वार्ता

लघुवित्तले ऋण असुलीको नाममा सरसामान उठाउनु गलत हो : पूर्वअध्यक्ष लम्साल

'लघुवित्त खारेज गर्नुपर्छ भन्नु मिटरब्याजीलाई प्रोत्साहन गर्नु हो'

इकागज |
फागुन ११, २०७९ बिहीबार १६:३९ बजे

न्यून आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न वा उत्पादनमूलक काममा लगानी गर्न जनतालाई सहायता दिने उद्देश्यले लघुवित्त संस्थाहरू विगत ३० वर्ष अगाडिदेखि सञ्चालनमा छन् । सरकारले जुन उद्देश्य, मर्म र भावनाका साथ लघुवित्तहरू खोलेको हो त्यसअनुसार चल्न नसकको गुनासाहरू आउन थालेका छन् । लघुवित्त संस्थाहरूले मुलुकको गरिबी निवारण गर्न र वित्तीय पहुँच पुर्‍याउन खेलको महत्वपूर्ण योगदान पनि रहेको छ । तर, पछिल्लो समय लघुवित्तकै कारण ग्रामीण क्षेत्रका विशेषगरी महिलाहरू पीडित बनेको समाचार बाहिरिरहेका छन् । लघुवित्तहरूले सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्ति बढ्दै गएको लघुवित्त पीडितहरूको गुनासो छ । लघुवित्तबाट ऋण लिने परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्था हुनु राज्यको नियमनकारी निकाय वा स्वयं संस्था आफैँ हो । लघुवित्तको कमजोरी कहाँ कसरी भयो ? लघुवित्तमा देखिएको वर्तमान समस्या समाधान गर्न लघुवित्त र सरकारले कस्तो कदम चाल्दैछ भन्ने विषयमा लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालसँग गरिएको कुराकानीकाे सम्पादित अंश:​

पछिल्लो समय बाहिर आएका लघुवित्त संस्थाहरूमा देखिएको समस्याको वास्तविकता कस्तो हो ?


पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूसँग जोडिएको समस्या धेरै विषय वस्तुसँग जोडिएको समस्या हो । सबैभन्दा पहिला पछिल्लो मुलुकको आर्थिक अवस्था हो । जसमा आर्थिक मन्दी हो । विश्व नै आर्थिक मन्दीमा रहेको छ । त्यसको चपेटामा नेपाल पनि पर्छ । उद्योगी व्यवसायमा समेत प्रभाव परेकाले व्यापारमा समेत मन्दी देखिएको छ । विगतमा एक सय रूपैयाँको व्यापार गर्नेहरूले पनि १० रूपैयाँ व्यापार गरेर बस्न बाध्य भएका छन् । आर्थिक रूपमा सबै मानिसहरू समस्यामा छन् । आर्थिक चक्रमा यस्तो हुन्छ । कोभिड महामारीपछि आर्थिक समस्याको प्रभाव र रुस र युक्रेन युद्धको प्रभावका कारण पनि समस्या रहेको छ । यस्तो अवस्थाका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूलाई आफ्नो व्यापार व्यवसाय चल्न सकेको छैन तर ऋण तिर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थाहरूले व्यापार व्यवसाय चलेको छैन भनेर ऋण उठाउन छोड्दैन । ऋण उठाउन जाँदा अहिलेको अवस्थामा आएको हो । लघुवित्तको हकमा सञ्चालनमा कमीकमजोरी र एउटा व्यक्तिहरूलाई धेरै लघुवित्तहरूले ऋण दिएको कर्जा सूचना केन्द्रको डाटा थिएन । कुनै पनि व्यक्तिले कतैबाट पनि ऋण लिएको छैन भनेपछि लघुवित्तले ऋण दिने प्रचलन भयो । त्यो कारणले पनि अहिले धेरै संस्थाहरूले एउटै व्यक्तिलाई ऋण दिएको अवस्था देखिएको छ । त्यसले मल्टिपल ल्याण्डिङ भएर एउटै व्यक्तिलाई ऋणको भार धेरै भएको देखियो । यो विषयमा लघुवित्त संस्थागत र व्यक्तिगत रूपमा कमजोरी भयो । पछिल्लो समय अर्थतन्त्रमा संकट देखिएकाले बैंक तथा वित्तीय संस्थाहरूले ऋण तिर भन्नु स्वाभाविक हो । पैसाको अभाव भइरहेको अवस्थामा व्यक्तिहरूसँग ऋण उठाउन खोज्दा समस्या भयो । ग्राहकहरूले धेरै लघुवित्त संस्थाहरूसँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा समस्या आयो । त्यस्ता ऋणीहरू कहाँ गएर यो ऋण नतिर्न पाए हुने थियो भनेर अहिले लघुवित्त संघर्ष समिति र मिडियामा गएर भन्ने गरेको देखिएको हो । विगतमा लघुवित्तहरूले गर्दै आएको कमजोरी र अहिले भइरहेको आर्थिक मन्दीका कारण सिर्जना भएको समस्या हो ।

