स्वास्थ्य

नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको अभियान चलाउने

इकागज |
कात्तिक १४, २०८० मंगलबार १०:१० बजे

काठमाडौँ- नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई अगाडि बढाउने भएको छ । सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो वार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन् ।

नसर्ने रोगको अवस्था बढ्दो क्रममा रहेकाले अस्वस्थ खानपान, बदलिँदो जीवनशैली तथा वातावरणीय पक्षका कारण नसर्ने रोग झाङ्गिदै गएको उनको भनाइ छ । यसलाई नियन्त्रण गर्नका लागि सरकार, गैरसकारी संस्था तथा नागरिक समाज, पत्रकार लगायत सबैको सामुहिक एकता आवश्यक रहेको डा. रेग्मीको ठहर छ ।


'हामीले यो एलायन्समा यस्ता कार्यमा क्रियाशील विभिन्न गैर सरकारी संस्था तथा व्यक्तिहरुलाई गोलवद्ध गरेका छौँ। अबको हाम्रो योजना नसर्ने रोग विरुद्धको अभियानलाई तीव्रता दिनु हो,’ डा रेग्मीले भने।

एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले  रोग लाग्न नदिनका लागि, रोगबारे जनचेतना जगाउनका लागि नीतिगत तथा सचेतनाका कार्यक्रमलाई अघि बढाउनुका साथै स्क्रिनिङ, अनुसन्धान र उपचार लगातका गतिविधिलाई अघि बढाइने बताए ।

उनले विभिन्न संस्थासंग सहकार्य गरी नसर्ने रोग विरुद्धको अभियानलाई अघि बढाउने बताए । त्यसअघि साधारणसभामा महासचिव किशोरकुमार प्रधानांङ्गले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाले दुवै प्रतिवेदन पास गरेको छ । नेपाल एनसीडी एलायन्स नसर्ने रोग विरुद्धको अभियानमा क्रियाशील व्यक्ति तथा संस्थाहरूको अग्रसरतामा सन् २०१३ मा स्थापना भएको हो ।

 


Author

थप समाचार
x