स्वास्थ्य

कोभिड-१९ : उपत्यका पहिला सुरक्षित, अहिले महा असुरक्षित !

सृजना खड्का |
कात्तिक २०, २०७७ बिहीबार २०:२५ बजे

काठमाडौँ : काभ्रे, काँसकोटेकी रचना श्रेष्ठ नेपालमा पहिलो कोभिड–१९ संक्रमित देखिदा काठमाडौँमै थिइन् । बाहिरी जिल्लामा कोभिड संक्रमितको संख्या विस्तारै बढ्दै थियो । उपत्यकामा भने खासै संक्रमित देखिएका थिएनन् । उनी ढुक्क थिइन् । गाउँमा भएका आमाबुबालाई समेत उनले त्यो बेला भनेकी थिइन्, ‘यतै आउनु, यहाँ सुरक्षित छ । केही गरी कोभिड लागिहाल्यो भने उपचार गर्ने अस्पताल पनि टन्नै छन् ।’ ‘मरे बरु गाँउमै मर्छौँ तर, आउँदैनौँ’ उनका आमाबुबाले भनेका थिए । 

त्यो बेला आमाबुबालाई उपत्यका बोलाउन उनले निकै जोड गरेकी थिइन् । उपत्यकामा संक्रमितको संख्या विस्तारै उकालो लाग्दै गएपछि भने उल्टै उनलाई परिवारले गाउँ बोलायो । रचना पनि कोभिडबाट बच्‍न गाउँ गइन् । गाउँ गएको दुई तीन महिना बितिसक्यो । तर, अझै उनको शहर फर्किने छाँटकाँट छैन । ‘त्यहाँ कोरोना बढेको बढ्यै छ,’ टेलिफोन कुराकानीमा उनले भनिन्, ‘त्यहाँ अलि मत्थर नभएसम्म फर्किन्‍नँ । यहाँ घरबाट निस्किँदा पनि मास्क लगाउनुपर्दैन । त्यहाँ डरले घरभित्रै मास्क लगाएर बस्‍नुपर्छ । खै के फर्किनु त्यस्तो ठाउँमा ?’


लकडाउनअघि उपत्यका कोभिड-१९ बाट तुलनात्मक रुपमा सुरक्षित थियो । सुरुको चरणमा भारतको सिमाना जोडिएका जिल्लाहरु जोखिममा थिए । सिमानासँग जोडिएका केही जिल्लाहरुमा कर्फ्यूसमेत लागेको थियो ।  तर, उपत्यकामा भने कोभिड संक्रमण फाट्टफुट्ट मात्र देखिएको थियो । त्यही बेला उपत्यका सुरक्षित ठान्दै थुप्रै मानिसहरु भित्रिए । कोभिड छल्न उपत्यका आउने उनीहरुलाई न लकडाउनले छेक्यो न निषेधाज्ञाले रोक्यो ।  ‘त्यो बेलामा अन्तरजिल्लाबाट आएकालाई काठमाडौँमा मजाले छिराइयो,’ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, ‘क्‍वारेन्टाइनमा राखिने भने पनि ती कुराहरु मुखले भनियो, व्यवहारमा लागू गरिएन । अनुगमन पनि भएन ।’

लकडाउन खुलेपछि काठमाडौँ खुला भयो । बिहान कमाएर बेलुका छाक टार्नेदेखि जागिरे, व्यापारी सबै फेरि काठमाडौँमै थुप्रिए । ‘त्यो बेला घरबेटीले बस्‍न दिएनन्, पीसीआर परीक्षण गदिदिनुपर्‍यो’ भन्दै धेरै मानिसहरु आएका थिए,’ डा पुनले भने, ‘तर, नेपाल सरकारको परीक्षण निर्देशिका (टेस्टिङ गाइडलाइन) ले लक्षण नभएकालाई टेस्‍ट नगर्नू भन्यो । त्यहींबाट सबै कुरा बिग्रियो ।’

जनस्वास्थ्यको मापदण्ड अनुसरण नगर्नु, क्‍वारेन्टाइनको उचित व्यवस्था नहुनु, मानिसको चाप धेरै हुनु र पीसीआर परीक्षण कम हुनु डा. पुनलाई उपत्यका कोभिड उच्च जोखिममा पर्नुको कारण हो भन्‍ने लाग्छ । ‘यिनै कारणले पहिला कोरोनाबाट लुक्न आउने उपत्यका अहिले यहाँबाट जतिसक्दो भाग्‍नुपर्ने अवस्थासम्म पुगेको छ,’ उनी भन्छन् ।

उपत्यकामा सक्रिय कोभिड संक्रमित १८ हजार ८ सय ८, मृत्यु हुनेको संख्या ३ सय ८८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको छ । देशभर कोभिडबाट मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेको छ । 
अहिलेसम्म उपत्यकामा मात्रै १९ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, काठमाडौँमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै उपत्यकामा ३ सय ९३ जनाले कोभिडको कारणले ज्यान गुमाइसकेका छन् । जसमध्ये, काठमाडौंमा २ सय ५९, ललितपुर ६५ र  भक्तपुरमा ६९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । बिहीबार मात्रै नेपालमा ३ हजार ५१ जनामा नयाँ कोभिड संक्रमित थपिएका छन् । जसमा उपत्यकामा मात्रै एक हजार ३ सय ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । 

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले पीसीआर परीक्षणले व्यापकता नपाएका कारण उपत्यकामा कोभिडका कारण भागाभागको अवस्था आएको बताउँछन् । ‘देशको सबैभन्दा बढी जनसंख्या ओगटेको ठाँउ काठमाडौं हो,’ उनी भन्छन्, ‘देशकै धेरै जनसंख्या ओगटेको सहरमा पीसीआर परीक्षणको दायरा कम भयो । मुख्य कुरा हामी परीक्षणमा चुक्यौँ ।’

