वार्ता

इकागज संवाद

सरकारको सर्वसत्तावादी चरित्र उदांग भएको छ : जाेशी

'यतिखेर भलै नाम ‘अरिंगाल’ होलान्, मण्डले प्रवृत्तिकै अर्को रूप हो'

चन्द्रशेखर अधिकारी |
मंसिर १८, २०७७ बिहीबार १४:२६ बजे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनका खम्बा हुन् । कांग्रेस नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशी भन्छन्, ‘त्यति ठूला राजनीतिक व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय होइन । यो परिस्थितिजन्य रुपमा घटेको घटना होइन हुनै सक्दैन । यो सुनियोजित तवरले घटाइएको घटना हो ।’ उनी पछिल्लो समयमा सत्ता ‘सर्वसत्तावाद उन्मुख’ भएको र लोकतान्त्रिक मूल्य र मान्यता निस्तेज गर्न खोजेको टिप्पणी गर्छन् । जोशीसँग पौडेल गिरफ्तारी र सरकारी शैलीको सेरोफेरो रहेर इकागजका चन्द्रशेखर अधिकारीले गरेको संवाद : 

वरिष्ठ नेता रामचन्द्र पौडलमाथिको धरपकड र गिरफ्तारीलाई कसरी हेर्नुभएको छ ?
यो घटना अपराधिक सोच र सर्वसत्तावाद उन्मुख शैलीको उपज हो । मुलुकको पुरानो र लोकतान्त्रिक धारमा विशवास राखेर अघि बढेको नेपाली कांग्रेससँग सत्तारुढ दल खासगरी अलोकतान्त्रिक अभ्यासमा अग्रसर केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको राजनीतिक प्रतिशोध हो । यो शक्तिको उन्मत्तमा सिर्जित घटिया हर्कतको घटना हो । यो घटनाले सरकारको सर्वसत्तावादी  चरित्र उदांग पारेको छ । यो कदमले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने छ । नेपाली जनतालाई स्वतन्त्रता र खुला अर्थतन्त्रका लागि लामो समय लडाइँ लडेको पार्टी कांग्रेस हो भन्‍ने विषय यो सरकारले भुलेर यो अवस्था आएको हो । लोकतान्त्रिक व्यवस्थामाथि कहीँ-कतै आँच आउने कार्य नेपाली जनतालाई सह्य हुनेछैन । जनताका लागि कांग्रेस सँधै अघि बढ्नेछ ।


वर्तमान सरकार विकासका विरुध्दमात्र होइन लोकतन्त्रको खिलाफमा सर्वसत्तावादतिर उन्मुख छ । 

अब कांग्रेसले यो घटनालाई कुन रूपमा अघि बढाउँछ ? 
अब ग्रेसको मार्ग भनेको लोकतान्त्रिक आन्दोलन हो । विरोध स्विकार गर्न नसक्ने र फरक विचारको सम्मान गर्न नजान्‍ने कम्युनिष्टको वास्तविक रूप हो । तिनीहरू त्यही शैली अघि बढाउन चाहन्छन् भन्‍ने देखाएको छ । लोकतन्त्रमा लडेका लामो समय लोकतन्त्रकै लागि जेल जीवन बिताएका त्यागी नेतामाथि यो स्तरको हर्कत लजजास्पद छ । यस्ता क्रियाकलाप रोक्न अब आन्दोलनको विकल्प छैन् । कांग्रेसजन त्यसमा तयार रहनुपर्छ । कम्युनिष्ट सरकार लोकतान्त्रिक संविधानका खिलाफमा प्रस्तुत हुँदैछन् । भ्रष्टाचारको चुरोमा उभिएर अलोकतान्त्रिक व्यवहार र अभ्यासविरुध्दमा आमनागरिकप्रति गरिएको बेवास्तालाई जनताले टुलुटुलु हेरी बस्‍ने छैनन् । त्यसमा जनाताका लागि कांग्रेस अग्रसर हुनेछ । त्यसैले कांग्रेस सँधै शान्त बस्छ भनी नसोच्‍नु । हदभन्दा माथि जानेलाई कांग्रेसले जनताको साथमा के गरेको थियो विगत हेर्न सत्ताधारीलाई फुर्सद मिलोस् ।
  
