बढ्दै गएको छ । सबैले नयाँ पुस्ताबाट नेतृत्व लिन अग्रसरता देखाउनुपर्छ भन्नुभएको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व लिन सक्षम छ, लिनुपर्छ भन्नुभएको छ । त्यही सोच, मनोविज्ञान र आवाजको प्रतिनिधित्व गरेर मैले उम्मेदवारी दिएको हु । म नयाँ पुस्ताको प्रतिनिधित्व गर्छु । नयाँ पुस्ताले अब कांग्रेस र मुलुकको नेतृत्व गर्नुपर्छ । म त्यस निम्ति सक्षम र योग्य छु । 

कांग्रेसमा युवाहरूको जनमतलाई आधार बनाएर उम्मेद्वारी दिनु भएको ? 
- युवाहरू नेतृत्व गर्न योग्य हुनुहुन्छ । नयाँ पुस्ता देश र पार्टीको नेतृत्व गर्न योग्य छ । जहासँम्म उम्मेदवारीको कुरा छ, त्यसमा त युवा मात्रै होइन, सबै उमेर समूहका व्यक्ति, जात, जाति, समुदाय र भूगोलका व्यक्ति, विभिन्न वर्ण र लिङ्गका व्यक्तिहरू सबैको चाहना पार्टीमा नयाँ सोच र संकल्पको विकास होस् भन्ने छ । सबैले राजनीतिक न्याय पाउने, सुरक्षा र अवसरको समान र न्यायोचित वितरण हुन सक्ने वातावरण निर्माण होस् भन्ने चाहनुभएको छ । अब तीनै तहको आम चुनावमा कांग्रेस बहुमत स्थानमा विजयी हुनसक्ने वातावरण निर्माण हुन सकोस् भन्ने छ । त्यो वातावरण निर्माण गर्न हाल देखिएका केही गलत प्रवृत्तिमा परिवर्तन आवश्यक छ । परिवर्तनको पक्षमा कसै न कसैले त आवाज उठाउनु पर्छ नै । कसै न कसैले नेतृत्व त गर्नुपर्‍यो । मैले नै न्याय, परिवर्तन, समानता र समावेशीताको पक्षमा उहाँहरूको आवाजलाई प्रतिनिधित्व गरेको हुँ । उहाँहरूले हाम्रो आवाजको र मनोभावनाको प्रतिनिधित्व गर्नुहुन्छ भन्नु भएको छ । 

युवा आवाज र जनमतको कुरा गरिरहँदा विभिन्न पक्ष र समूहबीच छुट्टाछुट्टै छलफल चलिरहेको छ । युवा भनिएको पङ्ति नै छरपष्ट र गुट वा समूहमा विभाजित छ । उहाँहरूलाई कसरी समेट्नुहुन्छ ? 
- मूलतः म नयाँ र युवा पुस्ताका साथीहरूको प्रतिनिधि र प्रतिनिधित्व गर्ने भएकाले राजनीतिक र नैतिक रूपले उहाँहरूले मलाई समर्थन गर्नुहुन्छ । साथीहरूले तपाईंलाई हाम्रो साथ रहन्छ, मतदान गर्छौँ र विजयी बनाउन लाग्छौँ भनिरहनु भएको छ । जसले युवाले नेतृत्व गर्नुपर्छ भन्नु भएको छ, उहाँहरूले सहयोग गर्नुहुन्छ । किनकि उहाँहरूको आवाजको प्रतिनिधित्व मैले गर्छु । जो अग्रज उमेर समूहका मानिस हुनुहुन्छ, उहाँहरूले पार्टीभित्र न्याय, समानता र अवसरको समान र न्यायोचित विवरण होस् भन्नका लागि आवाज उठाउन आवश्यक छ भन्नु भएको छ । म उहाँहरूको पनि प्रतिनिधित्व गर्छु । 

म युवा पुस्ताका साथीहरूको प्रतिनिधित्व गर्ने भएकोले राजनीतिक र नैतिक रूपले उहाँहरूले समर्थन गर्नुहुन्छ । न्याय, परिवर्तन, समानता र समावशीताको पक्षमा अग्रजहरूको आवाजलाई पनि प्रतिनिधित्व गर्छु । म सबैको साझा उम्मेदवार हो । 

