स्वास्थ्य

कञ्चनपुरमा औलोको जोखिम, भारतबाट फर्किनेहरूमा संक्रमण बढी

इकागज |
बैशाख २२, २०८० शुक्रबार १५:७ बजे

सांकेतिक तस्बिर

बेदकोट- भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो संक्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

'संक्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ,  कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,' स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, 'यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।'


आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् । 

'वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ,' उनले भने, 'औलो निवारण गर्नका लागि कीटनाशक झुल वितरण र विषादी छर्किंदैछौँ ।'

सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७/७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८/७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो संक्रमण देखिएको थियो । 

महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए । 'भारतबाट काम गरेर फर्किनेहरूमा औलो रोगको संक्रमण बढी छ,' उनले भने, 'अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो संक्रमण देखिएका छन् ।'

कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक/एकजना औलाका बिरामी फेला परेका छन् । 

कीटनाशक झुल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए । 'प्राथमिकता निर्धारण गरेर कीटनाशक झुल र विषादी छर्किरहेका छौँ,' उनले भने, 'माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ ।'

सुरुआतमा औलो प्रभावित भीमदत्त नगरपालिकाको बाराकुण्डा, ब्रह्मदेव, कृष्णपुर, बेलौरीलगायत केही ठाउँमा कीटनाशक झुल वितरण गरिने छ ।


Author

थप समाचार
x