स्वास्थ्य

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि मझौलेवासी दंग

इकागज |
पुस ३, २०८० मंगलबार ११:४ बजे

भोजपुर - वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५  चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि  तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।  

 सिटामोल र जीवनजल किन्न चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयवासी टंकबहादुर विष्ट दङ्ग छन् । दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका उनी बताउँछन् । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए । 


'वर्षौँदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ', उनले भने, 'अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।' विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवाका लागि जानुपर्ने अवस्था थियो । 

नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई  लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको उनले बताए । रासस


Author

थप समाचार
x