पूर्वाधार

नयाँ आर्थिक वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिने

इकागज |
असार २८, २०८० बिहीबार १९:३ बजे

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ आर्थिक वर्षबाट धुर्मुस—सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रंगशाला निर्माणको काम पनि अघि बढ्ने बताए । उनले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिए पनि कानुनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने उल्लेख गरे ।


मन्त्री लिम्बूले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भए पनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको जिकिर गरे । उनले अहिलेको रंगशालाको समस्यालाई सकारात्मक रूपमा लिएको र आगामी दिनमा रंगशाला निर्माणको कामले गति लिने बताए ।

मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले सरकारले घोषणा गरेको रकम पाउने बताए ।


Author

थप समाचार
x