तपाईँको उम्मेदवारी चाहिँ के का लागि त ?
- पार्टीभित्र कसैले अवसरमाथि अवसर पाएको पायै छन् । व्यक्तिले मात्रै अवसर पाउने होइन, उसका परिवारका सबै सदस्यले अवसर पाएका छन् । नातागोता र उसले रुचाएका सबैले अवसर पाउने तर, पार्टीभित्र योगदान गरेका, दुःख गरेका, पुस्तौपुस्ता लाग्दा पनि अवसर नपाउने धेरै नेता कार्यकर्ता हुनुहुन्छ । कसैलाई काखा कसैलाई पाखा गर्ने जुन गलत प्रवृत्ति र असमान व्यवहार छ, यसविरुद्ध परिवर्तनको पक्षमा हामीले आवाज उठाउनुपर्छ भनेर देशभरीका नेता कार्यकर्ता, शुभेक्छुक, शुभचिन्तक र विदेशमा समेत रहनु भएको शुभेक्छुक र शुभचिन्तकहरूले जुन आवाज उठाउनु भएको छ । तिनै आवज प्रतिनिधित्व गर्न उम्मदेवारी दिएको हुँ । त्यसैले सबै उमेर समूहका नेता कार्यकर्ता (महाधिवेशन प्रतिनिधि)ले मलाई मतदान गर्नुहुन्छ । 

तर, उम्मेदवारी घोषणा त एक्लै गर्नुभयो ? अब एक्लै सभापतिमा मात्रै लड्ने हो कि अन्य पदमा पनि टिम बनाउनुहुन्छ ?
- म आफू केन्द्रीय सभापति रहेर सबै क्षेत्र, उमेर समूह, भूगोल र जाति/क्लस्टर आदिलाई समेट्दै प्यानलसहित उम्मेदवारी दिन्छु र प्रतिस्पर्धामा जान्छु । 

उसो भए सभापतिको उम्मेदवारी घोषणा गर्न हतार गर्नुभयो कि ? टिमसहितै गरेको भए एक खालका सन्देश पनि जान्थ्यो होला नि ? 
- होइन, सभापतिको घोषण गरेँ । यसपछि टिमसहित घोषणा गर्छु । असोज १० पछि हामी सल्लाह गछौँ । जिल्ला अधिवेशन सकिएपछि कहाँ को उठ्ने सल्लाह गर्छौँ । कतिपयले सदस्यमा टिम नबनाउनस् भन्नु पनि भएको छ, कसैले बनाउनुपर्छ पनि भन्नु भएको छ । यी सबै विषयमा छलफल गर्छौँ । सबै साथीहरूको निष्कर्ष जे आउँछ त्यहीअनुसार अघि बढ्छु । तर, पदाधिकारीमा मेरो टिम हुन्छ । 

टिममा क-कसलाई समेट्नु हुन्छ ? 
मैले जसरी पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारीको औपचारिक रूपमा घोषण गरेँ, त्यसैगरी टिम बनाएर पत्रकार सम्मेलन गरेरै घोषण गर्छु । 

आन्तरिक रूपमा टिमसँग छलफलमै हुनुहुन्छ ? 
- मैले सबैसँग छलफल गरिरहेको छु । देशभरका नेता कार्यकर्ता र विदेशमा रहनु भएका शुभेक्छुक, समर्थक र नेता कार्यकर्तासँग पनि छलफल गरिरहेको छु । 

चुनौती के देख्नु भएको छ ? तलदेखि माथिसम्म जरा गाडेको गुट वा समूह छिचोल्न सजिलो त पक्कै छैन ? 
- सजिलो पक्कै छैन । तर, असम्भव पनि छैन । यसपालि त्यति धेरै गुटको प्रभाव रहँदैन । गुटदेखि नेता कार्यकर्ता वाक्क भइसक्नु भएको छ । गुट वा समूहको दुरुपयोग भयो । गुट वा समूहको प्रयोग गरेर पार्टी र राज्य सत्तामा उनीहरूले पटक पटक अवसर पाए । तर, अवसर पाएकाहरूले राम्रो काम गर्न सकेनन् । त्यसैले गुट र भागवण्डाबाट कार्यकर्ता दिक्क छन् । कांग्रेस विधानअनुसार चल्नुपर्छ । वडाहरूमा त्यस्तो गुटको प्रभाव केही पनि रहँदैन । वडामा बढीभन्दा बढी राजनीतिक व्यक्ति चुनिन्छन् । 

