वार्ता

अन्तर्वार्ता

'पत्रकारिताले जुन चोट दिनुपर्थ्याे अहिले त्यसले चोट हान्दैन'

इकागज |
बैशाख २४, २०८० आइतवार १६:५१ बजे

विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय छन् । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहेका छन् । विसं २०२० मा राससमा सेवा प्रवेश गरेका उनी विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्किएका थिए । राससमा केही वर्ष प्रमुख समाचारदाता रहेका उनी त्यतिबेला देशकै चर्चित पत्रकार मानिन्थे भने अहिले पनि उनी उत्तिकै सक्रिय छन् ।    
    
प्रस्तुत छ, राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताका एक जिउँदो साक्षी रिसालसँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारी र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :    
    
तपाईंले अभ्यास गरेको बेलाको पत्रकारिता अहिलेको पत्रकारिताबीच के भिन्नता पाउनुहुन्छ ?    
    
पहिले पत्रकारिता थियो, अहिले पत्रकारिता छैन, पहिले पत्रिकामा लेखेको कुरा राज्यले सुन्थ्यो । एउटा घटना सुनाउँ, डिल्लीबजार चारखाल अड्डामा त्यहाँका सिपाहीले शनिबार खसी काटेर भाग लगाएर बेच्दै रहेछन्, म त्यस बेलाको पत्रिका हाँकको कार्यालय जान लागेको थिए, त्यहाँ खलबल सुनियो, शनिबार केको खलबल भन्ने लाग्यो, पत्रकार हुनुको नाताले जिज्ञासा भयो, यसो हेरेको त मासुको भाग लगाइराखेको देखें, मैले अफिसमा गएर कुरा राखे खबर हुन्छ कि हुन्न मलाई थाहा छैन भने, मित्रहरुले लेख भने अनि लेखें । त्यो बक्स न्युज भएर छापिएछ । त्यो भएपछि टङ्कप्रसाद आचार्य आगो हुनुभयो । मलाई बेलाउन पठाउनुभयो, म गएँ । के गरेको यो भनेर जाग्नु भयो, हप्काउनुभयो । मैले तपाईले खास किन बोलाउनुभएको मलाई भनेँ, उहाँले के गरेको भन्नुभयो, “मैले त्यही गरेको भएर न तपाईले बोलाउनुभयो, अनि मैले छापेको भनेँ । यसको अर्थ त्यो बेला पत्रकारिता थियो । अहिले पत्रकारिता छैन । अहिले पत्रिकामा कुनै समाचार छापियो भने प्रधानमन्त्रीले बोलाएर गाली वा माया गर्दैनन् । म त्यसरी हेर्छु ।     
    
अहिलेको पत्रकारितालाई कसरी हेर्नुभएको ?    
    
अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपर्थ्याे अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन । अहिले जे जत्रो अक्षरमा लेखे पनि सरकार वा अन्य कुनै निकायले सुन्दैन । त्यतिबेला समाचारको ठूलो महत्व हुन्थ्यो । व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ ।    
     
पहिलेको तुलनामा नेपालको पत्रकारिता निकै विकास भएको , यसमा यहाँको भनाइ के ?    
    
 पैसा कमाउनेले यसै भन्छन्, कहिलेकाहीँ जागिर जोगाउन पनि भन्न पर्ला । त्यस बेलाको पत्रकारिता पैसा कमाउनलाई होइन, एउटा मिसनका रुपमा गर्ने भन्ने थियो । मैले पत्रकरिता पढेको होइन, त्यो पढेको भए म बिग्रन्थे कि ? गर्दै सिक्दै गरेको मानिस हुँ । तपाई अहिलेसम्म सोध्दै हुनुहुन्छ पत्रकार भनेर ? त्यति बेला मात्र होइन, अहिले पनि त पत्रकार नै रहेछु नि ! तर अब भोलिका दिन यसरी जीवन्त रहन गाह्रो देख्छु ।    
    
अहिलेको नेपाली पत्रकारिताका चुनौती के हुन् ?    
    
अहिलेको पत्रकारिता असाध्यै यान्त्रिक हुँदै गएको छ । सूचना त पाइन्छ तर समाचारको गुदी हुँदैन । अहिलेको पत्रकारिताको चुनौतीबारे हाकाहाकी भन्ने हो भने, पैसा कमाउने पत्रकारिता भयो । एकथरि जागिर खाने पत्रकारिता भयो त्यो छँदैछ। अहिले ठ्याक्कै जागिर खाने र पैसा कमाउनेमा मात्र सीमित भएको छ पत्रकारिता । निजी क्षेत्रका पत्रकार पैसा कमाउन तिर गए, सरकारी चाहि जागिर खानतिर लागे । यसले गर्दा निस्पक्ष पत्रकारिता रहन सकेन । यो नै अहिलेको पत्रकारिताको मुख्य चुनौती हो ।    
    
अहिलेको पत्रकारितामा सुधार गरी ओज बढाउन यहाँको सुझाव के ?    
    
