वार्ता

दलीय घोषणापत्रहरू भन्छन्-भ्रष्टाचार बढ्यो । भन्दैनन्-कसले बढायो ?

डा. वामदेव सुवेदी |
जेठ २१, २०७९ शनिबार १६:२१ बजे

नेपालमा भ्रष्टाचार बढेको कुरामा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘नेपाली समाज भ्रष्टाचार उन्मुख हुँदै गएको छ ।’ समाजशास्त्री दिपेश घिमिरे लेख्छन्, ‘देश भ्रष्टाचारको दुष्चक्रमा दिनदिनै फस्दै गइरहेको छ ।’ करप्सन पर्सेप्सन इन्डेक्सले पनि नेपाललाई अति भ्रष्टाचार हुने मुलुकहरूकै श्रेणीमा राखेको छ । यो इन्डेक्सले गएको पाँच वर्षमा भ्रष्टाचारको उदेकलाग्दो अवस्था देखाउँछ । हालै सम्पन्न भएको स्थानीय निकायको निर्वाचनका सन्दर्भमा राजनैतिक दलहरूबाट जारी भएका घोषणापत्रहरूले समेत भ्रष्टाचार बढेको तथ्य उल्लेख गरेका छन् ।

लोसपाले लेख्छ, ‘अहिले नेपालको राज्यव्यवस्था भ्रष्टाचारको पर्याय जस्तो भएको छ ।’ जसपाको ठम्याइ छ, ‘राज्य कुशासन र भ्रष्टाचारको दलदलमा फसेको छ’ । नेकपा एकीकृत समाजवादी आफ्नो घोषणापत्रमा लेख्छ, ‘भ्रष्टाचार हाम्रो समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको छ ।’ राजमो लेख्छ, ‘आज भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म संस्थागत र परम्परा बनेर फैलिएको छ ।’ 


भ्रष्टाचारको परम्परा

नेपाली समाज भ्रष्टाचार उन्मुख हुनुको कारणमा चेम्जोङ लेख्छन्, ‘नेपाली समाज हिजोको मूल्यमान्यताबाट क्रमशः च्युत हुँदै जाँदो छ । र, समाज बजारकेन्द्रित मूल्यलाई मान्यता  दिने दिशातर्फ विकसित हुँदै छ ।’ यसको अर्थ हिजोको मूल्यमान्यता ठीक थियो भन्ने होइन । बरु नेपाली समाजको परम्परागत मूल्य–मान्यताको जरोमा नै भ्रष्टाचारको संस्कृति लुकेको थियो । पहिला पहिला हामीकहाँ भगवान्लाई समेत यस्तो काम गरिदिनु पर्‍यो भनेर भेटी चढाउने, भाकल गर्ने प्रचलन थियो र अहिले पनि छ । एक हिसाबले हेर्ने हो भने यो भगवान्लाई समेत घुस खुवाउने हाम्रो परम्परा हो ।

अनि भाकल गरेको कुरा पूरा नगरे त्यसको परिणाम राम्रो नहुने किंवदन्तीहरू पनि छन् । उदाहरणका लागि, सुनको सिक्री चढाउँला भनेर सुपादेउरालीमा भाकल गरेर भर्ती हुन गएको लाहुरे भर्ती भएर कमाएर परिवारसँग घर फर्कने बेलामा पनि सुनको सिक्री चढाउन पर्छ भनेर मन्दिरको बाटो छलेर अर्कै बाटोबाट फर्कन खोज्दा पहरोमा टाँसिन पुगेको किंवदन्ती सुनिन्छ । खुसी पार्न, आफ्नो काम पट्याउन भेटी चढाउने, भाकल गर्ने, भाकल गरिसकेपछि पूरा गर्नैपर्ने र नगरे अनिष्ट हुने मान्यता पहिलाकै हो । यसबाट के अनुमान गर्न सकिन्छ भने आफ्नो काम बनाउन घुस दिने अथवा नजराना टक्र्याउने कुरा पहिला पनि थियो ।

हामीकहाँ ‘कम्बलमा बसेर निसाफ गर्नुहोला न्यायाधीशज्यू’ भन्ने झगडिया र ‘कम्बल त घोडाले खायो’ भन्ने न्यायाधीशका किंवदन्तीहरू पनि छन् । यस्ता किंवदन्तीहरूबाट घोडा, कम्बल जस्ता जिन्सी सामानको घुस दिने चलन त्यतिबेला पनि हुँदो हो भनेर बुझ्न सकिन्छ ।  