लघुवित्त संस्थाहरूमा आएका समस्याको जड के हो, यो कसरी आयो ?

समस्या आउनुमा लघुवित्त संस्थाहरू नै जिम्मेवार छौं । संस्थागत रूपमा लघुवित्त संस्थाहरू धेरै भएर पनि होला । तर, त्यसको करेक्सनको सुरुवात भएको छ । मर्जरका कारण संस्थाहरू कम हुँदै गएका छन् । दर्ताको प्रक्रियाका कारण पनि धेरै संस्थाहरू भए । त्यसपछि जसरी लघुवित्त संस्थाहरू सञ्चालनमा आए ति संस्थाहरू तत्काल नाफा ल्याउने प्रतिष्पर्धा पनि रह्यो । तर, नियमन कानुन भित्र रहेर नै त्यो काम भए । धेरै लगानी गरेर धेरै नाफा गर्छु भन्ने कुरा गुणस्तर घट्ने पनि कानुनविपरीत होइन । लघुवित्तको ब्याजदर,सेवा शुल्क नियमन निकायले तोकेको गर्ने र तत्काल नाफा कमाउने रफ्तारमा जाँदा समस्या आएको हो । त्यस्तै,लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरूले पनि वित्तीय साक्षरता बैंक तथा वित्तीय संस्थाहरूबाट लिने ऋणको विषयमा जानकारी नलिएकाले समस्या देखिएको हो । यसको सुरुवात लघुवित्त संस्था दर्ता र पछिल्लो समय समाजको संरचना परिवर्तन भएको छ । जहाँ लघुवित्त सामूहिक ऋणमा चल्ने हो तर अहिले एकले अर्कोको जवानी बस्दैन । एक जना ऋण तिर्न नसकेर भागिदिँदा समग्र समूहमा समस्या देखिएको छ । लघुवित्तको जुन सामूहिक मापदण्ड रहेको छ त्यो नहुँदा समस्या देखिन्छ । यी सबै समस्या अर्थतन्त्रमा समस्या परेको बेला देखिएका कारण यस्ता समस्याहरू बाहिर देखिएका हुन् । विगतमा पनि यस्ता समस्या हुँदै आएका हुन् ।

लघुवित्त वित्तीय संस्थाहरू जुन मूल्य र मान्यतामा चल्नुपर्ने हो, तर त्यो निश्चित मूल्य र मान्यता भन्दा बाहिर गएर जल्न खोज्दा यस्तो समस्या आएको त होइन ?

लघुवित्तहरू जुन मूल्य र मान्यतामा चल्नुपर्ने थियो त्यसरी नचल्दा पनि आएको हो । लघुवित्त संस्था सञ्चालनमा निश्चित मापदण्ड भन्दा बाहिर गएर चल्न खोजेको कुरा हामीले स्वीकार गर्छौं । लघुवित्तले ऋणीहरूलाई कति वित्तीय साक्षरता दिनुपर्ने,सचेत बनाउनु पर्ने नियम छ । त्यो नियम भन्दाविपरीत धेरै बाहिर पनि गएको होइन । तर, लघुवित्तले गर्नुपर्ने काउन्ट सेलिङमा कमी भएको हो । तर, अहिलका नागरिक धेरै कानुनी प्रक्रिया पूरा गर्न चाहँदैन । छिटो काम चाहिन्छ । अहिलेको युवा पुस्ता प्रक्रिया पूरा गर्नु भन्दा लघुवित्तलाई नै गाली गर्नुहुन्छ । लघुवित्तहरूले ऋण दिन कडाइ गर्न थाल्यो भने लघुवित्तले ऋण नै दिँदैन भनेर विरोध गर्न सुरु हुन्छ । संस्थाले ऋण दिन पनि विभिन्न प्रक्रिया देखाएर बिनाकारण दुःख दिन्छ भन्ने समस्या आउँछ । दियो भने सजिलै किन दिएको भनेर प्रश्न गरिन्छ । यो समस्यामा लघुवित्त र ऋण लिनेहरू दुवैको कमजोरी छ । 

लघुवित्त संस्थाहरूमा अहिलेको वर्तमान समस्या आउनुमा नियमन निकाय राष्ट्र बैंकको नियमनमा कमजोरी भएर हो वा संस्थाहरू स्वनियमन हुनुपर्ने हो तर स्वनियमन हुन नसक्दा पनि समस्या आएको होइन ?

