स्वास्थ्य

अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्‍न प्रहरीको आग्रह

इकागज |
बैशाख ९, २०८१ आइतबार २१:२ बजे

काठमाडौँ- नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो । 

अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए ।


'तथ्यमा आधारित नभएका समाचार जथाभावी रूपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ,' उनले भने । एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चार माध्यमलाई प्रदान गर्दै आइरहेको उल्लेख गरे ।

नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे । 'जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चार माध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको छ,' उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताए । उनले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पुर्याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गरे ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याइँ गर्न नहुनेमा जोड दिएका थिए ।


Author

थप समाचार
x