पत्रकारले पत्रकारिता गरेपछि पत्रकार नै हुनुपर्छ । व्यापार, नाफा नोक्सान हेर्न भएन । जे हुन्छ पत्रकारिता नै गर्नुपर्छ । त्यो भनेको साँचो कुरा नढाँटी दिने हो । सत्यकुरा जस्ताको त्यस्तै दिने हो । जस्ताको त्यस्तै दिनु नै पत्रकारिता हो । साहित्य मिसाएर अलि राम्रो बनाउन खोज्नु बेग्लै कुरा हो ।    
    
मुलुकमा अहिले विकास भएको मिडिया सङ्ख्यालाई कसरी हेर्नुभएको ?    
    
समस्या नै यही त हो नि । मिडिया धेरै हुनु पनि एउटा कारक हो । एउटा जिल्लामा एक÷दुईवटा एमएम भए पुग्नेमा १० वटासम्म भएको सुन्छु । यसले गर्दा कर्मचारीले तलब खान पाउँदैन । मिडिया पनि राजनीतिक दल पिच्छे हुन गए । जसले सही सूचना र समाचार पस्कनको साटो जनतालाई भ्रम फैलाउने काम गर्दै आएका छन् । गुप्तचरीका लागि पनि पत्रकारिता प्रयोग गरिएको छ ।    
    
इन्टरनेटको प्रवेशसँगै पत्रकार बन्ने होड बढ्न थालेको देखिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?    
    
 त्यही भएर त बिग्रेको छ नि पत्रकारिता ! प्रविधिले मानिसलाई महाअल्छी बनाएको छ । त्यही छ नि भनेर मेहनत नै गर्न नपर्ने भयो । छान्न पाइयो कुन लिने कुन नलिने भनेर । छान्ने अधिकारले पनि पत्रकारिता चिप्लिएको छ । सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हुनुपर्ने हो, त्यो गुणात्मकता मिडियाको सङ्ख्यामा पनि छैन र पत्रकारको सङ्ख्यामा पनि छैन ।    
    
प्रविधिले झन सजिलो बनाएको होइन ?    
    
 प्रविधिले फड्को मारेको हो, पत्रकारिताले होइन । प्रविधिको प्रयोगले बाठोले फाइदा लिन्छ । अरुले लिन सक्दैन । ठूला मिडियामा भएकै मानिस पनि अनलाइनमा गए । त्यसकारण पछिल्लो कालखण्डमा पत्रकारिता क्षेत्र व्यापक भएको होइन, बिथोलिएको हो । निष्ठा र विश्वास हराउँदै गएको हो । पक्कै पनि प्रविधिले प्राविधिकरुपले सजिलो त बनाएको छ, तर खास पत्रकारिताको ज्यान जोगाउन सकेन ।    
    
पत्रकारितामा लागेर बाँच्नसक्ने अवस्था छैन भनिन्छ नि ?    
    
 त्यसको औषधि त खै के छर ! मुख्य कुरा भनेको इमान्दारी नै हो । पैसामा नबेचिने हो । त्यो नहँुदा बाँच्न त अप्ठ्यारो नै प¥यो नि हगि ? परिवार होलान् । यो कुरा राष्ट्रको मूल मान्छे अर्थात् नेतृत्व गरेर जसले परिवर्तन गर्न सक्छ, उसले विचार गर्ने कुरा हो । उनीहरुको समस्या हुनुपर्नेमा लेखेर खानेको समस्या हुन गयो ।    
    
सुधारका लागि कसले नेतृत्व लिनुपर्ला जस्तो लाग्छ यहाँलाई ?    
    
 नेतृत्व अरु कसैले लिने नै होइन, व्यक्ति विशेष आफैँ सप्रनु र सुध्रिनुपर्छ, यसले भन्ने नै छैन । आफैँले हेर्ने हो । तपाई केटाकेटी हुनुहुन्न । हात समातेर हिँड्नुपर्ने अवस्था छैन, कहाँ लडिन्छ वा लडिन्न भन्ने हेर्नुपर्छ । अर्काेले समातेर हिँडाउँदा लडिने सम्भावना बढी हुन्छ । पत्रकारिता क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधिको प्रयोग र सहायताले विषयवस्तु खोतल्ने मात्र होइन, अब यस्तो हुनसक्छ भनेर पूर्वानुमानसमेत गर्न थालेको छ, तर केही मिल्छ, केही मिल्दैन । नमिले पनि नोक्सान गर्दैन मिलेमा फलानाले भनेको थियो भन्छन् नि ! अहिले बास्तविकताभन्दा बढ्याइले धेरै काम गरिरहेको छ ।    
    
पत्रकारिता पेसा मर्यादित अवसर प्राप्त पेसा हो नि ?    
    