लघुवित्तको सिद्धान्त स्वनियमनमा बस्ने हो । स्वनियमनमा पनि बस्छौं । स्वनियमनमा बस्न नसकेको होइन । बसेका छन् । तर, कुनै एउटा व्यक्तिले १५ लाख ऋण लग्यो । त्यो राष्ट्र बैंकको नियमन भन्दा फरक हो । यसमा प्रश्न आउँछ । लघुवित्तहरूमा विगतमा कर्जाको डाटा बेस थिएन । कुनै एउटा महिला आएर समूहमा बस्यो । कतैबाट ऋण लिएको छ भनेर सोध्दा छैन भन्छ । उसले लिएको कर्जाको डाटा हेर्ने माध्यम लघुवित्तसँग थिएन । त्यस्तो अवस्थामा एक जना ऋणीले कतै ऋण लिएको छैन भन्दै धेरै संस्थाहरूमा ऋण लिने गरेको देखियो । अन्य कुनै संस्थामा ऋण लिएको छैन । ऋण दिनु भनेपछि लगानी गर्ने संस्थाले ऋण दिन्छ । तर, ऋण लिने व्यक्तिले लघुवित्तलाई अन्य संस्थाबाट ऋण लिएको विषयमा जानकारी दिएन । त्यसैले लघुवित्तको सिस्टमले लघुवित्तमा ऋण लिन आउने ग्राहकले अन्य संस्थाबाट लिएको ऋणको डाटा लिन अहिले पनि सक्दैन । एक, दुई वर्षदेखि कर्जा सूचना केन्द्रमा हेर्दा एउटा व्यक्तिले १५ वटा संस्थामा ऋण लिएको देखिएको छ । विगतमा त्यस्तो थिएन । लघुवित्त संस्थाहरू स्वनियमन बस्न चाहँदा चाहँदै पनि थाहा नपाएर बस्न नसकेको हो । लघुवित्त सबैले स्वनियमनमा बसेको छ भन्ने होइन । कसैले आँखा चिम्लेको पनि होला । स्वनियमन भनेको नैतिकता हो सबैमा नैतिकता नभएको हुनसक्छ । त्यस्तै राष्ट्र बैंकले नियमन गर्ने विषयमा पनि सबैलाई नियमन गर्न नसकेको हो । ऋणीले कति संस्थामा ऋण लिएको छ भन्ने डाटा राष्ट्र बैंक र लघुवित्तसँग नभएपछि नियमन भएन । पछिल्लो समय डाटा आएपछि थाहा भयो । अहिले पनि कर्जा सूचना केन्द्र प्रभावकारी छैन । 

लघुवित्त संस्थाहरूले वर्तमान समस्या आउनुमा कुनै पनि दोष छैन भनेर कसरी भन्न सकिन्छ ?

