स्वास्थ्य

मेडिसिटी अस्पतालले गर्‍यो २३ जनाको मिर्गौला प्रत्यारोपण, खाडी मुलुकबाट फर्केकाहरू पनि पुगे

'मिर्गौला बिग्रनुको कारक उच्च रक्तचाप र मधुमेह'

इकागज |
फागुन २९, २०८० मंगलबार १७:२७ बजे

काठमाडौँ- नेपाल मेडिसिटी अस्पतालले हालसम्म २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालमा २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । अस्पतालका अनुसार २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । जसमा १७ वर्षका युवादेखि ६५ वर्षका वृद्धसमेत रहेका छन् ।

बुटवल, पोखरा, काठमाडौँ, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरूबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ ।


आमाले छोरालाई, श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गौला दिएका छन् । मिर्गौला दान गर्नेहरूमा १८ वर्षका दातादेखि ६५ वर्षसम्मका दाता रहेका छन् ।

त्यस्तै, मिर्गौला दान गर्नेमा महिला बढी छन् । जसमध्ये १६ जना महिला र ७ जना पुरुष रहेका छन् । यस्तै मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला छन् ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांश बिरामीको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए । 

‘२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ,’ डा पौडेलले भने ।

मिर्गौला प्रत्यारोपणका लागि विदेशबाट फर्केका व्यक्तिहरूको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिमा यो समस्या देखिएको छ । ५ जना मिर्गौला प्रत्यारोपण भएका व्यक्तिहरू कतार, दुबईबाट फर्केर उपचारका लागि आएका छन् ।

गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा मिर्गौलाको समस्या बढी देखिएको डा पौडेलले बताए ।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीको कुल खर्च ७ देखि ८ लाख रुपैयाँ पर्दछ । तर, उपचारका लागि निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ ।

नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा. काफ्लेले भने ।

मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् । मिर्गौला प्रत्यारोपण गर्नु अगाडि धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मिर्गौला दिन नमिल्ने हुन सक्छ ।

त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढी बिरामीहरू प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङदेखि अप्रेसन गर्ने गरिएको छ ।


Author

थप समाचार
x