घटना-दुर्घटना

थली घटना

श्रीमतीले छोडेपछि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएका थिए कृष्‍ण

इकागज |
जेठ ८, २०८१ मंगलबार १५:९ बजे

काठमाडौँ- काठमाडौँको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ । 

कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीका अनुसार कागेश्वरी-५ स्थित मिलनचोक ओरालोमा बन्दै गरेको सडकको पर्खाल नजिक कृष्णको शव आज बिहान फेला परेको थियो ।


प्रहरीका अनुसार नगरकोटी विगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरी रश्मि र छोरा रिचेनसहित काठमाडौँको रवि भवन, गणेशथानमा कोठा लिएर बस्दै आएका थिए ।

ट्याक्सी चलाउँदै आएको भए पनि आर्थिक अभावमा उनीहरूले कोठा भाडा तिर्न नसकेपछि तीन महिनायता उनी छोराछोरीसहित ट्याक्सीमै बस्दै आएको प्रहरीले जनाएको छ ।

कृष्णका छोरा रिचेन र छोरी रश्मि दुवैको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले जनाएको छ ।

जेठ ७ गते बिहान १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएकाले मिस्त्री बोलाएर ल्याउँछु भन्दै कृष्णले २८ वर्षीया छोरी रश्मिलाई त्यही छोडी छोरा रिचेनलाई साथमा लिएर गएका थिए ।

पारिवारिक अवस्था, गरिबी लगायतले जिन्दगीबाट दिक्क भएर छोरासमेतलाई आत्महत्याका लागि मुखमा कपडा राखि ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकालीको जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु भनि बाबुले पठाएको बयान प्रहरीसमक्ष छोरा रिचेनले दिएका छन् ।

रिचेनको घाँटीको बायाँ भागमा ७/८८ सेन्टिमिटर लामो ब्लेडले काटिएको डोब छ भने मृतक कृष्णको दाहिने हातको बुढीऔंला र चौर औंलाको रिडमा ब्लेडले काटेको देखिएको प्रहरीले जनाएको छ । कृष्णको शव नजिक ४ वटा ब्लेड र रिचेनको साथबाट २ वटा ब्लेड फेला परेको प्रहरीले जनाएको छ ।

बा १ ज ९६५ नंको ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोजी गर्ने क्रममा सेतोपुल सडक खण्डमा ट्याक्सीभित्र बसिरहेको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको उनले बताए ।

 


Author

थप समाचार
x