वार्ता

अभिभावकलाई शिक्षा

'संघीयले नसकेको काम स्थानीय सरकारले गर्दा अभिभावक विद्यालय पुगे'

'अभिभावक विद्यालय नगए स्थानीय तहबाट पाउने सेवाबाट वञ्‍चित गरिन्छ'

अतिन आचार्य |
फागुन १, २०८० मंगलबार १७:५० बजे

कोशी प्रदेशको इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम लागू गरिसकेको छ । समाजमा विद्यार्थीले मात्र सिकाइ गरेर हुँदैन । सिक्ने प्रक्रिया जन्मेदेखि मृत्युपर्यन्त सम्म रहन्छ । यस्तै गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई पढाउन सुरु गरेको छ ।

अभिभावकले पनि सँगसँगै सिकेर जानुपर्ने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो बताउँछन् । बाल स्याहार, पोषण, संस्कार, संस्कृति, कानुनी अधिकार र अभिभावकको जिम्मेवारी सिकाउने गरी अभिभावक शिक्षा लागू गरिएको उनले बताए ।


नेता, प्रशासक, अभिभावक तथा सरोकार निकायले शिक्षाको गुणस्तर सुधार्ने भनिरहेका हुन्छन् । शिक्षाको गुणस्तर सुधार्न के के गर्नुपर्छ भनेर सूक्ष्म अध्ययन कसैले गरेको देखिँदैन,’ उनले भने ।

विद्यालयमा विद्यार्थीको संख्या बढाउनुपर्नेमा अभिभावकलाई पढाउन किन थाल्यो भन्ने आदि यस्तै कुरा बुझ्न इकागजकर्मी अतिन आचार्यले रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोसँग गरेकाे कुराकानीः

देशभर सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको समयमा अभिभावकलाई स्कुलसम्म डोर्‍याउनु पर्ने त्यस्तो के आइलाग्यो ?

अभिभावक शिक्षा नीति कार्यक्रममा राखेर कार्यविधि बनाएका छौ । सहजीकरण पुस्तिका प्रकाशन गरेर २३ जना सहजकर्ता शिक्षक छन् । शिक्षकलाई पाँच दिनको तालिम दिएर तयारी अवस्थामा राखेका छौ । अनुपस्थित अभिभावकलाई वडाबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिन्छ । वडाको सिफारिस उपलब्ध गराउँदैनौ । यसका लागि हामीले कानुन बनाइसकेका छौ ।

अभिभावकलाई पढाउनुपर्ने खास उद्देश्य के देख्नुभयो?

नेता, प्रशासक, अभिभावक तथा सरोकारवाला निकायले शिक्षाको गुणस्तर सुधार्ने भनिरहेका हुन्छन् । शिक्षाको गुणस्तर सुधार्न के के गर्नुपर्छ भनेर सूक्ष्म अध्ययन कसैले गरेको देखिँदैन । तीनै तहका सरकारले वास्ता गर्दैनन् । शिक्षाको मुख्य फ्रन्टलाइनर भनेका शिक्षक हुन् । केही शिक्षक हाम्रो प्रवृत्तिका र राम्रा शिक्षक पनि छन् । राम्रो शिक्षकहरूको मनोबल गिरेको छ । शिक्षाको गुणस्तर खस्किनुमा शिक्षकलाई दोष लगाएर बसेका छन् । उनीहरू टाउको उठाएर बस्न सक्ने अवस्थामा छैनन् । हाम्रो प्रतिनिधि त्यो अवस्थामा त्यस्तो अवस्थामा रहेपछि शिक्षाको गुणस्तर कसरी सुधार्न सकिन्छ । शिक्षकको उच्च सम्मानसहित राम्रोलाई प्रोत्साहन र नराम्रोलाई दुरुत्साहनसहितको नीति लिने गरेर गाउँपालिकाले यो अभियान थालेको हो । १८ घण्टा बालबालिका अभिभावकसँग रहन्छन् । विद्यार्थीले धेरै समम अभिभावकसँग बिताउने गरेका छन् । अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । बाल स्याहारमा अभिभावकले ख्याल नगरिँदा उनीहरूको मानसिक तथा शारीरिक रुपमा वृद्धि नहुँदा समस्या आउने गर्छ । बाल स्याहार, पोषण, संस्कार, संस्कृति, कानुनी अधिकार र अभिभावकको जिम्मेवारी तथा कर्तव्य सिकाइन्छ । साथसाथै अभिभावकले समाजमा भएका गतिविधि, कृषि, डिजिटलाइजेशन तथा अन्य विषयमा अभिभावक साथीसँग आफूले जान चाहेको ज्ञान लिन सक्छन् । अभिभावकले सामाजिक अभियानका कामहरू गर्न सक्नुहुन्छ ।

शिक्षा लिन चाहने अभिभावकलाई कहाँ-कहाँ गएर पढ्न सक्छन् ?

