वार्ता

इकागज सम्वादमा जीवन राई

‘कम्युनिष्टलाई एकीकृत गर्न नयाँ दल दर्ता गर्‍यौँ’

विनोद देवकोटा |
असार ११, २०७८ शुक्रबार १८:३ बजे

गत निर्वाचनमा दुई तिहाइ करिब मत जनताले कम्युनिष्टलाई दिए । तत्कालीन नेकपा आफैं विभाजन भयो । एमाले दुई चिरा परेको छ । माओवादी आधा दर्जन भइसक्यो । दर्जनौं कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता छन् । कति अस्तित्वमै छैनन् । केही बेला बेला विज्ञप्तिमा देखिन्छन् । एकातिर मुलुकमा स्वास्थ्य संकट छ, अर्कोतिर राजनीतिक अनिश्चितता । यही बेला नयाँ दल नेकपा (एकीकृत) दर्ताका लागि तम्सिए जीवन राई । नेकपा एमालेको राजनीतिक स्कुलिङबाट आएका राईले यस्तो बेला दल दर्ता गरे जुन बेला स्वयं एमाले न जुट्न सक्ने न फुट्न सक्ने अवस्थामा छ ।

यतिका कम्युनिष्ट पार्टी र राजनीतिप्रति नै वितृष्णा बढिरहेका बेला उनी किन नयाँ दल दर्ता गर्न तम्सिए ? बाहिर चर्चा भएजस्तै के संस्थापनसँग समानान्तर गतिविधि गरिरहेको एमालेकै माधव नेपाल पक्षले उनलाई अघि सारेको हो ? यसलाई ठाडै अस्वीकार गर्ने राई कम्युनिष्ट एकताका लागि नयाँ दल दर्ता गरेको बताउँछन् । यसै विषयमा केन्द्रित रहेर नवगठित नेकपा (एकीकृत) का अध्यक्ष राईसँग इकागजकर्मी विनोद देवकोटाले गरेको कुराकानीः 


मुलुकमा कम्युनिष्ट पार्टीनै सत्ता र शक्तिमा छ, यस्तो बेला नयाँ कम्युनिष्ट दल दर्ता गर्नुपर्ने आवश्यकता किन पर्‍यो ? 
-समय कति लाग्छ थाहा छैन । तर, दीर्घकालीन हिसाबले भविष्यमा मुलुकमा दुईटा पार्टी मात्रै हुनेछन् । एउटा कम्युनिष्ट र अर्को गैरकम्युनिष्ट । त्यो बेला समग्र कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने कुनै न कुनै माध्यमबाट पहल गर्न जरुरी छ । त्यसैले सबै कम्युनिष्टलाई एकीकृत गर्नुपर्छ भनेर हामीले दल दर्ता गर्‍यौँ  ।

नाम पनि नेकपा एकीकृत राख्नु भएको छ । भनेपछि आफैं मूलधारको पार्टी बन्ने नभइ कम्युनिष्टलाई एकीकृत गर्ने हिसाबले मात्रै दल दर्ता गर्नु भएको हो ? 
-सत्तामा पुग्ने भन्ने त गर्दै जाँदा हुने कुरा हो । कम्युनिष्ट एक हुन जरुरी छ । जनतामा कम्युनिष्टप्रतिको आकर्षण व्यापक छ । जबसम्म मुलुकमा धनी र गरिब भइरहन्छ, तबसम्म कम्युनिष्टको आवश्यकता रहन्छ । तत्काल हेर्दा यो नयाँ पार्टी हो यसको के अर्थ छ र भन्ने हुनसक्छ । तर, लामो समयपछि यो पार्टीको औचित्य पुष्टि हुन्छ । त्यो अभियानमा हामी लाग्छौं । 

जनतामा कम्युनिष्टप्रतिको आकर्षणको कुरा गत निर्वाचनमा पनि केही हदसम्म देखियो । तर, कम्युनिष्ट पार्टीले जनमतको दुरुपयोग गरे । जनअपेक्षअनुसार काम गर्न सकेनन् र भएका पनि विभाजन भइरहेका बेला एकीकृत गर्ने कुरा गर्दै हुनुहुन्छ । कसरी सम्भव हुन्छ ?

-होइन, तत्काललाई सम्भावना देखिँदैन । तर, जरुरी छ । अहिलेको समस्या सिद्धान्त र विचारको होइन । व्यवहारमा समस्या भयो । त्यही व्यवहारका कारण कम्युनिष्टप्रति जनतामा नकारात्मक विचार आयो । तर, बास्तविकता त्यस्तो होइन । 

दलाल पुँजीवादले नीति निर्माणमा प्रभाव पारेको छ । यो एउटा प्रवृत्ति हो । यसमा मात्रै वा त्यसमा मात्रै भनेर हुँदैन । त्यसको नेतृत्व तत्काल हेर्दा कांग्रेसमा देखिएला । तर, त्यो मात्रै होइन । कम्युनिष्टमा पनि छ । नीतिमा प्रभाव पारेको छ । नत्र भने त कम्युनिष्टको सरकार भएपनि जनपक्षीय काम किन हुन सकेन ?

