पूर्वाधार

मध्यपहाडी लोकमार्ग

पानी पर्दा हिलो, घाम लाग्दा धुलो

पोखराको याम्दी–हरिचोक खण्डमा सास्ती

धनबहादुर गुरुङ |
साउन १, २०८० सोमबार २१:१३ बजे

पोखरा- पानी पर्दा हिलो, घाम लाग्दा धुलो । यत्रतत्र छरिएका निर्माण सामग्री । खाल्डाखुल्डीका कारण दुर्घटनाको उत्तिकै जोखिम । मध्यपहाडी लोकमार्ग अन्तर्गत याम्दी–हरिचोक खण्डका स्थानीय र त्यस खण्डमा हिँड्ने यात्रु दिनहुँ यस्तै समस्यामा हुन्छन् ।

पोखरा–२५ याम्दीदेखि पोखरा–१ हरिचोकसम्म २ किलोमिटर लामो यो सडकखण्डको काम गत वर्षको भदौ अन्त्यबाट सुरु भयो । चार लेनको चौडा बनाउने गरी उक्त सडकखण्ड साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीका इन्जिनियर सुनिल थापाले यो खण्डको काम निर्धारित समयअगावै सक्ने दाबी गरे पनि सोचजस्तो प्रगति भएको छैन । निर्माण कम्पनीले २ वर्षमा सक्ने गरी सुरुआत गरेको सो खण्डको १० महिनामा २० प्रतिशतमात्र काम भएको छ ।


कार्य प्रगति सुस्त हुँदा पोखरा वडा १ र २५ वडावासीले विरोध जनाएका छन् । उनीहरूले निर्माण कार्यमा तीव्रता दिन माग गरेका छन् । अहिले सो सडकखण्ड भएर यात्रा गर्ने सवारी चालक एवं यात्रुसहित स्थानीय हैरानीमा छन् । काम ढिला हुँदा धेरै समस्या झेल्नुपरेको स्थानीय व्यवसायी प्रतीक्षा पौडेलले बताइन् । ‘यहाँ काम गर्न थालेको १ वर्ष हुन लाग्यो केही प्रगति भएको छैन,’ उनले भनिन् । अस्तव्यस्त सडकका कारण दिनहुँ सो खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको पनि उनको गुनासो छ । सडककै कारण आफ्नो व्यापार पनि घटेको उनले सुनाइन् । बाटो साँघुरो भएकाले त्यस क्षेत्रमा सवारी जामको पनि समस्या छ ।

सडक निर्माणमा ढिलासुस्ती र हेलचेक्र्याइँ भएको पोखरा २६ र १ का जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयले विरोध जनाएका छन् । उनीहरूले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको मापदण्ड नअपनाई सडक बनाउँदा अत्यधिक खाल्डाखुल्डी भएको र दुर्घटना बढेको बताए ।

पोखरा–२५ का वडाध्यक्ष मोती तिम्सिनाले सडक निर्माणमा लापरबाही गर्दै काम ढिला गरेको बताए । ‘सिम्पानीदेखि याम्दीसम्मको सडकखण्डमा निर्माण कम्पनीले लापरबाही गरेको छ । ढिलासुस्ती गरेको छ । बाटो मर्मत भएको छैन । यात्रुलाई सास्ती भएको छ । सवारीहरू दुर्घटनामा परेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले समयमै मर्मत नगर्ने आलटाल गर्ने अनि मध्यपहाडी योजनाले पनि सुनुवाइ नगर्ने भएपछि आज हामीले वडा २५ को नेतृत्वमा वडा १ का जनप्रतिनिधिसहित गएर ध्यानाकर्षणपत्र बुझाइयो ।’ उनका अनुसार सडक चिप्लो हुँदा सबैभन्दा बढी महिला र विद्यार्थी दुर्घटनामा पर्ने गरेका छन् ।

ठेकेदार कम्पनीले ढिलासुस्ती र हेलचेक्र्याइँ गर्दा स्थानीयले दु:ख पाएको ज्ञापनपत्रमा उल्लेख छ । वडाध्यक्ष तिम्सिनाले बर्खामा हुने दुर्घटना न्यूनीकरण गर्न तत्काल ग्राभेल भरेर आउजाउ सहज बनाइदिन आग्रह गरे ।

हरिचोक–याम्दी सडकखण्ड निर्माणमा हालसम्म २० प्रतिशतभन्दा केही बढी काम भएको भएको पुष्पलाल मध्यपहाडी लाेकमार्ग आयोजना योजना कार्यालय पर्वतका आयोजना प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् । प्रगति सोचेजस्तो नभएको उनको भनाइ छ । अर्थ मन्त्रालयबाट पूर्ण बजेट भुक्तानी नहुँदा झनै समस्या परेको उनको भनाइ थियो । ‘अर्थ मन्त्रालयले भुक्तानी गर्ने भनेको बजेट पनि भुक्तानी भएन । आवश्यकताको ५० प्रतिशत पनि बजेट आएन । त्यसो भएपछि हामीले निर्माण कम्पनी पेस गरेको बिल भुक्तानी गर्न नसक्ने अवस्था भयो,’ उनले भनिन्, ‘आएको पैसा सबैलाई थोरैथोरै बाँडियो । सोही अनुसार मोतीदानलाई पनि दिइयो । उहाँहरूको काम त सन्तोषजनक त छैन । तर, पछिल्लो समय हामी आफैँ पनि कमजोर भइयो ।’ 

गरेको काम बराबरको भुक्तानी दिन नसक्दा काम छिटो गन ताकेता गर्न गाह्रो परेको उनले सुनाइन् । ‘हामीले गरेको कामको पनि पैसा दिन सकिएको छैन । कुन मुखले काम छिटो गर भनेर भन्ने ?’ उनले भनिन्, ‘यसको सम्झौता सकिन १ वर्ष छ । अस्तीसम्म त पत्राचार गरेर काम छिटो गर्नुस् भनेर भनियो तर पैसा कम आएपछि समस्या पर्यो ।’

आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिसम्मका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन निर्देशन दिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । 


Author

थप समाचार
x