समाजशास्त्री मधुसुदन सुवेदीका अनुसार पनि भ्रष्टाचारको समस्या एउटा पुरानै समस्या हो । नातावाद, कृपावाद, चाकडी, चाप्लुसी, जाल, झेल, कपट अहिले आएर मौलाएकोे देख्न थालिएको हो । अहिले आएर माथिल्लो पद र शक्तिमा पुगेर पनि कमाउन सकेन, समाजमा आफ्नो रवाफ जमाउन, झोले बनाउन सकेन भने हुतिहाराको पगरी गुथाउने मान्यताको विकास हुन लागेको हो । यसलाई नेपाली समाजले भ्रष्टाचार पचाउन थालेको अथवा भ्रष्टाचारलाई अक्षम्य अपराधका रुपमा भन्दा पनि क्षम्य गल्ती कमजोरीका रुपमा स्वीकार्न थालेको भनेर बुझ्न सकिन्छ । भ्रष्टाचार सामाजिक सांस्कृतिक रुपले पहिले पनि स्वीकार्य थियो, अहिले अलि बढी नै स्वीकार्य हुन लागेको देखिएको हो । 

चुनावमा भ्रष्टाचारको सवाल

भ्रष्टाचारको सवालले चुनावी परिणाममा प्रभाव पार्न सक्ने भएकाले पनि यसलाई राजनीतिक दलहरूले महत्व दिँदै आएका छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले भ्रष्टाचारको सवाललाई प्रमुखता दिनुको एउटा कारण चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न पनि हो । घोषणापत्र हेर्दा सबै राजनीतिक दलहरूले भ्रष्टाचारको सवाललाई पहिलाभन्दा अलि बढी नै प्राथमिकता दिएको देख्न सकिन्छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनको घोषणापत्रमा जम्मा चारपटक भ्रष्टाचार शब्दको उल्लेख गरेको नेकपा एमालेले यसपटक ७ पटक उल्लेख गर्नु अनि त्यतिबेला आफ्नो घोषणापत्रमा ६ पटक मात्र भ्रष्टाचार शब्द उल्लेख गरेको कांग्रेसले यस पटक २६ पटक उल्लेख गर्नुले भ्रष्टाचारको सवालले महत्व पाएको बुझ्न सकिन्छ । तर राष्टिय जनमोर्चाको घोषणापत्रमा १० पटक, लोसपाकोमा १७, नेकपा एकीकृत समाजवादीकोमा १८ पटक भ्रष्टाचार शब्दको उल्लेख हुँदा एमालेको घोषणापत्रमा चाहिँ ७ पटकमात्र भ्रष्टाचार शब्दको उल्लेख हुनुले चाहिँ एमाले भ्रष्टाचारको सवालमा कमजोर रहेको संकेत गर्दछ । 

त्यसमाथि नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीको घोषणापत्रमा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको आक्षेप लगाइको छ । नेपाली कांग्रेस लेख्छ, ‘नेकपाको सरकारले भ्रष्टाचारको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।’ नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा भ्रष्टाचारको सवाललाई गम्भीरताका साथ लिँदै ओली नेतृत्वको सरकारको तिखो आलोचना गरिएको छ । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रमा ओली नेतृत्वको नेकपाको सरकारको पालामा भएका वाइडबडी जहाज, ७२ करोड कमिसन काण्ड, ३३ किलो सुन काण्ड, ओम्नी, यतीलगायतका भ्रष्टाचार र अनियमितताका काण्डहरूको लामो सूची प्रस्तुत गरेको छ । 