तर, क्रियाशील वितरणदेखि नै ‘म्याच फिक्सिङ’को खेल सुरु हुन्छ, वडाबाटै गुट वा समूहका मान्छे चुनिएर आउँछन् । तिनले यहाँलाई मत दिन्छन् त ?
- त्यो गलत हो । महाधिवेशन निश्पक्ष, पारदर्शी, भयरहित, विधि विधान बमोजिम हुनुपर्छ । सदस्यता वितरण पनि त्यसैगरी हुनुपर्छ । कसैको समूहको चित्त बुझाउने वा भागवण्डा मिलाउने नाममा यस्तो गर्नु हुँदैन । मैले माथि नै पनि भने यसपालि वडा अधिवेशनदेखिनै गुट पराजित हुन्छ । राजनीतिक व्यक्ति महाधिवेशन प्रतिनिधि भएर आउनुहुन्छ ।

विगतमा गुटमार्फत भएको भागवण्डा वा अवसर पाएकाहरूले त नुनको सोझो गर्लान् अथवा गुन तिर्न पनि गुटकै मान्छेलाई मतदान गर्लान् । उनीहरूलाई आफ्नो पक्षमा ल्याउन त्यति सजिलो छ र ? 
- त्यस्ता केही व्यक्ति त लाग्लान् । लागे पनि उनीहरूको ‘मिसन’ सफल हुँदैन । किनभने अधिकांश नेता कार्यकर्ता राजनीतिक प्राणी हुन्छन् । राजनीतिक प्राणीले के राम्रो/नराम्रो चिन्नुहुन्छ । त्यसैले गुटबाट माथि उठ्ने सबैको पहल छ । 

यहाँको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ? 
- मेरो मुख्य प्रतिस्पर्धा सभापतिमा को लड्नुहुन्छ उहाँसँग हुन्छ । अहिलेसम्म त क-कसले उम्मेदवारी दिने टुंगो भएको छैन । मैले घोषणा गरेँ । पार्टीको 'नोमिनेसन' हेरौं, त्यसपछि म भन्छु मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?

त्यो त देखिनै सक्यो नि, वर्तमान सभापति शेरबहादुर देउवाले दोहोरिने भनिसक्नुभयो, उपसभापति विमलेन्द्र निधिले तयारी नै गरिसक्नु भयो । पौडेल समूहबाट कम्तीमा एक जना आउनुहुन्छ ? यसरी हेर्दा कोसँग हुन्छ ?
- यदि वर्तमान सभापति आदणीय शेरबहादुर देउवा निर्वाचनमा लड्नु भयो भो मेरो मुख्य प्रतिस्पर्धा उहाँसँगै हुन्छ । 

उम्मेदवारी घोषणा गर्दा नेतृत्वमा आकांक्षी देखिनु भएका वा शीर्ष नेता कसैसँग सल्लाह वा छलफल गर्नुभयो ?
- सबैले आ-आफ्नो घोषाण गर्नु भएको छ । मैले पनि घोषणा गरेँ । त्यसैले प्रतिस्पर्धामा आइसकेपछि मैदानमा हामीले आ-आफ्ना नीति, कार्यक्रम र विचार राख्छौँ । जसलाई महाधिवेशन प्रतिनिधिले बढी भोट (५० प्रतिशतभन्दा बढी) गर्नुहुनेछ । मलाई के विश्वास छ भने देशभरिका प्रतिनिधिहरूले मलाई मतदान गर्छु भन्नु भएको छ । गर्नुहुन्छ । उहाँहरूले भनेअनुसार गर्नु भयो भने म निर्वाचित हुन्छु  ।

प्रतिस्पर्धीसँग आगामी दिनमा सम्वाद र छलफल गर्नुहुन्छ ? 
- छलफल त गर्छु । सबैसँग छलफल र सम्वाद गर्छु । तर, एउटा कुरा के हो भने मे केन्द्रीय महाधिवेशनमा चुनाव लड्छु । 