 पत्रकारिता समाजको धुमधाम मर्यादित पेसा हो । समाजले यस्तो लेखेछ भन्छन् । पटाहा तर्सने, असल मानिस प्रोत्साहित हुने त्यो न हो । अहिले त्यो छैन । मैले थाहा पाएसम्म । एउटा मान्छेले प्रधानमन्त्रीलाई चिन्दा दङ्ग हुन्छ । मैले नौ वटा प्रधानमन्त्रीसँग काम गरँे । काम गर्दै जाँदा कोहीसँग राम्रो रह्यो कोहीसँग त्यो हुन सकेन अलग कुरा भयो । तर त्यो मौका त मैले पाएँ नि ? अर्का एउटा प्रोफेसर वा डाक्टरले त पाउँदैन । त्यो मौका मैले पाएँ । पत्रकारले मौका पाउँछ, तर त्यसलाई टिप्न सक्छ कि सक्दैन त्यो अलग कुरा हो ।    
    
त्यो नहुनुका कारण के हुन सक्छ ?    
    
 नहुनेका कारण भनेका हामी लोभानी पापानीमा फस्यौँ । उसले नि कमायो, अर्कोले नि कमायो, म मात्र के गर्ने भन्ने त्यो अवस्थाले पनि बिगारेको छ । सँगैको साथी मोटर चढछ, म पानीमा झिजेर हिँड्छु भन्ने जस्तो हुँदोरहेछ । त्यसैले निष्ठाको व्रतमा बस्न गाह्रो छ । अवसर हुँदा हुँदै पनि मर्यादामा बस्न नसक्दा नै आज पत्रकारप्रति समाजको हेर्ने दृष्टिकोण राम्रो छैन । हिजो यस्तो थिएन ।    
    
सरकार राजनीतिक दल पनि पत्रकारिताको विकासमा चिप्लिएका हुन्   
    
 यसमा राजनीतिक दल र सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि चिप्लिएका मात्र होइन, वेइमानी समेत गरेको अवस्था हो । जस्तो राजनीतिक दलका नेता कुनै घटनामा मुछिँदा परिस्थितिको सामना गर्नुपर्छ, बहादुर र इमान्दारले भागेर हुन्न ।    
    
मर्यादामा रहेर काम गरिरहेकाले पनि यो पेसामा लाग्न आफ्ना सन्ततिलाई प्रेरित गरिरहेको देखिन्न नि ?    
    
 कति मर्म रहेछ हेर्नुस् त, उसले त्यसो भन्न नपर्ने हो नि ! यस्तो अवस्था आउनु भनेको दुर्भाग्य हो । यो अवस्था हामी पत्रकारले नै ल्यायौँ । राजनीतिवाला यति फटाह भए कि अहिले । पहिले त यस्तो फटाहा थिएनन् । विश्वेश्वर, टङ्कप्रसादजस्ता नेताहरु केही ढाँट्दैनथे । त्यतिबेला उहाँहरुलाई भेट्न पत्रकार आयो भनेपछि चिट पठाउन पर्दैनथ्यो । चिया पनि उनीहरुले खाने बेलामा दिन्थे नत्र दिदैन थिए । पत्रकारिता मर्यादित हुन सम्पूर्ण जगत नै सप्रनुपर्छ । नेपालमा मात्रै सप्रिएर हुन्न । हिन्दुस्थान र चिनमा पनि त्यस्तैछ ।    
    
अन्त्यमा राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा यहाँको केही सन्देश कि ?    
    
 मुलुकको पत्रकारिता क्षेत्रलाई सपार्न सबैले प्रण गर्नुपर्छ, त्यो खोज्नुपर्छ । सपार्न खोज्ने पत्रकार पत्रकार भएर बाँच्न पाउनुपर्छ । ठूला नाम चलेका पत्रकार र ठूला अखबार विज्ञापन आउने र नआउनेमा भर पर्दाेरहेछ । विज्ञापन दिएमा पक्षमा नदिएमा विरोध गर्ने अनि विपक्षमा लेख्ने हुँदो रहेछ । त्यो नगरौ । प्राप्ति एउटा कुरा हो, ‘डेलिभरी’ अर्काे कुरा हो । डेलिभरीलाई प्राप्तिसँग दाँज्न हुँदैन । मैले के पाएँ र पक्षमा दिने केही पाइन भनेर विपक्षमा लेख्ने नगर्ने हुनुपर्छ । साँचो कुरा दिँदा जे हुन्छ, त्यही हुन्छ । यसो हुन सक्यो भने मात्रै भविष्यमा पनि पत्रकारिता दिवसको सन्दर्भिकता रहन सक्छ ।

 



Author

थप समाचार
x