प्रत्येक वडामा रहेका सबै विद्यालयमा स्थान तोकिएको छ । गाउँपालिकामा कुल ३० वटा  विद्यालय छन् । सबै विद्यालयमा यो कार्यक्रम लागू हुन्छ । प्रत्येक महिनाको एक दिन अभिभावकलाई पढाइन्छ । महिनाको अन्तिम शुक्रबार अभिभावकलाई बोलाएर पढाइन्छ । सम्बन्धित विद्यालयका शिक्षकले अभिभावकलाई बोलाउनु हुन्छ । सोही अनुसार आफ्ना सन्तानले अध्ययन गरिरहेका विद्यालयमा हाजिर भएर अभिभावकले अनिवार्य पढ्नुपर्छ ।

गाउँपालिकामा अभिभावक शिक्षा कहिलेदेखि लागू भएको हो ?

गाउँपालिकामा हामीले कार्यविधि पास गरेको चार महिना भयो । जनशक्ति, पुस्तिका तथा सफ्टवेयर डाटा तयार गर्न केही समय लाग्यो । अभिभावक हाजिर भए या भएनन भनेर वडा र गाउँपालिकाले एकसाथ हेर्न मिल्ने गरी सफ्टवेयरको विकास गरेका छौ । सबै अभिभावकको सफ्टवेयरमा हाजिरी गर्नेछौ ।

डाटा सफ्टवेयरको किन जरुरी देख्नुभयो ?

शिक्षाको लागि हामीले अहिलेसम्म शिक्षकको प्रयोग गरिरहेका छौ । अभिभावकको शैक्षिक योग्यता पनि सफ्टवेयरमा राखिन्छ । भविष्यमा पाँच दश दिन तालिम दिनुपर्दा अभिभावक पनि तालिम दिन सक्ने हुन्छन् । बाल स्याहार, पोषण भनेको के हो यी सबैको बारेमा बताउन सक्छन् । अभिभावकका लागि राम्रो होस भनेर यो विधि अपनाइएको हो ।

अभिभावलाई हाजिर गर्ने कस्तो व्यवस्था मिलाउनु भएको छ ?  

पढ्न आउने अभिभावकलाई परिचय कार्ड दिन्छौ । उनीहरूको परिचयपत्रमा क्युआर कोड हुन्छ । क्युआर कोड स्क्यान गरेपछि हाजिरी हुन्छ । को आयो या आएन भनेर त्यो हाजिर तत्काल वडा र गाउँपालिकाले जनप्रतिनिधिले हेर्न सकिन्छ । विद्यालय नआउने अभिभावकको स्थानीय तहबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन्छन् । विपद र भवितव्य बाहेकका अन्य सबै सेवा सुविधा रोकिन्छन् ।

गाउँपालिकामा अभिभावक शिक्षा कहिलेदेखि कार्यान्वयनमा आउँछ ?

माघ २६ गतेबाट ११ विद्यालयमा अभिभावक शिक्षा लागू भइसकेको छ । यसको महत्त्वको बारेमा प्रकाश पार्नुपर्ने भएकाले ११ वटा विद्यालयमा २३ जना सहजकर्तालाई पठाएर यसको सुरुवात गरेका छौ । सबै विद्यार्थीका अभिभावक विद्यालयका कक्षा कोठामा नअट्ने भएकाले पहिलो चरणमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई बोलाएर शिक्षा दिन सुरु गरेका छौ ।

अभिभावकलाई पढाउन पाठ्ययोजना बनाइएको छ या छैन ?

पढाउने कुरामा सधैँ योजना बनाइन्छ । अझ अभिभावकलाई पढाउने कुरामा योजना नहुने कुरै भएन । हामीले विशेषगरी बाल स्याहार, पोषण, संस्कार, अभिभावकको भूमिका, इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग, कुरीति र सामाजिक भेदभाव जस्ता विषयहरूलाई पाठयक्रममा समावेश गरिएको छ ।

विद्यालयमा पढ्न आउने अभिभावकबाट कुनै शूल्क लिनु भएको छ या सबै निःशुल्क हो ?