नेकपा एकीकृत समाजवादी, लोसपा, नेपाली कांग्रेसको घोषणापत्रहरूमा र स्वयं प्रचण्डले त्यतिबेलाको नेकपाको स्थायी समितिको वैठकमा लिखितरूपमा पेस गरको १९ पृष्ठ लामो बहुचर्चित प्रतिवेदनलाई हेर्दा जोकोहीलाई ओली नेतृत्वको नेकपा सरकारबाट भ्रष्टाचार नियन्त्रणमा ‘कमीकमजोरी’ भएकै रहेछ भन्ने लाग्छ । हाम्रो समाज भ्रष्टाचारलाई सहन गर्न नसक्ने खाले हुन्थ्यो भने अथवा भ्रष्टाचारको सवाललाई गम्भीरताका साथ लिने मतदाता हुन्थे भने चुनावमा एमालेको हारको कारण भ्रष्टाचार बढ्ने सम्भावना थियो । हो, नेकपा एमालेको अघिल्लो चुनावको तुलनामा हार भएको छ तर जितेको सिट संख्या र प्राप्त मत हेर्ने हो भने यो हार ‘सम्मानजनक’ नै हो । भ्रष्टाचारको यत्रो आक्षेपका बाबजुद पनि यो सम्मान कायमै रहनुलाई कसरी हेर्ने ? 

नेपाली समाजले भ्रष्टाचारलाई क्षम्य कमीकमजोरी ठान्न थालेको मान्ने हो भने त एमालेको हार भ्रष्टाचारको कारण भएको हो भन्न मिल्दैन । भ्रष्टाचारको आक्षेप लगाएकै आधारमा एमाले मतदाताले मन बदल्न सकेनन् भनेर मान्नुपर्ने हुन्छ । भ्रष्टाचार गरेकै भए पनि अरु कुरामा त एमालेले राम्रै गरेको छ नि भन्ने तर्क, मह काढ्नेले हात चाट्यो त के बिरायो ? मौका पाएको बेला कसले छोड्छ र ? कांग्रेस पनि त दूधले धोएको होइन, जुन जोगी आए पनि कानै चिरेका त हुन् भन्ने भाष्यमा पनि पार्टीलाई भ्रष्टाचारको कसीमा दाँजी राख्नु पर्दैन भन्ने आग्रह पाइन्छ । 

हारको कारण गठबन्धन

राजमोले झिमरुक गाउँपालिकालाई घोषणापत्रमा उदाहरणीय रुपमा प्रस्तुत गरेको थियो तर त्यही गाउँपालिकामा उसको हारलाई कसरी हेर्ने ? त्यसैगरी भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्ने राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाको कचनकवल गाउँपालिकामा भएको हारलाई कसरी बुझ्ने ? राजमोको झिम्रुक गाउँपालिकामा भएको हारको कारण भ्रष्टाचार नभएर एमाले र माओवादीको गठबन्धन हो भनेर मान्ने हो भने राप्रपाको कचनकवलमा भएको हारको कारण पनि भ्रष्टाचार नभएर एमाले र कांग्रेसको गठबन्धन हो भनेर किन नमान्ने ? त्यसो हो भने एमालेको देश भरमा भएको हारको कारण पनि भ्रष्टाचार नभएर पाँच दलीय गठबन्धन हो भनेर किन नभन्ने ? यसरी हेर्दा हामीले चुनावमा जितहारको कारण भ्रष्टाचार नै हो भनेर ठोकुवा गर्न सक्दैनौं । 

कुन पार्टीले भ्रष्टाचारको सवाललाई गम्भीरताका साथ लिएको छ अथवा कसले आफ्नो घोषणापत्रमा भ्रष्टाचारको सवाललाई अलि बढी महत्व दिएको छ भन्ने आधारमा मतदान हुँदो हो त नेपाली कांग्रेसको मात्र नभएर लोसपा र एकीकृत समाजवादीको पनि चुनावी नतिजा अझ राम्रो हुनुपर्ने थियो । यसरी हेर्दा चुनावी जितहारमा भ्रष्टाचार भन्दा अरू नै पक्षको बढी भूमिका रहने देखियो ।

अर्को पाटोबाट हेर्दा चाहिँ बूढाबूढीलाई टेकाउन र भ्रष्टाचारीलाई सेकाउन भन्दै आफ्नो चुनाव चिन्ह लौरोको प्रचार गर्ने काठमाडौँ महानगरका मेयरका उम्मेदवार बालेन्द्र शाह अनि खानेपानी भ्रष्टाचार अभियन्ताका रुपमा चिनिएका धरान उपमहानगरका मेयरका उम्मेदवार हर्क साम्पाङको जितलाई कसरी हेर्ने ? यो जनमतलाई एक हदसम्म भ्रष्टाचार विरोधी, भ्रष्टाचार नसहने, भ्रष्टाचारलाई अपाच्य ठान्ने जनमतका कारण सम्भव भएको मान्ने हो भने पक्कै कालो बादलभित्र चाँदीको घेरा देख्न सकिन्छ । 