सुरुमा उम्मेद्वारी घोषणा गर्ने र अन्तिममा कुनै पदमा बार्गेनिङ गरेर अर्कोलाई सहयोग गर्ने गरेको विगत पनि छ, यहाँको उम्मेदवारी अन्तिमसम्म रहन्छ नि हैन ? 
- मैले बारम्बार भन्ने गरेको छु, योभन्दा अगाडि कसले के गर्‍यो त्यो मलाई थाहा छैन, वा अहिले पनि कसले के गर्छ त्यसको जिम्मेवारी म लिन सक्दिनँ । तर, मेरो स्पष्ट धारणा के हो भने कांग्रेसको सभापति भनेको भोलिको देशको प्रधानमन्त्री हो । यदि कांग्रेसले बहुमत ल्यायो र संसदीय दलको नेता चयन गर्‍यो भने भोलि मुलुक हाँक्ने हो । त्यो मनसाय र दृष्टिकोणका साथ उम्मेदवारी घोषणा गर्दा भोलि देशको प्रधानमन्त्री बन्छु, मुलुक हाँक्छु भन्ने आँट र साहससहित घोषणा गर्ने हो । आफ्नो उम्मेदवारीको उचाईं र गरिमा जोगाउने दायित्व पनि स्वयं उम्मेमदवारकै हुन्छ । त्यसैले सभापतिमा मात्रै होइन, कुनै पदको उम्मेदवारहरूले आफ्नो उम्मेदवारीलाई आफ्नो र आफ्नाहरूको राजनीतिक भविष्य सुरक्षित गर्न ‘बार्गेनिङ टुल्स’को रूपमा प्रयोग गर्नु हुँदैन । 

यहाँले त्यसो गर्नु हुँदैन ? 
- कसैले पनि गर्नु हुँदैन । मैले पनि गर्नु हुँदैन । म केन्द्रीय सभापतिकाे उम्‍मेद्वार हु, रहन्छु र चुनाव लड्छु । 

कांग्रेस महाधिवेशनमा व्यक्ति र समूहलाई केन्द्रमा राखेर चर्चा हुन्छ । नीति र एजेण्डामा खासै बहस हुँदैन । उम्मेदवारले पनि कुनै फरक एजेण्डा ल्याउँदैनन् ? यहाँको के छ ? 
- मेरो प्रशस्तै एजेण्डा छन् । पहिलो कुरा, म सभापतिमा निर्वाचित भएँ भने पहिलो बैठकबाटै चार वर्ष समयावधि जुन दिन पुग्छ त्यो मिति राखेर १५औँ महाधिवेशनको तिथि, मिति र स्थान तय गर्छु । क्रियाशील सदस्यता दुई वर्षअगाडि ‘इन्ट्री’ हुने र त्यसले मात्रै आगामी महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था गर्छु । विधानअनुसार पार्टी सञ्चालन गर्छु । गुटको आधारमा हुने भागवण्डा अन्त्य गरिदिन्छु । अब पार्टीबाट कुनै पनि व्यक्ति प्रधानमन्त्री र मन्त्री दुई पटकभन्दा पनि बन्न नपाउने व्यवस्था गर्छु । संविधानमा नै परिवर्तनका लागि पहल गर्छु । पार्टीबाट एकै व्यक्ति पटकभन्दा बढी समानुपातिक सांसद नहुने व्यवस्था गर्छु । पार्टीमा एक पद दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्छु । त्यसैगरी पार्टी सरकारमा गएको बेला राजनीतिक नियुुक्ति लिनेले पनि एक व्यक्ति एक पटकका लागि मात्रै लिन पाउने व्यवस्था विधानमै गर्छु । त्यसैगरी देशभरिका स्थानीय तहमध्ये ५० प्रतिशतमा अनिवार्य महिलाले उम्मेदवारी दिने व्यवस्था विधानमै गर्छु । 

यी अलि बढी नै महत्वाकांक्षी योजना भएनन् ? 
- यी कुनै महत्वाकांक्षी एजेण्डा होइनन्, गर्न सकिने योजना हुन् । यीभन्दा पनि बढी महत्वाकांक्षी योजना र एजेण्डा छन् जसले मुलुकलाई समृद्धिको दिशातिर र कांग्रेसलाई सबैको लोकप्रिय र भरोसाको केन्द्र बनाउनेछ । आमचुनावमा बहुमतसहतिको नम्बर एक पार्टी बनाएर जनताको सेवा गर्ने पार्टीमा रुपान्तरण गर्नु छ । आर्थिक विकास, शिक्षा, स्वास्थ्य नीति, सामाजिक न्याय र सुरक्षाका थुप्रै एजेण्डा छन् ।  शासन र सुशानका कुरा छन् । ती नीतिका विषयमा पनि छुट्टै दस्तावेज लिएर आउँछु । अझ बढी गर्न सकिने र गर्नुपर्ने एजेण्डा ल्याउँछु ।
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x