पछिल्लो समय लघुवित्त खारेज गर्न माग भइरहेको छ । लघुवित्त संस्था खारेज र संस्थाको ऋण मिनाह हामीले गर्ने होइन । एउटा संस्थाले मिनाह गर्न सक्दैन । यस्ता विषय हामीसँग सरोकार भएको विषय होइन । खारेज गर्ने भए नेपाल सरकारले गर्नुपर्छ । लघुवित्त संस्था आवश्यक नभए सरकारको त्यही अनुसार वित्तीय नीति बन्नुपर्‍यो । सरकारले लघुवित्त संंस्था खारेज गरेर कसलाई प्राथमिकता दिनुपर्ने हो । ग्रामीण क्षेत्रमा लघुवित्त नभएको स्थानमा मिटर ब्याजी चलिरहेको छ । विगतको जस्तो साहुमाहजन जस्तै मिटर ब्याजीलाई प्रोत्साहन गर्नुपर्‍यो । लघुवित्त संस्थाहरूले नेपालमा गरिबी अन्त्य गर्नका लागि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन काम गरेको ४० वर्ष भयो । अहिलेसम्म धेरै समस्या थिएन । अहिले अर्थतन्त्रमा मन्दीका कारण समस्या आएको हो । नेपालभरका ६० लाख नागरिकहरूलाई बैंकिङ पहुँचमा जोडेको छ । ३३ लाखलाई ऋण प्रवाह गरेर व्यवसायी बनाएको छ । महिलाहरूलाई उद्यमशील बनाएर वित्तीय साक्षरता दिँदै अगाडि बढाएको छ । लघुवित्तले हजारौं मानिसहरूलाई सफल बनाएका उदाहरणहरू रहेका छन् । पछिल्लो समय लघुवित्तका कारण घरबाट भाग्नुपर्ने अवस्था आयो भन्नुभएको छ । त्यस्तो अवस्था किन आयो । त्यो अवस्था ऋणी आफैँले पनि बनाएको हो । ऋण धेरै भएर तिर्न नसक्ने अवस्था भएपछि रुन्छन् । घर छाड्ने र आत्मदाहको बाटो रोज्ने भन्दा पनि समस्याको समाधानतर्फ सबै केन्द्रित हुनु आवश्यक छ । आत्महत्या गर्नु दुभाग्यपूर्ण नराम्रो कुरा हो । लघुवित्त संस्थामा भएका विकृतिलाई सुधार गर्ने हो । संस्था बन्द गर्ने विषय तत्काल समस्याको समाधान होइन ।

लघुवित्तका कर्मचारीहरूले ऋणीहरूको घरमा गएर विभिन्न खालका यातना दिएको घटनाहरू बाहिर आएका छन् ? लघुवित्तका कर्मचारीहरूलाई मध्यराति १२ बजेसम्म ऋण उठाउन पठाउनुहुन्छ ?

ऋणीहरूको घरमा गएर लघुवित्तले ताल्चा लगाउने,घरको समान जफत गर्नु गलत हो । कुनै पनि लघुवित्तले गरेको छ भने पनि गलत हो । लघुवित्तहरूले कर्मचारीहरूलाई त्यस्तो गराउनु हुँदैन । हामीले लघुवित्तका कार्यकारी निर्देशकहरूलाई भनेका छौं । यदि विगतमा भएका छन् भने पनि तत्काल बन्द गर्न निर्देशन नै गरेका छौं । किस्ता उठाउने विषयमा बिहान १० बजेदेखि ५ बजेसम्म भेट हुँदैन । फोन स्वीच अफ गर्छ त्यसलाई के गर्ने ? अफिस समयमा ऋणी घरमा भेट नहुँदा बेलुका कर्मचारी उसको घरमा गएको हुनसक्छ । ऋणीहरूले कार्यालय समयमा सम्पर्कमा रहनुभयो भने मध्यराति किस्ता उठाउन जाने कसैको रहर हुँदैन । ११ बजेसम्म घरमा ग्राहक आउँछ र कुरा गर्न बसेको हो नराम्रो नियतले बसेको नहुन सक्छ । हामीले त्यो दृष्टिकोणमा पनि हेर्नु पर्छ । त्यसरी जानु रहर नभएर बाध्यता हो ।

लघुवित्तले नियम भन्दा बाहिर गएर काम गरेको छैन भन्ने आधार पनि छैन, अर्को कुरा लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूबाट आवश्यक भन्दा बढी सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति गर्नुभयो, के हो वास्तविकता ?

सेवा शुल्कको व्याख्या र दृष्टिकोण फरक हो । राष्ट्र बैंकको निर्देशनलाई लघुवित्तले बुझेको र राष्ट्र बैंकले बुझाई फरक भएकाले यस्तो भएको हो । त्यसमा केही विषयमा नियमनविपरीत गरेको भन्ने विषय स्वीकार गर्छु । तर, जुन रूपमा बाहिर आएको छ त्यो चाहीँ होइन । सरकार र लघुवित्त बीच रकम फिर्ता गर्ने विषय सत्य हो । लघुवित्त सदस्यको पैसा केही सहुलियत दिने भनेर फिर्ता गर्ने विषय भएको हो । तर, नियमविपरीत गएर पैसा फिर्ता गर्नुपरेको भनेर भन्ने विषय कसरी ब्याख्या गर्ने विषयको कुरा हो । 

लघुवित्तहरूमा देखिएको समस्या लघुवित्त आफ्नै कारण र संस्था खोल्नलाई राष्ट्र बैंकले धेरैलाई लाइसेन्स दिँदा निम्तिएको समस्या भन्न मिल्छ ?

