स्वास्थ्य

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने

इकागज |
असार २६, २०८० मंगलबार १५:२९ बजे

काठमाडौँ- गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिम क्षेत्रमा रहेका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । सोमबार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले सम्झौता पत्रका हस्ताक्षर गरे ।


कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत ५ वर्ष अर्थात सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ ।

९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमी नगरपालिका र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छ । सम्झौता कार्यक्रममा बोल्दै अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका जाेखिम क्षेत्रका जनतालाई स्वास्थ्य पहुँच दिने गरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताए । उनले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्ने बताए ।

उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिए । उनले आयोजनालाई सफल कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए । उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण अपेक्षा गरेको जिकिर गरे । उनले उक्त सम्झौता कोरिया नेपालबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन इच्छुक भएको बताए ​।

कोइकाले नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ । 


Author

थप समाचार
x