माधव नेपालले उक्साएर पार्टी दर्ता गर्न लगाएको भन्छन् नि ? 
-यसमा कुनै सत्यता छैन । उहाँले पार्टीमा विधि, पद्धति र अनुशासनको कुरा उठाइरहनु भएको छ । त्यसलाई खण्डन गर्ने कुनै आधार नभएपछि उहाँलाई कमजोर बनाउन प्रचार गरिएको कुरा हो । यो पार्टी खोल्नुमा उहाँको कुनै हात छैन । उहाँले हामीले पार्टी बनाएको धेरै पछि थाहा पाउनु भएको हो । 

अब पहिलो काम के गर्नुहुन्छ ? 
-कोभिड संक्रमण अलिकति कम भएपछि भेला आयोजना गर्छौ । संगठन विस्तारमा लाग्छौँ । सबैको समावेशी प्रतिनिधित्व हुनेगरी संगठन विस्तार गर्छौ । समग्र कम्युनिष्ट एक बनाउने उद्देश्य हो । त्यही अभियानमा लाग्छौँ । 

सुरुदेखिनै कम्युनिष्ट पार्टी एकीकरणका लागि पहल गर्ने भन्न खोज्नु भएको हो ?
-आफ्नो पार्टी ठूलो नबनाइ अरुलाई कसरी आकर्षण गर्न सकिन्छ ? समग्र कम्युनिष्टको एकता दीर्घकालीन योजना हो । यो नभइ हुँदैन । ढिलो–चाँडो हुन्छ । तत्काल त हुँदैन । यतिखेर त पार्टीभित्रै बेमेल छ । विचारको होइन कार्यशैलीको मात्रै बेमेल हो । 

जनतामा के भनेर जानुहुन्छ ? अहिलेको कम्युनिष्टले केही गर्न सकेनन् अब हामी गर्छौ भन्नहुन्छ ? 
-हामीले हालका कम्युनिष्टले केही गर्न सकेनन् पनि भन्न जरुरी छैन । केही कोसिस भएको हो । तर, प्रायाप्त भएन । हामीलाई कसैको आलोचना गर्न जरुरी छैन । फुटेर होइन, जुटेर ढिलो चाँडो एक हुनुको विकल्प छैन । हामी त्यही भन्छौं । जुट्न जरुरी छ । 

कम्युनिष्ट पार्टीले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रूपमा कसकाविरुद्ध संघर्ष गर्ने ? वर्तमान समस्या र समाधानका विषयमा रणनीतिक र कार्यनीतिक योजना बनाउँछन् । यहाँहरूको संघर्ष कसकाविरुद्ध हो ? 
-मुलुकमा यतिखेरको समस्या भनेको ‘दलाल पुँजीवाद’ हो । यसैकाविरुद्ध हामीले संघर्ष गर्ने हो । हाम्रो पुँजी कसरी चलिरहेको छ ? बहुर्राष्ट्रिय कम्पनीका उत्पादन बेचेर नाफा खाने काम मात्रै भइरहेको छ । आफ्नै राष्ट्रिय पुँजी विकास गर्ने कुनै योजना छैन। 

दलाल पुँजीवादको नेतृत्व कसले गरेको छ ? कसका विरुद्ध संघर्ष गर्नुहुन्छ ? 
-त्यो त देखिरहनु भएको छ नि । 

त्यो भनेको हो हो ? सबैभन्दा बढी कम्युनिष्टकै नेतृत्वमा छ नि हैन ? 
-सत्तासीन पार्टीमा पनि छत्रछाँया छ । दलाल पुँजीले  नीति निर्माणमा प्रभाव पारेको छ । यो एउटा प्रवृत्ति हो । यसमा मात्रै वा त्यसमा मात्रै भनेर हुँदैन । त्यसको नेतृत्व तत्काल हेर्दा कांग्रेसमा देखिएला । तर, त्यो मात्रै होइन । कम्युनिष्टमा पनि छ । नीतिमा प्रभाव पारेको छ । नत्र भने त कम्युनिष्टको सरकार भएपनि जनपक्षीय काम किन हुन सकेन ? किन अलमल भयो ? 

यहाँको राजनीतिक पृष्ठभूमि पनि कम्युनिष्ट नै हो र एमालेको राजनीतिक स्कुलिङमा हुर्किनु भयो । यहाँहरू वैचारिक र कार्यगत रूपमा कोसँग नजिक हो ? 
-कसैको नजिक भए त किन नयाँ पार्टी  खोल्नुपर्थ्यो र ! कुनै एउटा पार्टी वा समूहसँग नजिक भन्ने छैन । जोसँग हुन्छ त्योसँग मिल्दै जाने हो । विचार मिल्‍नेसँग कार्यगत एकता होला, रणानीतिक होला । कुनै बेला सँगै संयुक्‍त संघर्ष होला । 

हाल भएका पार्टीलाई हेर्ने नजर के हो ? 
-कांग्रेस यथास्थितिवादी पार्टी हो । कम्युनिष्टको विचार राम्रो छ । तर, कार्यशैली जनपक्षीय छैन । कार्यशैली जनताले विश्वास गर्न लायक छैन । विश्वास घट्दो क्रममा छ । राम्रो कुरा जसको पनि लिन सक्छौं । 

एमालेको दुई समूह छ । त्यस्तै मूलधारमा माओवादी पनि छ । उनीहरूलाई हेर्ने दृष्टिकोण के हो ? 
-मैले भने नि विचारमा उनीहरूकोमा कुनै कमजोरी छैन । समस्या कार्यशैलीको हो । कम्युनिष्टका वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म हेर्ने हो, मान्छेले । वडाध्यक्ष र मेयरले के नयाँ गरे त ? त्यही सिफारिस गर्ने काम गरिरहेका छन् । कर्मचारीले बनाएको बजेट भाषण गर्छन् । यो त पुरानैको निरन्तरता मात्रै छ । 
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x