लघुवित्त संस्थामा समस्या आउनुको सुरुवात धेरै संस्था खोल्न लाइसेन्स दिनु पनि एक हो । लाइसेन्स दिँदा धेरै संस्था दर्ता भए । नयाँ नयाँ व्यावसायिक क्षेत्रका लगानीकर्ताहरू आए । लघुवित्तको मर्म बुझ्ने भन्दा फरक लगानीकर्ताहरूको प्रवेश भयो । मार्केटमा नयाँ खेलाडीहरू आए सबैसँग जाेडिएको छ । समस्या आउनुमा एउटा मात्रै फ्याक्टर होइन । नाफा मात्रै खोज्ने लगानीकर्ताहरूलाई लघुवित्तको लाइसेन्स दिएर पनि हुनसक्छ । लाइसेन्स दिँदा पनि संस्थाको गुणस्तर हेरिएन । त्यसरी खोल्न लघुवित्तहरू नाफामा मात्रै केन्द्रित भए । एक वर्षभित्र नै लघुवित्त नाफामा आउनुपर्छ भन्ने उद्देश्य लगानीकर्ताहरूमा हुँदा अस्वस्थ प्रतिष्पर्धा बढ्ने पक्ष पनि एक हो । समस्या आउनुमा एउटा मात्रै पक्षका कारण आएको होइन । 

अब समस्या नै समस्याको बीचमा कसरी अगाडि बढ्न सकिन्छ, लघुवित्तप्रति विश्वास गुम्ने खतरा बढ्ने देख्नुभएको छैन ?

मुलुक यति बेला आर्थिक मन्दीको चरणमा रहेको छ । सबै व्यवसाय चुनौतीपूर्ण अवस्थामा रहेको छ । आर्थिक गतिविधिहरू धेरै कम छ । त्यस कारण अब बाँच्ने र बचाउने सिद्धान्तमा अगाडि बढ्नुपर्छ । लघुवित्त संस्थाहरू चल्नुपर्छ । सबै ऋण मिनाहा, ब्याज छाडेर संस्था चल्दैन । संस्थामा एउटा ऋणीले पैसा तिरेन भने निक्षेपकर्तालाई पनि पैसा दिन सक्दैन । त्यस्तो भयो भने बैंकिङ प्रणाली ध्वस्त हुन्छ । अहिले उत्पन्न भएका समस्यालाई गहन रूपमा हेरेर समाधान गर्न सकिने गर्ने  र राज्यको कुनै कोषबाट लघुवित्तमार्फत अफ्ठ्यारो अवस्थामा गर्नुपर्छ । ऋणीहरूलाई किस्ता तिर्न समय दिने हो । विगतमा लघुवित्तबाट ऋणको दुरूपयोग भयो । संस्थाले पनि नियमन गरेन । ऋण लिनेहरूले पनि सहज रूपमा अर्को ठाउँमा प्रयोग गर्‍यो । अब ऋणीले पनि ऋणको दुरूपयोग गर्दिन भनेर आउँदा समस्या समाधान हुन्छ । बिस्तारै राम्रो हुँदै जान्छ । हामीले धैर्य गर्ने अब सम्भावनाहरू के छ कसरी अगाडि बढ्न सकिन्छ भनेर संस्था र व्यक्तिहरू पनि विकल्पहरू खोज्न जरुरी छ । संस्थालाई किन पैसा दिएको भनेर औला देखाएर ऋण र ब्याज तिर्दिन भन्न थालियो भने राम्रो हुँदैन । अबको समाधान भनेको ऋण तिर्ने समय थप गर्ने र अफ्ठ्यारो परेकालाई सहजीकरण गर्नु हो । त्यो गर्न लघुवित्तहरू तयार छन् । पछिल्लो समय लघुवित्तका समस्या बाहिर आएसँगै विश्वास गुम्ने अवस्था देखिएको छ । कतिपयले लघुवित्त संस्था नबुझेर नै धारणा बनाएको पाइएको छ । सांसदहरूले समेत संसदमा बोल्न थाल्नुभएको छ । सबैलाई लघुवित्तको विषयमा बुझाउन आवश्यक रहेको देखिएको छ । ३६ प्रतिशत लघुवित्तले ब्याज लियो भन्ने गरिएको छ । त्यो हुन सक्दैन । प्रमाण भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह छ ।


Author

थप समाचार
x