जुन बेला सरकारले लकडाउन गर्‍यो त्यो बेला लकडाउन गर्नुपर्ने अवस्था नै नभएको उनी बताउँछन् । ‘मास्क लगाउने, दूरी कायम गर्ने, परीक्षणलाई व्यापकता दिने गरिएको भए घर-घरभित्र संक्रमण छिर्दैनथ्यो,’ उनी भन्छन्,  ‘लकडाउन गरेपछि संक्रमण नियन्त्रणमा हुन्छ भन्‍ने थियो तर, उल्टो भयो । लकडाउन हुनुभन्दा अगाडि नै समाजमा संक्रमण फैलिसकेको थियो ।’

कोरोनालाई नियन्त्रण ल्याउन सरकारले लकडाउन गर्‍यो । तर, लकडाउनले नै गर्दा काठमाडौँमा कोभिड संक्रमण फैलिन सुरु भएको उनी डा.दीक्षित बताउँछन्  । ‘लकडाउन भएपछि संक्रमण भएका मानिसहरु पनि घरभित्र थुनिए,’ उनी भन्छन्, ‘उनीहरुले नै परिवारमा अरुलाई संक्रमण फैलाए । लकडाउन खुकुलिएपछि संक्रमित बाहिर निस्किए । अरुलाई पनि सारे ।’

‘सावधानी अपनाउन छाड्नु हुँदैन’
लकडाउन छलेर काठमाडौँ छिर्नेप्रति जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितको गुनासो छ । त्यस्तै, कन्ट्याक्ट ट्रेसिङ पनि राम्रोसँग हुन नपाएकोले कोभिड-१९ व्यापक रुपमा सरेको उनी बताउँछन् । ‘यो बीचमा जात्रा भए, आन्दोलन भए,’ उनी भन्छन्, ‘कसैले मास्क लगाएनन् कसैले दूरी कायम गरेनन् । हाम्रो बदमासी यहींनेर भयो । राज्य र नागरिक दुवै त्यो बेला बढी गैरजिम्मेवार भए ।’

त्यो बेला लकडाउन नामको मात्र भएको उनी बताउँछन् । ‘लकडाउन नामको मात्र भयो,’ उनले भने, ‘लकडाउन न कडा भयो न खुकुलो । आजको दिनमा पनि उपत्यकामा जोर बिजोर गाडी चलाउने भनेको छ तर, त्यसबाट हामीलाई केही फाइदा भएको छैन ।’
 
बारा, पर्सा, कपिलवस्तु जस्ता जिल्लालाई हामीले उदाहरणका रुपमा लिन सक्ने उनले बताए । ‘उताको जनसंख्या कम भएकाले पनि उनीहरुले नियन्त्रणमा ल्याए,’ उनी भन्छन्, ‘तर, हामीसँग सुरक्षित भएर हिँड्नेबाहेक अर्को विकल्प छैन । मास्कसँगै दूरी कायम गर्ने कुरालाई हामीले भुल्नु हुँदैन ।’

सरुवा रोग विशेषज्ञ डा. पुनले कोभिड व्यापक रुपमा फैलिएको बेलामा लापरबाही गरिएकाले यो दिन आएको बताउँछन् । ‘टेस्ट गरिदिनुपर्‍यो भनेर धेरै मानिसहरु आएका थिए,’ उनी भन्छन्, ‘बाहिरी जिल्लाबाट आएका मानिसहरुलाई घरबेटीले दिएको प्रेसर पनि राम्रै थियो । तर, यसलाई अन्यथा रुपमा लिइयो ।’
 
निषेधाज्ञा गर्ने बोलामा लगभग धेरैमा कोभिड देखिइसकेको उनी बताउँछन् । ‘घरको एउटामा कोभिड देखिने बित्तिकै परिवारमा देखिन थाल्यो,’ उनी बताउँछन् ‘त्यसपछि कार्यालयमा सँगै काम गर्ने साथीहरुबाट पनि एकअर्कामा सर्‍यो । यसरी थाहा नपाइ काठमाडौँमा कोभिड नमज्जाले एकअर्कामा सर्‍यो ।’
 
कोभिड संक्रमण उच्च रुपमा फैलिएको बेलामा काठमाडौँलाई कसरी व्यवस्थित गर्ने भन्‍ने योजना नबनेको उनी बताउँछन् । ‘निषेधाज्ञामा पनि आफ्नो साथी समूहबीच पार्टी गर्ने, बाहिर निस्किने, मास्क लगाए पनि सही तरिकाले नलगाइदिने, मुख्य सडक शान्त भएपनि भित्री सडकहरुमा ग्रुप-ग्रुपमा बसिदिने गरेकोले निषेधाज्ञा पनि सोचेको जस्तो प्रभावकारी भएन,’ उनी भन्छन् ।
 
योजनाअनुसार नभएकाले लकडाउन र निषेधाज्ञाले फाइदाभन्दा बढी घाटा गरेको उनको अनुभव छ । ‘जुन उद्देश्य राखेर लकडाउन र निषेधाज्ञा गरियो त्यो पूरा हुन सकेन,’ उनी भन्छन्, ‘अब कोभिड विस्तारै एउटा बिन्दूमा गएर मात्र मत्थर हुन्छ । तर, सावधानी भने अपनाउन छाड्नु हुँदैन । भ्याक्सिन नआएसम्म र विश्‍वबाट कोरोना निर्मूल नभएसम्म हामीले सावधानी अपनाइरहनुपर्छ ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x