स्वास्थ्य

आत्मनिर्भर बन्दै शहरी स्वास्थ्य केन्द्र

सरिता दाहाल |
चैत ९, २०७८ बुधबार ८:३१ बजे

मकवानपुर - कोठा भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गर्दै आएका हेटौँडा उपमहानगरपालिकाका शहरी स्वास्थ्य चौकीहरू विस्तारै आत्मनिर्भर हुँदै आएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा रहेका स्वास्थ्य चौकीहरू सेवाग्राही मैत्री बनाउनको लागि आफ्नै भवन निर्माण गर्ने अभियानमा नगरपालिका नै लागेपछि अहिले निर्माण कार्यलाई तिब्रता दिइएको छ ।

उपमहानगरपालिका क्षेत्रका शहरी स्वास्थ्य केन्द्रका सात वटा भवन निर्माण भइसकेका छन् भने अरु १२ वटा भवन निर्माणको काम तिव्र गतिमा भइरहेको मेयर हरि बहादुर महतले बताए ।


भाडाको घरमा बस्नुपर्दा प्रयास्त कोठाको अभावमा सहज सेवा प्रदान गर्नै पनि समस्या थियो । कतिपय स्वास्थ्य जाँचमा गोपनीयताको ख्याल गर्नुपर्ने हुन्छ, तर कोठाको अभावमा समस्या हुँदै आएको थियो । 

हेटौंडा उपमहानगरपालिका–१ को नकौली, वडा नम्बर–१२ को हात्तिगौडा, १४ को मयुरधाप, वडा नम्बर–१६ को हटिया, वडा नम्बर–१८ को हर्नामाडी, वडा नम्बर–१९ को ज्यामिरे र नेवारपानीमा स्वास्थ्य चौकी भवन निर्माणको काम सकिएको मेयर महतले बताए । अहिले १२ वटा शहरी स्वास्थ्यचौकीका भवन निर्माणको चरणमा रहेका छन् । उपमहानगरपालिकाको लगानीमा शहरी स्वास्थ्य चौकीका भवनहरू निर्माण भइरहेका छन् । 

हेटौंडामा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर स्वास्थ्य चौकी भवनहरू निर्माण भइरहेको मेयर महतले बताए । ‘स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो, भाडाको घरमा बस्दा धेरै खालका हैरानी खेप्नुपरेपछि हामीले भवन निर्माण कार्यलाई अभियान कै रुपमा लियौ’ मेयर महतले भने ।

सधैका लागि सहज रूपमा स्वास्थ्य सेवा दिनका लागि भवन निर्माणको कामलाई जोड दिएको उनले बताए । धेरै भवन निर्माण भइसके पनि केही भवन निर्माणको चरणमा रहेका छन् । हेटौंडाको वडा नम्बर–१ म दुइवटा शहरी स्वास्थ्य केन्द्रका भवन निर्माण भएका छन् । नकौलीमा भवन निर्माणको काम सकिएको वडाध्यक्ष सविन न्यौपानेले बताए । यता सोही वडाको जरुवा टोलमा भने निर्माणको काम धमाधम भइरहेको छ ।

यसै वर्ष जरुवा टोलको काम पनि सक्ने लक्ष्य राखिएको उनले बताए । हेटौंडा १९ को ज्यामिरे र नेवारपानीमा दुइ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । अरु सबैजसो वडामा जनस्वास्थ्यका एक÷एक वटा संस्था रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

हेटौंडाको २ र ९ नम्बर वडामा बाहेक सबै शहरी स्वास्थ्य केन्द्रमा आफ्नै भवनमा रहने गरी तीन वर्ष अघिबाट निर्माणको काम थालिएको उनले बताए । बितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा पनि स्वास्थ्य संस्था निर्माणका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । हेटौंडाका १९ वटा वडामा २१ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ र १७ मा आयुरवेर्दीक स्वास्थ्य संस्था पनि संचालनमा छन् । यहाँका वडा वडामा स्वास्थ्य संस्था भएपछि आम नागरिकलाई सामान्य स्वास्थ्योपचार निशुल्क  प्रदान गर्दै आइएको छ । ठुला र अली विकट भएका वडामा दुइवटा स्वास्थ्य संस्था खोलीएको चौलागाई बताए ।

पहिले भाडाको घरमा स्वास्थ्य चौकी राख्नु परेको र अहिले भने आफ्नै भवनमा शहरी स्वास्थ्य केन्द्र राखिएपछि धेरै सहज भएको हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काले बताए ।

स्वास्थ्य संस्था निर्माणका लागि सात करोडौं लगानी हेटौंडा उपमहानगरपालिका क्षेत्रका शहरी स्वास्थ्य चौकी र अरु स्वास्थ्यका भवन निर्माणका लागि मात्र उपमहानगरपालिकाले बितेका चार आर्थिक वर्षमा करिब सात करोड रुपैया लगानी गरेको छ । 

१९ वटा शहरी स्वास्थ्यका भवन र अन्य स्वास्थ्यका भवन समेत गरेर चार वर्षको अवधिमा स्वास्थ्यका २३ वटा पूर्वाधार निर्माणका लागि ६ करोड ५७ लाख ७२ हजार रुपैयाँ लागनी गरेको छ । स्वास्थ्यका अन्य पूर्वाधारमा १२ लाख ४५ हजार रुपैयाँ लगानी भएको मेयर हरि बहादुर महत बताए । 

स्वास्थ्यका क्षेत्रमा अरु धेरै काम गरिए पनि पूर्वाधार विकासका कामलाई पनि जोड दिइएको छ । उपमहानगरपालिकाद्वारा हेटौंडा अस्पतालमा डायलासिस सेवा हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा हेटौंडा अस्पतालमा डायलासिस सेवा दिइएको छ ।

उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार तयार पारेपछि अस्पतालले सेवा प्रदान गरेको हो । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएपछि यो सेवा लिनका लागि चितवन, काठमाडौ, बिरगन्जलगायतका जिल्लामा जानुपर्ने बाध्यता टरेको छ । अहिले दश वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस भइरहेको छ । हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको हो ।

यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो । मकवानपुरका करिब ५ सय ३७ जना बिरामीलाई डायलासिस गर्नुपर्ने अवस्था रहेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डाक्टर बिष्णुराज जोशीले बताए । नगरवासीलाई पहिले स्वास्थ्य सुबिधा दिएर मात्र पूर्वाधार विकासमा जोड दिइएको मेयर महतले बताए ।


Author

थप समाचार
x