उसो भए, अब कांग्रेस आन्दोलन गर्ने तयारीमा लागेको हो ? 
कम्युनिष्ट पार्टी प्रतिस्पर्धाबाट सरकारका पुग्‍ने अवस्था सिर्जना गर्न कसको देन छ भन्‍ने उनीहरूले बुझेको हुनुपर्छ । कांग्रेस र कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनका स्थापित लोकतन्त्र हो । लोकतन्त्रका निम्ति कांग्रेसजनले जेलनेल खाएका छन् । जसको विगत खोज्दा भइहाल्छ । लोकतन्त्रकका लागि जेल बसे कि अर्को कुनै कारणले । समकालीनलाई सोध्दा भइहाल्छ । तानाशाही पञ्‍चायती व्यवस्थाको समाप्ति, लोकतान्त्रिक संघीय गणतन्त्र जनताको ठूलो बलिदानबाट सम्भव भएको छ । त्यसको मुख्य अगुवामा कांग्रेस थियो । यस्ता कुरा ओली नेतृत्व सरकारले नभुले हुन्छ । संविधानसभामार्फत् संविधान प्राप्त कसको नेतृत्वमा प्राप्त भएको हो ? के यिनकै शैली र तरिकाले संविधान आउने थियो ? यही तवरको नेतृत्वले संविधान ल्याउन सक्थ्यो ? अरुले ठीक पारेको स्थानमा त नेतृत्व गर्न नसकेर बर्बराएको जनताले देखेकै हो । यो सत्यलाई नकार्ने यो सरकारलाई समयमा नै लोकतान्त्रिक मार्गमा ल्याउँदै लोकतान्त्रिक मार्गमा ल्याउन र लोकतन्त्रको मूलभूत मर्मलाई अपहरण गर्न खोज्‍ने तत्वलाई पराजित गर्नु कांग्रेसको दायित्व हो ।

यतिखेर भलै नाम ‘अरिंगाल’ होलान्, मण्डले प्रवृत्तिकै अर्को रूप हो, अरिंगाल ।

स्थानीय तहमा भएको असमझदारीको घटना होइन र ? 
कहाँ त्यस्तो हुन्छ ? स्थानीय सुरक्षाले माथिको आदेश नपाई त्यो स्तरको काम गर्न सक्दैन । यो सुनियोजित र सत्ता उन्मत्तताको एक डरलाग्दो अवस्था हो । पञ्‍चायतकालीन दृश्य मडारिन थालेको छ । तत्कालीन राजाले जसरी मण्डलेलाई प्रशिक्षण दिएका थिए । त्यही रूपमा नेकपा कार्यकर्ता उत्रेका छन् । यतिखेर भलै नाम ‘अरिंगाल’ होलान्, मण्डले प्रवृत्तिकै अर्को रुप हो, अरिंगाल । विरोधी आवाज बन्द गराउने र आफ्नो भजन गाउन लगाउने शैली देखिएको छ । ओलीका शैली हेर्दा आफै ‘राज्य मै हुँ’ भन्‍ने भ्रम छ ।

लोकतन्त्रको मूल्य र मान्यतामाथिको प्रहारको रूपमा यसलाई लिनु भएको हो ? 
हो, यसमा कुनै शंका छैन । लोकतन्त्रलाई कमजोर बनाएर सर्वसत्तावाद लाद्‍ने प्रयासमा उद्यत छ, वर्तमान सरकार। त्यसैले हाम्रा नेतागण र महाधिवेशन समितिका सदस्यहरू र जिल्लाका नेताहरू र स्थानीय नेताहरु र भातृ संस्था तथा शुभेच्छुक सम्बध्द सबैमा लोकतन्त्र, संविधान र आमनागरिकको हित र कल्याणका लागि कांग्रेस सशक्त रुपमा आन्दोलनमा उभिनुपर्छ । अधिकांसले यस्तै धारणा राखेको पाएको छु । मेरो पनि यही धारण हो । आम लोकतन्त्रवादीहरूमा लोकतन्त्रका लागि दह्रो रुपमा उभिनुपर्छ भन्‍ने मेरो मान्यता छ । लोकतन्त्रको मूल्य र मान्यतामा कसैले प्रहार गर्छ भने कांग्रेस चूप बस्दैन । नेपाली जानतालाई लोकतन्त्रको खिलापमा जान दिँदैन । यतिबेला मुलुक अस्तब्यस्त पारेको छ । कुनै प्रणालीले काम गरेको छैन । सरकार निदाएर बसेको र आफ्नो स्वार्थ पूर्तिमा लागेको छ । अनि कांग्रेस चूप किन बस्‍ने अब ? 

