पूर्वाधार

महोत्तरीका औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

इकागज |
चैत २६, २०७८ शनिबार १३:४ बजे

महोत्तरी- श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफन्त गुमाउनु परेको उनीहरूसँग नमिठो विगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माणपश्चत औरहीवासी निकै हौसिएका छन् । औपचारिक रुपमा पुल सन्चालनमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । 


कविलासपुरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’ 
वडा नम्बर ४ को कविलासपुर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुलले राहत दिएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पुर्‍याउन र एक गाउबाट अर्काे ठाउँमा जान सहज भएको उनीहरू बताउँछन् । 

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुल मात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यायलय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्यचौकीको पनि उद्घाटन गरेका छन् ।

‘पुल निर्माणपछि अब हिउँद बर्खामै सहजै आवतजावत हुने भो भनेर सुखको श्वास फेरेका छौँ ।’ श्रीपुरका रामछबिलाल यादवले भने।

करिब एक सय ९५ मिटर लम्बाईको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन बर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कविलाशपुरका साना नानीहरूलाई पनि बर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कविलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यामिक विध्यालय छ । यस विद्यालयमा दुवै गाउँका करिब पाँच सय विध्यार्थी अध्यनरत छन । ‘खोलामा ठूलो बाढी आउने हुँदा विध्यालय जानै पाएका थिएनाँै अब त आनन्द भयो ।’ कक्षा ५ मा पढने रामचतुरले खुसी हुँदै भने ।

अझ उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्‍याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् । 

पहिलेको तुलनामा व्यवसायीक खेती गर्नेको संख्या बढिरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।  

श्रीपुर र कविलासपुर भारतको विहार प्रदेशबाट समेत नजिक छ । गाउँपालिकासँगै जोडिएको बोर्डर यी गाउँवाट करिब १५ किलोमिटर दुरीमा रहेका छन् । बोर्डरमा पुगेर सामानहरू आयात निर्यात गर्न समेत जंगाहा पुलले भूमिका खेलेको छ ।
 

 


Author

थप समाचार
x