दैलेखको स्वास्थ्य केन्द्रमा आगजनी

फाइल फोटो
दैलेख - दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ ।
दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुदाँ करिब १५ लाख बराबरको धनमाल क्षति हुन पुगेको छ । शनिबार राति सो आगलागी भएको थियो ।
स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुदाँ सो स्टोरमा रहेका सबै औषधी र उपचारजन्य सामग्रीहरू जलेर नष्ट हुन पुगेको छ । उनका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महँगो औषधि र उपकरण राखिएको थियो ।
उनका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मूल्य बराबरको धनमाल क्षति भएकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाइएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया