स्वास्थ्य

रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

इकागज |
चैत ५, २०८० सोमबार १४:२१ बजे

रसुवा- नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्य चौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिए ।  

उनका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्य चौकी र ग्रे गाउँ तथा हाकुको पाङलिङका स्वास्थ्य इकाइ केन्द्रले कम्युटरमार्फत अनलाइन सेवा सुरू गरिसकेका छन् । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा गत वर्षदेखि सुरु गरिसकेको छ । जिल्लाभरमा स्वास्थ्य संस्थामा क्रमशः लागू गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


कम्प्युटरमा विवरण राख्दा आवश्यकता पर्दा खोज्न सहज हुनुका साथै कुन बेलामा के उपचार गरियो, कुन औषधीको प्रयोग तथा खपतको अवस्थालगायत कुरा बुझ्न चिकित्सकलाई  सहज हुने बताइएको छ ।  

जिल्लाभरका स्वास्थ्य केन्द्रहरूमा सबै विवरण कम्युटरमा राख्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य प्रमुख भीमसागर गुरागाइँले जानकारी दिए । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा सहित अस्पताललाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिएको जनाएको छ । 
      
अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत इमर्जेन्सी (सघन उपचार कक्ष) व्यवस्थापन, अन्तरङ्ग कक्षको शय्या विस्तार, नयाँमा रूपान्तरण, शल्यक्रिया कक्षको निर्माणलगायत पूर्वाधार तयार भइसकेको रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा अमितकुमार शाहले बताए । सकभर बिरामीलाई बाहिर नपठाउने गरी गाउँका बिरामी छिटोछरितो अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x