प्रतिपक्ष कमजोर भएका कारण यो अवस्था आएको हो कि ? 
प्रतिपक्ष कमजोर होला । किनकि प्रतिपक्ष उनीहरु झैं रेलिङ भाच्‍ने, तोडफोड गर्ने, सरकारी कर्मचारी उचाल्ने, जथाभावी बोल्ने र सडकमा सुत्‍ने गर्दैन । प्रतिपक्षले धैर्यता देखाएको छ । कम्युनिष्टले पाँच वर्ष काम गरुन् भनी चूप लागेकै हो । तर, दम्भ, घमण्ड र उन्मादले भरिँदै गएको छ । सरकारी नियत ठीक छैन । यस्तो दृश्य सँधैभरि सह्य हुँदैन । लोकतन्त्रको खिल्ली उडाउने काम कम्युनिष्ट नेतृत्वको सरकारले गरेको छ । यो सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताको कुनै महत्व देखिएन ।

अब सरकारको खराब, भ्रष्ट र अनैतिक क्रियाकलाप विरुध्दमा अब कांग्रेस अघि बढ्छ ।

तर प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको सम्बन्ध निकै घनिभूत रहेको टिकाटिप्पणी पनि उत्तिकै आएको छ, त्यसले प्रतिपक्षलाई पेल्न सहज भएको त होइन ?
लोकतन्त्रमा को व्यक्ति कससँग नजिक छ भन्‍ने कुनै अर्थ राख्दैन । लोकतान्त्रिक मूल्य, मान्यता र पध्दतिका निम्ति काम गर्ने हो । लोकतन्त्रविरुध्दमा कोही जान्छ भने कसैसँग सम्बन्ध भएको आधारमा कांग्रेसजन चूप लागेर बस्दैन । कुन ब्यक्तिसँग कसको सम्बन्ध छ भन्‍ने चिन्ताको विषय पनि होइन । हामीले ध्यान दिने विषय हो । लोकतान्त्रिक ब्यवहार, लोकतान्त्रिक प्रक्रिया, लोकतन्त्र अनुसारको परिणाम हो । तर सरकार ठीक उल्टो बाटोमा हिँड्न थालेको छ । नेपाली कांग्रेस राणा-पञ्‍च राजासँग लडेको पार्टी हो । राजासँग कम्युनिष्टले घाटी जोड्दा समेत कांग्रेस लडिरहेको पार्टी हो । राजाबाट कम्युनिष्टलाई बाहिर ल्याउँदै लोकतान्त्रिक लिकमा हिँडाउने काम गरेको नभुल्न समेत उनीहरूलाई आग्रह गर्छु ।

त्यसो भए अबको योजना के छ त कांग्रेसको ?
अब जसरी राजाविरुध्द कांग्रेस लडेको थियो । त्यही अवस्था देखिँदैछ । कम्युनिष्टसँग लड्न तयार हुनुपर्ने अवस्था छ । तनहुँ प्रशासनको दुब्यवहारको कडा विरोध गरेर मात्र पुग्दैन । अब सरकारको खराब, भ्रष्ट र अनैतिक क्रियाकलाप विरुध्दमा अब कांग्रेस अघि बढ्छ । पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेलसहित कांग्रेस नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशनमा अभद्र व्यवहार हुनु भनेको सर्वसत्तावादको एक नमूना हो । नेपाली लोकतान्त्रिक समाजवादी आन्दोलनका धरोहर, कांग्रेसका वरिष्ठ नेतामाथिको यो नांगो हस्तक्षेप र आक्रमण भनेको समग्र लोकतन्त्रमाथिको आक्रमण हो । किनकि वर्तमान सरकार विकासका विरुध्दमात्र होइन लोकतन्त्रको खिलाफमा सर्वसत्तावादतिर उन्मुख छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x