गाउँपालिकाले अहिलेसम्म कुनै शुल्क लिएको छैन । स्टेशनरी र चिया नास्ता खर्च भइरहेको छ । त्यसमा हामीले केही सोचिरहेका छौ । सुरुमा हामी निःशुल्क उपलब्ध गराउँछौ । हाम्रो अभियान भनेको अभिभावकलाई विद्यालयको प्राङ्गणसम्म टेकाउनु हो । यो सबै अभिभावकको लागि गरिएको हो । राज्यलाई भार बोकाउनु भन्दा पनि हामीले किन सुरुवात नगर्ने भनेर अगाडि बढाएका हौ ।

अभिभावकले विद्यालयमा महिनाको कुन दिन उपस्थित हुनुपर्छ ?

महिनाको अन्तिम शुक्रबार अभिभावकले स्कुलमा जानुपर्छ । तीन घण्टा कक्षा लिने गरेका छौ । यहीँ शैक्षिक सत्रमा सबै विद्यालयमा पुग्न भ्याइने रहेछ । नयाँ शैक्षिक सत्रमा अरु २३ जना सहजकर्ता थप्ने योजनामा छौ । हामीसँग सहजकर्ताको संख्या कमी छ । नयाँ शैक्षिक सत्रदेखि सफ्टवेयरमा सबै अभिभावकहरू हाजिर भइसक्नु हुनेछ । अब झन चुस्त ढंगले बढ्ने र जसको कारणले विद्यालयको शिक्षा गुणस्तर बनाउन सहयोग गर्नेमा विश्वास लिएका छौ । आगामी तीन महिनाभित्रमा, जनशक्ति कानुन र अभ्यासमा सुधार्नुपर्ने सबै कामहरू गरेर सक्छौ । पहिलो चरणको कार्यक्रम विद्यालयमा पुग्दा बाँकी कामहरू गरेर सक्ने योजनामा छौ ।

उपस्थित अभिभावकहरूमा शिक्षा साक्षरताको स्तर वा अवस्था कस्तो पाउनु भयो ?

विद्यालयमा तीन जना अभिभावक मास्टर डिग्री गरेका आउनु भएको छ । स्नातक तहका २६. १ प्रतिशत, प्रवीणता प्रमाणपत्र तह पास गरेका ८.७ प्रतिशत, साक्षरता २४.८ प्रतिशत, माध्यमिक शिक्षा पुरा गरेका १५.५ प्रतिशत लगायतका अन्य प्राथमिक, माध्यमिक र सामान्य साक्षर अभिभावकहरू आउनु भएको छ ।

विद्यालयमा महिला वा पुरुष कुन अभिभावकको संख्या बढी छ ?

पुरुष अभिभावक भन्दा महिला अभिभावकको संख्या बढी छ । ७१.३ प्रतिशत महिला छन् भने पुरुष अभिभावक २८.७ प्रतिशत पुरुष अभिभावक छन् । गाउँपालिकाको तीस विद्यालयमा कुल २ हजार ४४९ विद्यार्थी छन् ।

पुस्तक अभिभावकले पाउँछन् या पाउँदैनन् ?

अहिले तत्कालको लागि अभिभावकले पुस्तक पाउनुहुन्न । सहजकर्ताले मात्र पाउनुहुन्छ । तीन सय थान पुस्तक छापेका छौ । सहजकर्ताको रुपमा हामीले विद्यालयका शिक्षकलाई बनाएका छौ । शिक्षकले सहजकर्ताको भूमिका निभाउँदा विद्यालयमा कतिको असर गर्छ त्यसको अध्ययन गर्दैछौ । त्यसो भएमा हामी बाहिरबाट ल्याउने कि भनेर सोच्दैछौ । यो तीन महिनामा सबै सुधार्नुपर्ने कार्यक्रमहरू सुधारेर जानेछौ ।

तपाईहरू अभिभावकलाई विद्यालयसम्म शिक्षा लिन पुर्‍याउँने देशकै पहिलो स्थानीय तह हो ?

हामी पहिलो स्थानीय तह हौ । तर,  कार्यक्रम भने पहिलो होइन । शिक्षा मन्त्रालयले आजभन्दा दशौं वर्ष अगाडि अभिभावक शिक्षा कार्यक्रम ल्याएको थियो । तर, कार्यान्वयन गराउने कुरामा मन्त्रालय पछि परेको थियो । २१ हप्ताको लागि अभिभावकका लागि पढाउने सहजीकरण पुस्तिका रहेछ । मन्त्रालयको विज्ञ ल्याएर हामीले सहजकर्तालाई तालिम प्रदान गर्‍यौ । संघीय सरकार ल्याएको कार्यक्रम कार्यान्वयनमा आएन तर स्थानीय तहले नीति बनाएर लागू गरिसक्यो । अभिभावकलाई पढाउने पहिलो स्थानीय तह रोङ गाउँपालिका हो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x