घटना-दुर्घटना

म्यादी माया हत्या प्रकरण : घाइते नेहाको मुखबाट निस्किन्छ टाइगर शब्द, सशस्त्रका जवानमाथि शंका

इकागज |
मंसिर १५, २०७९ बिहिवार १२:५७ बजे

बैतडी- बैतडीकी भागरती भट्टको बलात्कारपछि विभत्स हत्या भएको एक वर्ष पूरा भयो । तर, यस्ता घटना रोकिएनन् ।  बैतडीमा पुुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ । 

भागरथीका बुवाको पहिल्यै मृत्यु भइसकेको थियो भने नयाँ घटनाकी मृतकले पनि पहिल्यै बुवा गुमाइसकेकी थिइन् ।  


पञ्चेश्वर गाउँपालिका–४ कि २१ वर्षीया माया लुहारको सोमबार घाँटी रेटेर हत्या गरिएको छ भने उनकी भदैनी १५ वर्षीया नेहा  पनि घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भइरहेको छ । 

मृतक मायाको शव शिवनाथको जंगलमा भेटिएको हो भने घाइते नेहा जंगलमै छटपटाइरहेको अवस्थामा भेटिएकी हुन् । नेहाको मुुखबाट अहिले टाइगर भन्ने शब्द मात्रै निस्किरहेको छ । नेहाले भनिन्, ‘मलाई मोबाइल दिएर टाइगरले मायालाई जंगलमा लगेको थियो । २–३ घण्टापछि आयो र मलाई आक्रमण गर्‍यो ।’

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजार गएका थिए ।

घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदैनी हुन् । उनीहरुसँगै गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।

कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म पनि सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारजनले इष्टमित्रलाई सम्पर्क गरे, तर केीि पत्ता लागेन ।

त्यसपछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तीव्रता दिए । नेहालाई बुधबार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे ।

उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटेर हत्या भएको सुनाइन् । गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।

मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । माया म्यादी प्रहरी पनि थिइन् । घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् ।

घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशंका गरेका छन् । ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती सशस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 


Author

थप समाचार
x