हाम्रो सामाजिक मूल्य–मान्यतामा परिवर्तन आउन सक्छ । भोलि समाजमा भ्रष्टाचारसम्बन्धी नयाँ मानक स्थापना हुन सक्छ । भ्रष्टाचारलाई क्षम्य कमीकमजोरी होइन अक्षम्य अपराध मान्ने र भ्रष्टाचार नसहनेहरूको संख्या पनि बढ्न सक्छ । हाम्रै जस्तै सामाजिक सांस्कृतिक परिवेश भएको छिमेकी देश भारतको दिल्लीमा भ्रष्टाचारलाई सहजै लिन हुँदैन भन्ने जनमत बढेपछि आम आदमी पार्टीको उदय भएको हो । 

समस्या आलुमा कि बोरामा ?

हामीकहाँ समस्या कुहिएको आलुमा देख्ने गरिन्छ, आलु राख्ने बोरामा देखिँदैन । हामी मतदाताहरूले नै भ्रष्ट नेतालाई भ्रष्ट नदेख्ने र भ्रष्टाचारलाई भ्रष्टाचार नदेखेर कमीकमजोरी देख्न थालेपछि दोष हाम्रो हो कि भ्रष्ट नेताको ?  समाजशास्त्री चैतन्य मिश्रका अनुसार, भ्रष्टाचारको कारण व्यक्तिगत हुँदैन, सामाजिक हुन्छ किनभने भ्रष्टाचार हाम्रो सामाजिक संरचनासँग जोडिएको हुन्छ । व्यक्तिगत लोभलालचलाई मात्र होइन कि समाजले कसरी लोभलालचलाई बढावा दिन्छ भन्ने कुरा हेर्नुपर्छ। 

भ्रष्टाचारलाई कानुनीरुपले मात्र अस्वीकार्य होइन कि सामाजिक र सांस्कृतिक रुपले समेत अस्वीकार्य बनाउन सकियो भने मात्र यसमा कमी आउन सक्ने देखिन्छ । कानुन र जेलनेलको डरका साथै भ्रष्टाचारीलाई सामाजिक रुपले पनि बहिष्कार भइन्छ भन्ने डर भयो भने मात्र यसमा कमी आउन सक्छ । ​भ्रष्टाचारीका रुपमा चिनिएँ भने मलाई गाउँघरमा निम्ता गर्दैनन्, पूजाआजामा बोलाउँदैनन्, मेरा छोराछोरीको बिहे हुन सक्दैन भन्ने भयो भने मात्र मान्छे हच्किन्छ ।

चेम्जोङ भन्छन्, ‘भ्रष्टाचारीलाई उसको समाजले कुलंगार घोषित गरेर कुलपुजा, देवालीजस्ता कार्यमा सामेल नै गराएनन् भने आफ्नै समाजबाट बहिष्कृत हुने त्रासले पनि केही हदसम्म नियन्त्रण हुन्थ्यो ।’ मधुसूदन सुवेदीका अनुसार पनि कानुनी पक्षलाई मात्र जोड दिने अनि सामाजिक पक्षलाई बेवास्ता गरेर नेपालमा भ्रष्टाचारविरुद्ध लड्न निकै कठिन हुन्छ । भ्रष्टाचारीहरूलाई सामाजिक रुपमा बहिष्कार गर्नु पर्दछ । 

चुनावमा जितहारको कारण र अवस्था जे जस्तो भए पनि भ्रष्टाचारको गाम्भीर्यलाई बुझ्न थालिएको छ । केही पार्टीहरूले आफ्नो घोषणापत्रमा कानुनी पक्षका साथै सामाजिक पक्षलाई पनि समेटेका छन् । केहीले संरचनागत, व्यावहारिक तथा आचरणगत कुरामा परिवर्तन ल्याउने संकल्प गरेका छन् । यो निकै सकारात्मक छ । चुनावी घोषणापत्र खोक्रो आश्वासन, हावादारी गफ र झुटको पुलिन्दा नबनोस् ।


Author

थप समाचार
x