पूर्वाधार

मकवानपुरको भिमफेदीमा १५ शैय्याको अस्पताल बन्ने

सरिता दाहाल |
चैत ११, २०७८ शुक्रबार १५:४५ बजे

मकवानपुर – सानोतिनो सल्यक्रिया तथा उपचारको लागि हेटौंडा बजारसम्म आउनुपर्ने बाध्यताबाट मकवानपुर भिमफेदि गाउँपालिकावासीले अब मुक्ति पाउने भएका छन् । 'स्वास्थ चौकीमा कहिले स्वास्थ्यकर्मी नहुने त कहिले औषधि नहुने हैरानी थियो अब अस्पताल बनेपछि त्यस्तो नहोला', भिमफेदीकी बिकु रानाले भनिन् ।

भिमफेदी गाउँपालिका ६ मा बन्न लागेको अस्पतालले स्थानीयलाई यस्तो आशा जगाएको हो । १२ करोड ६१ लाख ९२ हजार ७५७ रुपैयाँ ३६ पैसा लगानीमा १५ शैयाको अस्पतालको निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । अस्पताललाई मिनि ट्रमा सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले निर्माण हुन लागिएको छ ।  उक्त अस्पताल विस २०८१ फागुन १५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेक्का दिइएको छ ।


ठेक्का रबिना नवसिर्जनशिल जेभीले प्राप्त गएको छ । तोकिएकै समयभित्र अस्पताल निर्माण कार्य सक्ने ठेकदार कम्पनिका प्रतिनिधि बिक्रम चौलागाईले बताए ।

३ वटा ब्लकमा निर्माण हुन लागेको अस्पतालमा लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने गाउँपालिकाका इन्जिनियर सुन्दर बर्तौलाले बताए । 'स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसारनै सेवा, सुविधा प्रदान गर्नेगरि अस्पताल बनाइने छ' बर्तौलाले भने ।

१५ शैयाको अस्पताल निर्माणका लागि स्थानीय १५ जना ज्येष्ठ नागरिकद्वारा शिलान्यास गरिसकिएको गाउँपालिका अध्यक्ष लामाले बताए । ५ वर्ष अघि निर्वाचन ताका जनताको स्वास्थ अधिकारको लागि आफू लागिपर्ने बचन दिएको तर अन्तिम अवस्थामा आएर भएपनि अस्पताल निर्माणकार्यको सुरूवात गर्ने पाएकोमा अध्यक्ष लामाले खुसी व्यक्त गरे ।


Author

थप समाचार
x